बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

सामान्य प्रशासनमन्त्री जोशीले लिए तीन महाशाखाको ब्रिफिङ

कर्मचारीको दरबन्दीदेखि मनोबल उकास्ने सम्मको जानकारी
मङ्गलबार, २९ फागुन २०८०, १९ : ५१
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पदभार सम्हालेको ६ दिनपछि आन्तरिक तीन वटा महाशाखाको ब्रिफिङ लिएका छन् ।

मन्त्री जोशीले मंगलबार कर्मचारी प्रशासन महाशाखा, संघीय मामिला महाशाखा र प्रशासन सुधार, जनशक्ति, योजना तथा विकास महाशाखाको ब्रिफिङ लिएका हुन् ।

सामान्यतः मन्त्री फेरिएपछि महाशाखाको ब्रिफिङ लिने प्रचलन छ । महाशाखा प्रमुखहरुले आ–आफ्नो महाशाखाले गरेका काम, प्रगति, समस्या र समाधानका उपायका बारेमा मन्त्रीलाई ब्रिफिङ गर्छन् । कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव राम कुमार महतोले विस्तृत रुपमा आफ्ना महाशाखाले गरेका गतिविधिका बारेमा मन्त्रीलाई ब्रिफिङ गरेका थिए । उनले विशेष गरी सरुवा तथा कामकाज सम्बन्धमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिएको जानकारी मन्त्रीलाई गराएका थिए ।

मन्त्री र सचिवसहित महाशाखाका कर्मचारीहरुको उपस्थितिमा कार्यसम्पादनमा सूचना प्रविधिको पूर्ण प्रयोगमा ल्याउन नसकिएको उनको भनाइ थियो ।  सीमित कर्मचारीहरुको मात्र निरन्तर सरुवा माग तथा सरुवाका लागि विभिन्न पक्षबाट दबाब, स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको समायोजन संशोधन सम्बन्धमा नीतिगत अभावको कारण कर्मचारीलाई व्यवहारिक समस्या पर्दा समेत गुनासो सम्बोधन गर्न सक्ने अवस्था नरहेको उनले जानकारी गराए ।

यस्तै, स्थानीय तहमा समायोजन गरी खटाइएका तथा लोक सेवा आयोगबाट स्थानीय तहमा पदपूर्ति गरिएका कर्मचारीहरुलाई दोहोरो सहमतिको आधारमा कामकाजमा खटाउँदा सुगममा आवश्यकता भन्दा बढी कर्मचारीहरु रहेको र दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीको अभाव हुँदा कार्य सम्पादनमा असर परेको विषयमा महतोले मन्त्री जोशीको ध्यानाकर्षण गराएका थिए ।

photo 2

उनले प्रमुख प्रशासकीय अधिकृतहरुलाई सम्बन्धित स्थानीय तहले हाजिर नगराउने र निर्णय परिवर्तनको लागि अनावश्यक दबाब हुने, कनिष्ठ कर्मचारीलाई प्रशासनिक तथा आर्थिक जिम्मेवारीका लागि सिफारिस गर्ने बढ्दो प्रवृति रहेको औँल्याए । ‘कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई हटाएर स्थानीय तहमा कार्यरत कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिन दबाब बढ्दो छ,’ महतोले भने, ‘एकै व्यक्तिको छोटो समयको अन्तरालमै पटक पटक सरुवा÷सरुवा संशोधनको लागि माग भई आउने हुँदा खटनपटनमा समस्या छ ।’

प्रमुख प्रशासकीय अधिकृतमा खटिन संघका शिक्षा, स्वास्थ्य, कृषि, इन्जिनियरिङ लगायत प्राविधिक कर्मचारीहरुले अनावश्यक दबाब सिर्जना गराउने गरेको जानकारी महतोले गराए । उनले कार्यस्थलमा उचित कार्य वातावरणको अभाव भएकाले कर्मचारीको मनोबल उकास्ने काम गर्नुपर्ने विषयमा जोड दिएका थिए । कर्मचारी सरुवा गर्दा ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गरी सरुवा सम्बन्धी एकीकृत सफ्टवेयर प्रणाली लागु गर्नुपर्ने विषयमा उनले मन्त्री जोशीको ध्यानाकर्षण गराए ।

स्थानीय तहमा कामकाजका लागि खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर नगराउने स्थानीय तहहरुसँग आवश्यक समन्वय आवश्यक रहेको र कनिष्ठ कर्मचारीलाई प्रशासनिक तथा आर्थिक जिम्मेवारीका लागि सिफारिस गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा महतोको जोड थियो ।

मन्त्रालयको संघीय मामिला महाशाखाका प्रमुख एवं सहसचिव सुमन दाहालले मन्त्रीलाई ब्रिफिङ गर्दै हाल संघ, प्रदेश र स्थानीय तहको स्वीकृत कर्मचारीको दरबन्दी एक लाख ३४ हजार ९२० रहे पनि पदपूर्ति भएका समेत गरी ८५ हजार ६ सय २८ जना कार्यरत रहेको जानकारी गराए । अझै संघमा ९ हजार ८९६ जना, प्रदेशमा ६ हजार ६३७ जना र स्थानीय तहमा ३२ हजार ७५९ जनाको दरबन्दी रिक्त रहेको दाहालको ब्रिफिङ थियो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराईले नयाँ मन्त्रीको पदबहाली भएपछि मन्त्रालयको काम/कारबाहीका बारेमा जानकारी गराउनु सामान्य भएको बताए । उनले भने, ‘मन्त्रीज्यूलाई मन्त्रालयको विभिन्न महाशाखा प्रमुखले ब्रिफिङ गर्ने काम भइरहेको छ । तीन वटाको सकियो । बाँकी क्रमशः गर्छौं ।’

photo 4

४६९ आयोजनामा अस्थायी दरबन्दी १० हजार ४५४

ब्रिफिङमा सहसचिव दाहालले विभिन्न मन्त्रालयका ४६९ वटा आयोजनामा १० हजार ४५४ जना अस्थायी दरबन्दी रहेको जनाएका थिए । थोरै आयोजना भएर पनि धेरै अस्थायी दरबन्दी रहने मन्त्रालयमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय देखिन्छ । उसको ४ वटा आयोजनामा २ हजार २७९ जनाको अस्थायी दरबन्दी देखिन्छ । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ८५ वटा आयोजनामा मात्रै एक हजार ३७९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै आयोजना भने कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा देखिन्छ । ९७ वटा आयोजना रहेको यस मन्त्रालयको एक हजार १६५ जनाको दरबन्दी स्वीकृत भएको ब्रिफिङ मन्त्री जोशीलाई गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप