शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ नगरपालिकाले बल्ल लगायो नदीजन्य पदार्थको ठेक्का

मङ्गलबार, २९ फागुन २०८०, २१ : ५१
मङ्गलबार, २९ फागुन २०८०

बारा । निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको झण्डै ८ महिनापछि नदीजन्य पदार्थको ठेक्का लगाएको छ । नगरपालिकाले हालै चालु वर्षको आगामी ४ महिनाका लागि भ्याटसहित ८ करोड २८ लाखमा नदीजन्य पदार्थको ठेक्का लगाएको हो ।

नगरपालिकाले यस वर्ष ७० लाख घनफिट नदीजन्य पदार्थको ठेक्का लगाएको हो । विगतमा वर्षको करिब १ करोड २० लाख घनफिट नदीजन्य पदार्थको १४ देखि १६ करोड रुपैयाँमा ठेक्का लगाउँदै आएको  पालिकाले यस वर्ष चार महिनाका लागि मात्र ठेक्का लगाएको हो । सामान्यतया खोला उत्खनन् मंसिर अन्तिम सातादेखि जेठ मसान्तसम्म हुने गर्दछ ।

यस वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन प्रदेश वन मन्त्रालयबाट स्वीकृत हुन ढिलो हुँदा फागुन दोस्रो सातादेखि जेठ मसान्तसम्मका लागि नगरपालिकाले हिमानी सप्लार्यस निजगढसँग सम्झौता गरेर खोला उत्खनन् सुरु गरेको हो । पालिकाले यस वर्ष निजगढको बकैया, भक्तलाल र शक्तिखोला उत्खनन् ठेक्का लगाएको छ ।

नगरपालिकाको आन्तरिक राजस्व संकलनको मुख्य स्रोत नदीजन्य पदार्थ नै हो । बाराको १६ वटा पालिकामध्ये जीतपुर सिमरा, निजगढ र कोल्हवी नगरपालिकाले मात्रै नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाउने गर्दछन् ।

निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेश खनालले समयमै खोला ठेक्का लगाउन नसक्दा यस वर्ष नदीजन्य पदार्थको धेरै चोरी तस्करी बढेको र राजस्व रकमसमेत गुमेको बताए ।  

गरिब, विपन्न मजदुरहरुका नाममा चोरी गरेर क्रसरमा थुपारिएको ढुंगा, गिटी, बालुवालाई नगरपालिकाले वैध बनाएपछि जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले समेत खोलाको अनुगमन गरेको थियो ।

नगरप्रमुख सुरथ पुरीले यसपटक खोेलाबाट १७ देखि १८ करोड राजस्व संकलन गर्ने अपेक्षा गरे पनि सोचे अनुसार राजस्व संकलन गर्न नसकिएको बताए । ‘हामीले १७/१८ करोड अनुमान गरेका थियौँ तर समयमै वातावरणीय प्रभाव मूल्याङ्कन पास नहुँदा समस्या भयो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप