बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रिलिज भएन नयाँ फिल्म, दोस्रो सातामा ‘उपहार’ र ‘रङ्गेली’

शुक्रबार, ०२ चैत २०८०, ११ : ३९
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । आज शुक्रबार कुनै पनि नयाँ नेपाली फिल्म रिलिज  भएन । तर देशभरका हल खाली भने होइन । यो सातामा पनि अघिल्लो शुक्रबार रिलिज भएका दुई फिल्म ‘उपहार’ र ‘रङ्गेली’ले निरन्तरता पाएको छ । यद्यपि देशभरको सबै हल यी दुई फिल्मले मात्र पाएको छैन । किनभने कतिपय हलमा केही साता अगाडिको ‘अगस्त्य’ र विदेशी फिल्म ‘सैतान’, ‘योद्धा’ले ओगटेको छ ।

‘उपहार’ र ‘रङ्गेली’ यो साताबाट दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो । यी दुवै फिल्मले पहिलो साता सन्तोषजनक व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका यी दुई फिल्मले पहिलो साता कति कमायो त्यो भने कसैले पनि सार्वजनिक गरेको छैन ।

दुई मध्य ‘उपहार’ माउथ पब्लिसिटी राम्रो भएको कारण दोस्रो साता प्रवेश गर्न सफल भएको बताइन्छ । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म मार्फत अभिनेत्री रेखा थापाले ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

त्यस्तै ‘रङ्गेली’ पनि दर्शक प्रतिक्रिया राम्रो भएको कारण तेस्रो सातामा प्रवेश गर्न सफल भएको निर्माण युनिटले जनाएको छ । फिल्मलाई पहिलो हप्ता शो केही कम भए पनि अहिले धेरै रहेको निर्देशक अर्जुन सुवेदीले बताए । 

सुवेदीको अनुसार पहिलो हप्ताको अन्तिम दिन बिहीबार अधिकांश सोहरूमा ८० प्रतिशत बढी अकुपेन्सी रहेको थियो । फिल्मको विदेश ‘डिमान्ड’ समेत राम्रो भएको निर्देशक सुवेदीको भनाई छ । फिल्म अमेरिका, क्यानडा, जापान, कोरियामा, मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग कुराकानी भइरहेको छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल र आर्यन सिग्देलको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्, भने निर्माता संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप