आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा कसरी भयो आगलागी ?

सोमबार, २८ फागुन २०८०, २२ : ५२
सोमबार, २८ फागुन २०८०

कैलाली । कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमा आज साँझ एक्कासि आगलागी भयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा उक्त आगलागी भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । 

प्रहरीका अनुसार आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । यसैगरी पुलको पूर्वपट्टी रहेका १४ वटा डोरीमा पनि क्षति पुगेको छ ।  आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।  

आगलागीबाट रु एक करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुन लाइटर र नगद रु ५७ हजार क्षति भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

 लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको प्रतिक्रिया दिएका छन् । कर्णाली पुलमाथि सवारी आवागमन हाललाई बन्द गरिएको छ । 

ट्रक पर्साको वीरगञ्जबाट सामान लिएर आउदै थियो भने जगनाथ जोशी चालक थिए । “ट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिएँ । कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टीको भागमा आगो लागेको थाहा पाएँ”, चालकले भने । 

पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एकहजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताए । ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी मात्र सवार थिए ।

दुवैजना सकुशल प्रहरीको नियन्त्रणमा रहेका छन् । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप