मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पदम लिम्बूको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय

बुधबार, २३ फागुन २०८०, १८ : ५४
बुधबार, २३ फागुन २०८०

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार क्षतिपूर्तिस्वरूरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

यस्तै मन्त्रिपरिषद्ले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता शमशेर राईले बताए । बैठकबाट कात्तिक २६ गते मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूले झापा र मोरङमा गराएको उपचारको खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ । 

मन्त्रिपरिषद्ले प्रदेश नियमावली बमोजिम पुस मसान्तपछि निर्णय गरिसक्नुपर्ने अबण्डाको रकमसम्बन्धी सामाजिक विकास मन्त्रालयद्वारा प्रस्तावित एजेन्डालाई पास गरेको छ । मन्त्रिपरिषद्बाट अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि बजेटमा रकम अपुग भएकाले थप रकम निकासा गर्ने निर्णय समेत भएको छ ।

यस्तै, अर्को नीतिगत व्यवस्था नहुन्जेलसम्मका लागि करार सेवाका कर्मचारीको म्याद थप्ने निर्णय समेत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । बैठकले भने सुरक्षित आप्रवासन स्रोत केन्द्रसम्बन्धी निर्देशिका पनि स्वीकृत गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप