आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी संकट

बाँकेका ‘मिनी जीबी राई’ विष्णु : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

आफ्नो सहकारी डुबाएपछि अन्य साना सहकारीबाट ऋण लिएर फरार
आइतबार, २७ फागुन २०८०, ०६ : ११
आइतबार, २७ फागुन २०८०

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै  नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ बस्ने रिमालले विभिन्न ठाउँमा सहकारी स्थापना गर्ने र रकम अपचलन गर्ने काम गरेका हुन् । 

रिमालले सुरुमा बर्दिया जिल्लामा नमस्ते सहकारी स्थापना गरे । त्यहाँ उनले ५ करोड रकम अपचलन गरे । त्यसपछि दाजु नरेन्द्र रिमाललाई अध्यक्ष बनाएर आफूले नेपालगन्जमा नमस्ते सहकारीको स्थापना गरी त्यहाँ पनि रकम अपचलन गरेका थिए । नेपालगन्जमा रहेको उक्त सहकारीको ९८ करोड पुँजीमध्ये उनले ३० करोड रकम अपचलन गरेको सहकारीका सचिव प्रकाश ज्ञवालीले रातोपाटीलाई बताए । 

उनले अन्य केही साना सहकारीबाट पनि ऋण लिने तर नतिर्ने गरेको पाइएको ज्ञवालीले बताए । रिमालले योजनाबद्ध रूपमा आफन्त र कर्मचारीलाई अगाडि सारेर सहकारीबाट ऋण लिने र डुबाउने काम गरेको भेटिएको हो । 

लुम्बिनी सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलका अनुसार उनले बर्दिया र नेपालगन्जको नमस्ते बहुउद्देश्यीय सहकारीदेखि जनउत्थान सहकारीबाट ऋण लिँदा आफै अध्यक्ष बन्ने र दाइलाई र ससुरालाई समेत अध्यक्ष बनाउने गरेको भेटिएको बताए । अझै व्यवस्थापकमा आफ्नी श्रीमती र साथी राख्ने काम उनले गरेका थिए ।

उपाध्यक्ष पोखरलेले भने, ‘नियतवश नै जसरी हुन्छ जनताको पैसा जम्मा गर्ने अनि आफूले प्रयोग गर्ने गरेको देखिएको छ । त्यसका लागि जो जसलाई सकिन्छ, सबैलाई प्रयोग गरेको देखिन्छ ।’ 

नेपालगन्जमा जन्मिएका रिमालले सुरुमा बर्दियामा नमस्ते सहकारी दर्ता गरेका थिए । त्यसको केही समयपछि  नेपालगन्जमा पनि अर्को सहकारी स्थापना गरे । बर्दियामा दाइ नरेन्द्र रिमाललाई अध्यक्षको जिम्मा लगाएर आफू नेपालगन्जमा अध्यक्ष बने । त्यहाँ उनले आफ्नी श्रीमती इलियालाई व्यवस्थापक बनाएर । 

त्यति मात्रै होइन नेपालगन्ज उपमहानगरपालिका–८ त्रिभुवन चोकमा जनउत्थान सहकारी स्थापना गरी आफ्नै ससुरा नेत्रमणि भण्डारीलाई अध्यक्ष बनाए । त्यसमा आफ्नो साथी दीपक कार्कीलाई व्यवस्थापन हेर्न लगाए । 

ससुरा भण्डारीलाई सहकारीको विषयमा ज्ञान थिएन, न त रुचि नै । तर छोराजस्तै मान्ने ज्वाइँले आग्रह गरेपछि अध्यक्ष बस्नुपरेको उनको भनाई छ । भण्डारीले रातोपाटीसँग भने, ‘म सहकारीमा रुचि र ज्ञान भएको व्यक्ति होइन । ज्वाइँले बुवा नै बस्नुपर्छ, हजुर भएपछि मलाई पनि ढुक्क हुन्छ भनेपछि बसेँ ।’ यसरी योजनाबद्ध रूपमा विभिन्न ठाउँमा सहकारी स्थापना गरेका विष्णु रिमाल एक वर्षदेखि सम्पर्कविहीन रहेका छन् ।  

उनका तीनवटा सहकारीबाट करिब साढे ३६ करोड रुपैयाँ अपचलन भएको देखिन्छ । नमस्ते बहुउद्देश्यीय सहकारीका सचिव प्रकाश ज्ञवालीका अनुसार नेपालगन्जको नमस्तेबाट ३० करोड र बर्दियाबाट ५ करोड अपचलन गरेको अडिट रिपोर्ट रहेको छ । यस्तै ससुरा अध्यक्ष बनेर ३ महिनापछि बन्द भएको जनउत्थान सहकारीबाट विष्णुको नामबाट ५० लाख, श्रीमतीको नाममा ५० लाख र नमस्ते सहकारका कर्मचारी कुलमणि अर्यालको नाममा ५० लाख रुपैयाँ ऋण लिएको देखिन्छ । 

बर्दियामा उनले मात्रै होइन, विष्णुका दाइ नरेन्द्र रिमालले पनि १० करोड रुपैयाँ अपचलन गरेको अडिट रिपोर्ट रहेको छ । दुवैजना सम्पर्कमा छैनन् । श्रीमती इलिया र दीपक कार्की पनि सम्पर्कमा छैनन् ।  

ससुरालाई तनाव

नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकमा जनउत्थान सहकारी संस्था दर्ता भएको थियो । तर  राम्रोसँग चलेको थिएन । त्यही बेला विष्णुले ससुरा नेत्रमणि भण्डारीलाई अध्यक्ष बनाउने योजनासहित जनउत्थान सहकारीलाई चलायमान बनाउने  प्रक्रिया अगाडि ल्याए । ससुरालाई अध्यक्ष बन्न आग्रह गरे अनि व्यवस्थापक आफ्नो साथी दीपक कार्कीलाई राखे । सहकारीमा बजार प्रतिनिधि राखेर विभिन्न अफरहरू ल्याउँदै सरकारी सदस्य ११ सय पुर्‍याए । 

तीन महिनापछि आफ्नो, श्रीमती र नमस्ते सहकारीका कर्मचारी कुलमणि अर्यालको नाममा  ५० लाखको दरले डेढ करोड रकम ससुरा अध्यक्ष भएको सहकारीबाट ऋण लिए । ऋण लिएको केही महिनापछि नै उनी सम्पर्कमा आउन छाडे । 

यता सोझा ससुरालाई तनाव सुरु भयो । यस बारेमा जिल्ला सहकारी बोर्ड र जिल्ला प्रशासन  कार्यालयमा जानकारी भइसकेको थियो । गत वर्षको फागुन ६ गतेदेखि छोरी–ज्वाइँ फरार रहेका छन् । सहकारीका व्यवस्थापक दीपक कार्की पनि फरार छन् । 

उनीहरू फरार भएपछि बचतकर्ताहरूले कार्यालय घेरा हाल्नेदेखि कम्प्युटरदेखि टिभीसमेत उठाएर हिँडे । सहकारीको रकम ज्वाइँले अपचलन गरेपछि सङ्कट परेको सहकारी अहिले बन्द नै गर्नुपरेको भण्डारीले रातोपाटीलाई बताए । उनले त्यो सहकारी खोल्नु र बन्द गराउनु दुवैमा ज्वाइँ विष्णुको हात रहेको आरोप लगाए । 

उक्त सहकारीका बचतकर्ताको करिब १ करोड ५० लाख जति तिर्नुपर्ने अनुमान रहेको छ । सहकारी सदस्यहरूको ५–१० हजारदेखि १ लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको छ । 

के हुँदैछ कानुनी प्रक्रिया ?

नेपालगन्जको नमस्ते बहुउद्देश्यीय सहकारीका सचिव प्रकाश ज्ञवालीले सहकारीको रकम अध्यक्ष र व्यवस्थापकले अपचलन गरेको पाइएपछि पटकपटक बोलाउने प्रयास भयो । सुरुका केही दिन सम्पर्कमा रहेका रिमालले विभिन्न बहाना दिँदै तिर्ने प्रतिबद्धता जनाएका थिए । तर उनी एक्कासि सम्पर्कविहीन बने ।

पछि सहकारी बोर्डको निर्देशनपछि अडिट गर्दा ३० करोड अपचलन गरेको देखिएको थियो । उनले अध्यक्ष र व्यवस्थापकलाई खोजी दिन जिल्ला प्रशासन कार्यालय र सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दिइएको बताए ।

बुटवलमा जीबी राईसँग नाम जोडिएको सुप्रिम सहकारी बुटवलका अध्यक्ष ओम गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । 

लुम्बिनी प्रदेश सरकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार यमबहादुर कुँवरले नमस्ते  सहकारीका अध्यक्ष विष्णु रिमाल, व्यवस्थापक इलिया भण्डारी (रिमाल) लगायत सम्पर्कमा नभएकोले खोजी गर्नको लागि निवेदन आएको जानकारी दिए । उनले यस विषयमा नियमानुसार प्रक्रिया अगाडि बढेको रातोपाटीलाई बताए । 

one

यसअघि बुटवलमा जीबी राईसँग नाम जोडिएको सुप्रिम सहकारी बुटवलका अध्यक्ष ओम गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । 

सो सहकारीका संस्थापक अध्यक्ष जीबी राई हुन् । उनी २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म गुरुङ उपाध्यक्ष थिए ।रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई अझै सम्पर्कविहीन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ । गुरुङ र चापागाईंलाई आवश्यक अनुसन्धान लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप