बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
महाशिवरात्रि पर्व

पाशुपत क्षेत्रमा १२ ठाउँबाट सवारी डाइभर्सन, मालवाहक सवारी प्रवेश निषेध

बिहीबार, २४ फागुन २०८०, २० : ११
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । शिवरात्रिको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्ने भएको छ । आवश्यकता अनुसार पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) जीवन कुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका ठाउँबाट पाशुपत क्षेत्रमा सवारी डाइभर्सन गर्नेगरी ट्राफिक प्रहरीले रुट सार्वजनिक गरेको छ ।

पशुपति क्षेत्रमा फागुन २५ मा बिहानैदेखि सामान बोकेका सवारी चलाउन निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठ भन्छन्–‘मालवाहक गाडीहरु बिहानै देखी चल्न दिँदैनौँ, यात्रुवाहक सवारीहरु आवश्यकता अनुसार डाइभर्सन गर्नेगरी व्यवस्थापन गरेका छौँ ।’

Shivaratri-2080

सवारी व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा ५१३ जना ट्राफिक परिचालन गर्ने भएको छ । ट्राफिक प्रहरीहरु शुक्रवार बिहान ३ बजेबाट नै पशुपति क्षेत्रमा खटिने एसएसपी श्रेष्ठले जानकारी दिए । सवारी चाप व्यवस्थापन गर्न गौरिघाट हुँदै गोठाटार तर्फ चल्ने करिडोरमा चाहिँ सवारी चल्न दिने निर्णय गरिएको छ ।

मालवाहक सवारी साधनहरु तिनकुने, जोरपाटी स्थित नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाट गौशालातर्फ प्रवेश गर्न पाउँदैनन् । पशुपति वरपर जाने मालवाहक सवारीलाई धुम्बाराहिमा मेला अवधिभर कुर्नुपर्नेगरी ट्राफिक व्यवस्थापन योजना लागु गरिएको छ । कोटेश्वरबाट बौद्ध र सुकेधारा जाने मालवाहक गाडीहरु जडिबुटीबाट काँडाघारी हुँदै संचालन गर्न दिइने छ ।

पाशुपत क्षेत्रमा ६ ठाउँमा पार्किङ स्थल तोकिएको छ । दर्शनार्थीहरुले सिफल चौरमा आफ्नो सवारीसाधन राख्न पाउँछन् । भण्डारखालमा सरकारी सवारी र सुरक्षाकर्मीका सवारी पार्किङ गर्न पाइने छ । तिलगंगाको खाली ठाउँ र करिडोरमा तिर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी पार्किङ गर्न मिल्नेगरी पार्किङ स्थल निर्धारण गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप