सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान

आइतबार, २७ फागुन २०८०, १८ : ०३
आइतबार, २७ फागुन २०८०

चैत १७ देखि २३ गते (२०८०) सम्म भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको ‘अन्तर्राष्ट्रिय ध्यान केन्द्र’मा विराट् चक्र विज्ञान हुँदै छ । यसको चिन्तन र प्रारूपको निर्माण जीवन विज्ञान केन्द्रका जीवन विकास विशेषज्ञद्वय गुरुवरबाट भएको हो । 

यसअघि जीवन विज्ञान केन्द्रद्वारा सञ्चालित कार्यक्रममा भाग लिएका वा नलिएका सबैलाई यसपालि सहभागी हुने समान अवसर छ । यस कार्यक्रममा हामी हाम्रा गुरुद्वयको सहजीकरणमा पाँच हजार जनाले एकै ठाउँमा सात दिनसम्म निश्चित विधि प्रयोग गरेर सातै चक्र साधनाको अभ्यास र ध्यान गर्दछौँ । चक्रहरू भनेका हाम्रो सूक्ष्म शरीरमा रहेका सात शक्ति केन्द्र अर्थात् ऊर्जाका केन्द्र हुन् । सात चक्रका नाम हुन्— मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनहद (हृदय), विशुद्धि, आज्ञा र सहस्रार । यी हाम्रो शरीरका सात मन्त्रालयजस्तै हुन् । जसले शारीरिक, मानसिक, जोस–जाँगर, भावनात्मक, ज्ञान÷स्मरण, अठोट÷सङ्कल्प र चैतन्यताको स्वास्थ्यमा काम गर्छन् । ती केन्द्रको आ–आफ्नै छुट्टै जिम्मेवारी हुन्छन् र आवश्यक परेमा अरू केन्द्रलाई ऊर्जा दिएर सघाउन पनि सक्छन् । जसलाई हामीले तिनको सबलता र दुर्बलता चिनेर साधनाको माध्यमबाट निर्देशित अर्थात् परिचालन गर्न सक्नुपर्ने हुन्छ । 

आफू स्वस्थ हुनु र नहुनुमा कुन चक्र सबल र दुर्बल छ, पहिचान गर्नका लागि चक्रको गहन साधना हुनुपर्ने हुन्छ । त्यस प्रकारको साधना सिक्न अरू बेला जीवन विज्ञान केन्द्र चावहिलमा पनि नपाइने भने होइन, तर अहिले लुम्बिनीमा गएर कार्यक्रम सञ्चालन गर्नुको रहस्य र उद्देश्य भिन्न छ । विश्वमा नेपाल ऋषिमुनिकै पालादेखि योग साधनाको उद्गमस्थलका रूपमा परिचित स्थल हो । विश्वमा नेपाल पूर्वीय ध्यान केन्द्रका रूपमा रहिरहेको छ भनी आफ्नो विरासत जोगाइराख्नु यस कार्यक्रमको अर्को उद्देश्य पनि हो ।

यस्तो असीम इतिहास बोकेको नेपालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विराट् चक्र विज्ञानको साधना र ध्यान गर्नुु आफैँमा गौरवको विषय हो । यसअघि विश्वमा एक हजार ४०० जनाले दुई दिनसम्म एकैपटक एउटै स्थानमा ध्यान गरेको रेकर्ड रहेछ । यसरी पाँच हजार जनाले एकैपटक एकै स्थानमा सात दिनसम्म ध्यान गर्ने अवस्था कति बृहत् हो ? सोचौँ त ! यसबाट हाम्रो राष्ट्रले विश्व इतिहास निर्माण गर्नेछ । यो रेकर्ड पछि गएर हामी आफैँले बाहेक अरूले तोड्न सहज पक्कै छैन । 

चक्र 

कुनै पनि कुराको स्वाद थाहा पाउन आफैँले चाख्नुपर्छ । मिठो त भनिन्छ, मिठाका पनि प्रकार हुन्छन् । कतिपय आफ्ना काम हामी अरूबाट लिन सक्छौँ, तर नितान्त व्यक्तिगत कामहरू जस्तो ः खानु, सौच गर्नु, श्वास लिनु, निदाउनुजस्ता काम अरूले गरिदिएर हँुदैन, आफैँ गर्नुपर्छ । त्यस्तै त हो, ज्ञान लिने र ध्यान गर्ने काम पनि । ध्यानको अभ्यास र स्वाद हामीमध्ये धेरैले थोरबहुत पक्कै चाखेकै छौँ होला, तर हामीभित्र छन् भनिएका सात चक्र कहाँ छन् ? नाम के हो ? तिनको काम के हो ? ती रहेको स्थानको अनुभव कसरी गर्ने ? कुनै चक्र सबल र दुर्बल भएको थाहा कसरी पाउने ? तिनको रङ र स्वाद कस्तो छ ? तिनलाई जगाउने स्वर र मन्त्र के हुन् ? यी सबै कुराको ज्ञान, अनुभव लिनु र चक्रलाई जगाउने अर्थात् सबल बनाउने विधि सिक्न पाउनु भनेको जीवनको ठूलो उपलब्धि हो । ती सबै चक्र सबल भएमा मान्छेले आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सक्छ । त्यसैले आफ्ना सबै चक्रबारे आद्योपान्त बुझ्न, सिक्न र प्रयोग गर्ने विधिका लागि विराट् चक्र विज्ञानमा सहभागी बनौँ । 

उमेर 

हामीलाई लाग्न सक्छ, यसमा भाग लिने खास उमेर कुन होला ? भर्खर अप्रेसन गरेका व्यक्ति, गर्भवती भएको अवधि पाँच महिना नपुगेकी महिला र १२ वर्षभन्दा कम उमेरका बालबालिकाबाहेक अरूले भाग लिन मिल्छ । 

सर्वप्रथम कुरा गरौँ, विद्यार्थीको । सानै उमेरमा चक्र जागरण गर्ने विधि र ध्यान सिके भने उनीहरूको क्षमताको विकास हुन्छ । पूर्ण क्षमतामा रहेर अध्ययन गर्न सक्छन्, सोच्न सक्छन्, नैतिकवान् बन्छन् । जीवनमा अध्ययन तथा रोजगारीको गोरेटो सहज र सरल बन्दै जान्छ । योभन्दा ठूलो कुरा व्यक्ति र समाजका लागि अरू होला र ?

चक्रहरू भनेका हाम्रो सूक्ष्म शरीरमा रहेका सात शक्ति केन्द्र अर्थात् ऊर्जाका केन्द्र हुन् । सात चक्रका नाम हुन्— मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनहद (हृदय), विशुद्धि, आज्ञा र सहस्रार । यी हाम्रो शरीरका सात मन्त्रालयजस्तै हुन् ।

हामी भन्न सक्छौँ, मेरो उमेर गइसक्यो । चक्र साधना सिकेर के काम होला र सिक्ने ? त्यसो हैन, जति बढी उमेर भयो उति स्वस्थ रहनुपर्छ । आफ्नो बल, शक्ति, पैसालाई आफूले चलाउँदाको जोस–जाँगर नै अर्कै थियो; अब बुढेसकालमा झन् आफू खुसी र स्वस्थ भएर अरूलाई सुख दिनु वा सेवा लिनुनपर्ने वातावरण सिर्जना गर्नुपर्छ । एक्लै पूर्ण आरोग्यताका साथ आफ्नै आनन्दमा रमेर जिउन यस विराट् चक्र विज्ञानमा भाग लिऊँ । 

व्यवस्थापन

कतिपय मान्छेलाई लागेको हुन सक्छ, यति ठुलो सङ्ख्यालाई व्यवस्थापन कसरी होला ? कसरी खाने ? कसरी बस्ने ? कसरी सुत्ने आदि–इत्यादि । यदाकदा त्यस्ता कुरालाई लिएर हामीमध्ये कतिपय कार्यक्रममा सहभागी हुन अनकनाएको पनि देखिन्छ । यसको चिन्ता लिनैपर्दैन । यत्रो विराट् कामलाई सहजीकरण गर्ने व्यक्तिहरूको समूह महिनौँदेखि लागेको छ । सहभागीलाई सहज कसरी हुन्छ, त्यो कुरा धेरैको मन–मस्तिष्कले सोचेर काम गरिरहेको छ । आवास व्यवस्थापनका लागि आफ्नो व्यवस्था छ वा छैन भनिएको छ; फर्म भर्दा नै छ भने ठिक छ, छैन भने सहयोग चाहिन्छ भन्नेमा चिह्न लगाए भयो । सहभागीले बेहोर्ने गरी त्यो व्यवस्था गर्ने काम आयोजकको हो । अनि हाम्रो अर्को चिन्ता छ, निदाउन सकिएला कि नसकिएला भन्ने । दिनभर चक्र जागरणका लागि व्यायाम, प्राणायम, ध्यान गर्ने अनि सात्त्विक खाना खाएपछि पनि मान्छे मस्त ननिदाए के गर्छ ? त्यहाँ गएर निदाइँदैन कि भन्नु त भोकोले खाना खाएर पेट अघाउँछ र भनेजस्तै भयो । 

यसमा सहभागी हुन १० हजार रुपैयाँ लाग्नेछ । यो रकम सानो होइन तर सात दिनसम्म हरेक दिन तीन छाक खाना त्यसैबाट खानु छ । त्यो हिसाब गरौँ त ! ध्यान र ज्ञानको त शुल्क लागेकै छैन । सित्तैमा बुझेर, जानेर, सिकेर आउनु छ । एउटा विवाह भोजमा खानाको प्लेट समातेपछि एक हजार ५०० देखि दुई हजार त आयोजकले तिरेकै हुन्छ । यसमा हामीले कुनै बेला खुवाएर र कुनै बेला खाएर अनुभव लिएकै छौँ । यो महँगो भयो भन्ने कुरा पैसामा प्रेमको तुलना गरेझैँ भयो । 

समय 

हामी समाजमा विभिन्न पेसा व्यवसायका मान्छे छौँ । अफिसका कारण बिदा नपाउने वा व्यवसायका कारण फुर्सद नपाउने पनि हुन सक्छ । अवकाश लिएका कतिपयले भन्ने गर्छन्— घर कुरेर कति बस्ने । यसमा आफूले आफैँलाई सोधौँ, घरको चौकीदार कहिलेसम्म हुने ? कोही भन्छन्— कुकुर पालेको छु, छोड्न मिल्दैन । यसका लागि समय निकाल्न धेरै कठिन छ । विचार गरौँ त ! समय कसैका लागि घटी–बढी छैन । समय आफ्नो लयमा हिँडिरहेको छ । बिहान, बेलुका, दिउँसो काम गर्ने र राति आराम गर्ने भनिएबाहेक समयको अरू विभाजन केही छुट्टिएको छैन । कामको प्राथमिकीकरण गर्ने आफैँले हो ।

अफिस छ भने बिदा लिऊँ । कतिपय मान्छेको सोच हुन्छ, पैसा आउने गरी जम्मा गरिराखेको बिदा छुने नै होइन, उसै खेर जाने बिदा बाँकी भए मात्र बिदा छ भन्ने बानी हुन्छ । यो कुन स्तरको सोचाइ हो ? विचार गरौँ । जहिले पनि कुनै सीप सिक्न जाँदा वा अध्ययनका लागि निस्कँदा घरको काम त छोडेरै गएका हुन्छौँ । त्यही सीप र पढाइले जीवन चलेको छ र अझै चल्छ पनि । यो चक्र विज्ञानमा भाग लिनु भनेकै शरीर, मन, भावना र चेतनाको विकास गर्नु हो, वा जीवन जिउने कला सिक्नु हो । यसलाई बुझौँ र प्राथमिकतामा पारौँ । प्राथमिकतामा परेन भने नुन जोगाउन खोज्दा सुन गुम्न सक्छ । 

अर्को सवाल पनि घनीभूत भएर आउँछ— छोरा–बुहारी वा छोरीज्वाइँ अफिस जान्छन्; नातिनातिनालाई स्कुल ल्याउने–लैजाने गर्नुपर्छ । अनि, अर्को काम घरमा कुकुर स्याहार्नु पनि छ । 

यसका लागि सात दिन व्यवस्था गर्न छोराबुहारी वा छोरीज्वाइँले नसक्ने होइन, आमाबाबुले आफ्नो चाहना खुलेर नभनेर पनि समय नमिल्ने हुन सक्छ । यही कुरा पछि गएर मलाई त लुम्बिनी जान मन थियो, तर भन्नै सकिनँ भन्दा उनीहरूको मन दुख्छ भन्ने कुरा हामीले सोचेका हँुदैनौँ । पछि गएर नातिनातिनीलाई तिमीहरू सानो छँदा मैले यति गरेँ, उति गरेँ, यो त्याग गरेँ भनेर केही अर्थ छैन । अहिले नै स्पष्ट धारणा राख्ने काम गरौँ । पछि गएर आफूलाई पछुतो र नातिनातिनालाई बिझाउने भनाइ व्यक्त गर्ने काम नहोस् । 

पहिलाको समाजमा भैँसी एकहाते छ भन्ने चलनजस्तो अहिले कुकुर छ, छोड्नै पाइन्न भनेको सुनिन्छ । भैँसी एकहाते भए पाडोपाडी फुकाएर लाइदिए भयो । एकहाते नभए छिमेकीलाई दुहेर खाउभन्दा हुन्थ्यो । कुकुर त के गर्ने गर्ने ! यसका धेरै कुरा नगरौँ । आफ्नो सहजतामा कुकुर राखौँ । कुकुरको स्याहारमा बस्नुपर्नाले जीवनका महत्त्वपूर्ण अवसर नगुमाऊँ । 

कार्यक्रममा जाँदा पारिवारिक हिसाबले गरिने कामको व्यवस्थापन निकै ठूलो हो भनेझैँ लाग्छ । यस्तो कुरा १५ दिन वा एक महिनापछि सम्झँदा आफैँलाई केही न केहीजस्तो हुन्छ । भनिन्छ, हाम्रो मनमा २४ घन्टामा साठी हजार विचार चल्छन् रे । एक घन्टाअगाडि आफूले के विचार गर्दै थिएँ भन्ने केही पत्तै हुँदैन । कार्यान्वयनमा आउने भए केही विचार याद होला । सबै विचारको याद कसैलाई पनि हुँदैन । त्यसैगरी हिजो यति नै बेला गरेको कामसम्म याद होला, विचार भने केही सम्झना हँुदैन । त्यस्तै हो, ती सात दिनमा बाहिरी व्यवहारमा गरेका र नगरेका कामले १५ दिन वा एक महिनामा केही प्रभाव पारेको हँुदैन । तर, चक्र साधनाको सीपले जीवनमा प्रभाव पार्न थालिसकेको हुन्छ । 

अर्को कुरा, हामी सब काम मैले गर्दा भएको हो भन्ने भ्रममा हुन्छौँ । वास्तवमा त्यो सबै गर्ने गराउने तत्त्व वा शक्ति अर्कै छ । सामान्य विचार गरौँ न ! हामीले जानेर, बुझेर, सम्झेर सास लिएका छौँ र ? सम्झेर सास फेर्न पर्ने भए कति सक्थ्यौँ होला ? आफैँले सास फेरेर फेरिने भए हाम्रा आमाबाबुको प्राण यो हावाको पोखरीमै रहँदा किन गयो ? हावा लिने अवसर सबैका लागि पहिले जसरी बराबर थियो नै, तर किन प्राणवायु लिन सकेनन् र गए ? 

हामी आफ्नो घर चलाउन धौ–धौ परिरहेका हुन्छौँ । आफ्नै शरीरमा रगत बहाउने, मुटु चलाउने, खाएको पचाउनेजस्ता सबै कुरा आफैँले गर्नपर्ने भए अरू काम के गर्न भ्याउँथ्यौँ होला ? आफू बाँच्ने काम त स्वतः अर्कैले गरिदिइरहेको छ । जगत्का अरू काम मैले गरेर भएको हो भन्ने भ्रमबाट बाहिर आऊँ । 

यी सबै कुराको मूल्याङ्कन गरेर अब हुन गइरहेको विराट् चक्र विज्ञानमा आफू पनि भाग लिऊँ, अरूलाई पनि प्रेरित गराँै । आफू स्वस्थ, शान्त र ऊर्जावान बनौँ, अरूलाई पनि बन्ने अवसरको कारक बनौँ । 

(लेखक पण्डित जीवन विज्ञानकी प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप