शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आक्रामकरुपमा अनुगमन गर्दै वाणिज्य विभाग, ९ महिनामा ३ करोड जरिवाना

बुधबार, ३० फागुन २०८०, १२ : १३
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने पसलहरूलाई ३ करोड १९ लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले चालू आर्थिक वर्ष २०८०-८१ को ९ महिनाको अवधिमा उपभोक्ता ठग्ने पसलहरूलाई उक्त मूल्य बराबरको जरिवाना तिराएको हो ।

यो गत आर्थिक वर्ष २०७९-८० को यही अवधिको तुलनामा बढी हो । गत वर्षको सोही अवधिमा विभागले १ करोड ५० लाख २८ हजार रुपैयाँ जरिवाना तिराएको थियो । यो चालू वर्षको ९ महिनाको तुलनामा १ करोड ६९ लाख रुपैयाँले कम हो ।

विभागले यस अवधिमा बजार अनुगमनलाई समेत तीव्र बनाउँदै लगेको छ । विभागले ९ महिनाको अवधिमा ३ हजार २९१ वटा व्यापारिक फर्ममाथि अनुगमन गरेको थियो । तीन फर्मलाई अनुगमन गर्दा ८३८ वटा फर्मले कैफियत गरेको पाइएपछि आर्थिक जरिवाना गरेको विभागका प्रवक्ता आनन्द पोखरेलले जानकारी दिए ।

गत वर्षको यही अवधिमा विभागले २ हजार ६३२ वटा व्यापारिक फर्मलाई अनुगमन गरेको थियो । यीमध्ये ५४९ वटाले विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि आर्थिक जरिवाना गरिएको थियो । यसैगरी, चालू वर्षको ९ महिनाको अवधिमा विभागले १ करोड ४ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु नष्ट गरेको छ ।

नष्ट हुने वस्तुको सूचीमा ३६ लाख रुपैयाँ बराबरको छोकडा समेत सामेल छ । यसबाहेक, अन्य उपभोग गर्न नमिल्ने म्याद सकिएका वस्तु नष्ट गरेको विभागले जानकारी दियो । तर, विभागले गर्ने बजार अनुगमनबाट कैफियत गरेको भेटिएपछि कारबाही भोग्ने व्यापारीको पहिचान भने गोप्य राख्छ ।

हालसालै विभागले उपत्यकाका विभिन्न स्थानका १६वटा तारे होटलमा अनुगमन गरेको थियो । अनुगमनमा परेका होटलमध्ये अधिकांशमा कैफियत देखिएको थियो । कैफियत भेटिएकालाई अधिकतम ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । तर, ती होटलको पहिचान भने खुलाएको छैन । जसकारण, उपभोक्ताले गुणस्तरहीन खानेकुरा बेच्ने तारे होटलको पहिचान पाउनबाट वञ्चित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप