बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहका रोगीमा किन देखिन्छ मिर्गौलाको समस्या ? कसरी बच्ने ?

बिहीबार, ०१ चैत २०८०, १७ : १०
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । जीवनशैली र खानपिनमा गडबडीका कारण पछिल्ला केही वर्षयता मिर्गौलासम्बन्धी रोगको जोखिम विश्वभर नै तीव्र रूपमा बढेको छ । सबै उमेरका मानिस यसको सिकार भइरहेका छन् । केही स्वास्थ्य समस्याहरूले केही मानिसमा यसको जोखिम झनै बढाइरहेको छ । यो मध्ये एउटा चाहिँ मधुमेह पनि हो ।

जो मान्छेलाई मधुमेह छ उनीहरूमा मिर्गौलासम्बन्धी रोगको जोखिम बढ्ने अनि स्थिति गम्भीर बन्दै जाँदा मिर्गौला फेल नै पनि हुन सक्ने डाक्टरहरू बताउँछन् । पछिल्लो समस्या मिर्गौलाको समस्या जसरी बढ्दै गएको छ, त्यसप्रति सबै सावधान हुन जरुरी छ । मिर्गौलालाई स्वस्थ राख्ने उपायहरूलाई प्रवर्द्धन गर्न र यसको उचित स्याहार सुसारबारे आम मानिसहरूलाई सचेत/सूचित गराउने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाइन्छ ।

मधुमेहका बिरामीलाई मिर्गौलाको समस्या किन बढी हुन्छ र यसबाट बच्न के उपाय अपनाउन सकिन्छ ? आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौं ।

मधुमेह रोगीमा मिर्गौलाको समस्या

क्रोनिक मिर्गौला रोग (सीकेडी) प्रायः बिस्तारै केही लक्षणका साथमा विकसित हुन्छ । धेरै मानिसहरूले गम्भीर नबन्दासम्म आफूलाई पनि मिर्गौलाको रोगले समाइसकेको छ भन्ने महसुस नै गर्दैनन् । तपाईँलाई पनि मधुमेह छ ? छ भने आफ्नो मिर्गौला नियमित रूपमा जँचाउनुस् । रोग सुरुमै पत्ता लाग्यो भने उपचारले पनि राम्रो काम गर्छ ।

मधुमेह भएका तीन मध्ये एक वयस्कमा मिर्गौलाको समस्या

हाम्रो मिर्गौला लाखौँ स–साना फिल्टरहरू मिलेर बनेको हुन्छ । यी फिल्टरलाई नेफ्रोन भनिन्छ । समय बित्दै जाँदा मधुमेहको कारण रगतमा बढेका चिनीको मात्राले यी नेफ्रोनका रक्त नलीहरूलाई क्षति पुर्‍याउन थाल्छ । जसले गर्दा यिनीहरूले राम्रोसँग काम गर्न सक्दैनन् । मधुमेहबाट पीडित धेरैलाई उच्च रक्तचाप पनि हुन्छ । यसले पनि मिर्गौलालाई क्षति पुर्‍याउँछ । मधुमेहले रगतमा क्रिएटिनिनको मात्रा पनि बढाउन सक्छ । क्रिएटिनिनको उच्च स्तरले मिर्गौलालाई गम्भीर क्षति पुर्‍याउन सक्छ ।

जरुरी  छ चिनीलाई नियन्त्रणमा राख्न

चिनीको मात्रालाई नियन्त्रणमा राख्न हरेकका लागि जरुरी छ भनेर चिकित्सकहरू बताउँछन् । तर मधुमेहका रोगीहरूका लागि यसो गर्नु झनै जरुरी छ । चिनीको मात्रा बढ्दा मिर्गौलामा मात्र होइन मुटु, आँखा र कलेजोमा पनि समस्या हुन सक्छ । त्यसैले रगतमा चिनीको मात्रा, ब्लड प्रेसर र कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्ने प्रयास गरेर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि जीवनशैली र खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

मधुमेहका बिरामीले यी कुरामा ध्यान दिनुस्

मधुमेहका बिरामीहरूले समग्र स्वास्थ्यलाई ठिक राख्न केही कुरामा ध्यान दिन आवश्यक छ । यी उपायको मद्दतले तपाईं आफ्नो मिर्गौलालाई पनि स्वस्थ राख्न सक्नुहुन्छ । सम्भव भएसम्म रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्ने कोसिस गर्नुस् । वर्षमा कम्तीमा दुई पटक ए१सी परीक्षण गराउनुस् । यसले चिनीको मात्रा सही रूपमा पत्ता लगाउन मद्दत गर्छ । चिनीसँगै कोलेस्ट्रोललाई पनि नियन्त्रित राख्नुस् । कम सोडियम भएका खानेकुरा खानुस् । आफ्नो दैनिक आहारमा धेरै फलफूल र तरकारीहरू सामेल गर्नुस् । शारीरिक रूपमा सक्रिय रहनु झनै महत्त्वपूर्ण छ । 

एजेन्सीहरूको सहयोगमा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप