सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भेटघाट

प्रचण्डलाई सिटौलाले भने- यो धोकाधडी सजिलै जान्छ नभन्ठान्नु होला

आइतबार, २७ फागुन २०८०, १६ : ००
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौला र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

कांग्रेस महामन्त्री थापाका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले आफ्नो कुरा राखेका थिए । ‘आज हामी तपाईंलाई प्रधानमन्त्री भनेर भेट्न आएको होइन । विगतको गठबन्धनमा रहेको एउटा दलको अध्यक्षसँग भेट्न आएका हौँ,’ सिटौलाले भने, ‘नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो । व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो ।’ 

सिटौलाले राष्ट्रियसभा अध्यक्षमा मलाई के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । ‘म राष्ट्रियसभा सदस्य हुने लाइनमा थिइनँ । तपाईंले नै नेपाली कांग्रेसका नेताहरूसँग कृष्ण सिटौलाजी राष्ट्रियसभा अध्यक्ष हुने हो भने हामीले छोड्न सकिन्छ भन्नुभयो,’ उनले भने, ‘शान्ति प्रक्रियामा भूमिका खेलेर आउनु भएको मान्छे आउँदा ठिक छ भनेर भनेपछि नेपाली कांग्रेसले मलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  अब के गर्नु हुन्छ ? अहिले मलाई तपाईले धोका दिन मिल्छ ?’

 प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सैद्धान्तिक मतभेद देखिएपछि गठबन्धन फेर्नुपरेको जवाफ दिएका थिए । तर फागुन १७ मा आफूसँग किन झुट बोलेको भन्दै सिटौलालाले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए । 

‘तपाई चार-पाँच महिनादेखि ओलीसँग कुरा भइराखेको भन्नुहुन्छ । मैले फागुन १७ गते आएर बाहिर हल्ला यस्तो छ नि भन्दा तपाईले होइन होइन भन्नुभयो । तपाईंले किन झुट बोल्नुभएको ? गठबन्धनका दलसँग किन छलफल गर्नु भएन ?,’ उनको प्रश्न थियो । 

सिटौलाले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सहयोग नगरेकोमा पश्चात्ताप गरिरहेको भन्दै भोलि पनि त्यो दिन आउने बताएका थिए । ‘नेपाली कांग्रेस र मलाई दिएको यो  धोकाधडी त्यति सजिलै जान्छ नभन्ठान्नुहोला,’ उनले भने, ‘तपाईं पछुताउनुपर्छ ।’ सिटौलाले आफ्नो कुरा राखेपछि कांग्रेस नेताहरू बालुवाटारबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप