सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

हङकङसँग हार्‍यो नेपाल

शनिबार, २६ फागुन २०८०, १४ : ४३
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो । 

नेपाललाई सस्तोमा समेट्न एइजाज खानले घातक बलिङ गर्दै ४ विकेट लिए । उनलाई एहसान खानले ३ विकेट लिँदै साथ थिए । अतिक इकबाल र नसरुल्लाह रानाले १–१ विकेट लिए ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २२ बलमा ४ चौका र ३ छक्का हिर्काए ।  कप्तान रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रनको योगदान दिए । ३ विकेटको क्षतिमा ११७ रनको बलियो अवस्थामा रहेको नेपालले २२ रनमा बाँकी ७ विकेट गुमाउन पुग्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे ।  एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए ।

अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए । नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए ।

त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ ।  यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप