आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
स्टाफ नर्स हत्या प्रकरण

प्रेममा खटपटपछि नर्सको हत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का

शुक्रबार, ०२ चैत २०८०, २० : ४१
शुक्रबार, ०२ चैत २०८०

विराटनगर । विराटनगर–४ स्थित नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । सिरहाको फलकाहकट्टी घर भएकी २२ वर्षीय नर्स चन्द्रिकाकुमारी दासको शव शुक्रबार मध्याह्न १२ बजे उनी डेरा गरेर बसेकै घरको बाथरुममा फेला परेको थियो ।

दास विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि डेरा गरी बस्दै आएकी थिइन् । उनको घाँटी, अनुहारलगायत शरीरका विभिन्न स्थानमा धारिलो हतियारले काटेको चोट देखिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ । ती व्यक्ति मृतक दासको प्रेमी भएको प्रहरीको दाबी छ । युवतीको हत्यापछि शौचालयमा शव फालेर कोठामा ताला लगाइ मृतक दासको साथीलाई चाबी दिएर उनी फरार भएका छन् ।

ती युवा फागुन २९ गते सिरहाबाट विराटनगरमा आएको देखिएको प्रहरीले जनाएको छ । ‘प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने देखिन्छ,’ प्रहरी स्रोतले भन्यो । मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने घटनाको अनुसन्धान भइरहेको भन्दै हत्याको कारणबारे केही बताउन चाहेनन् । ‘पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि अरू विषय खुल्नेछ’, उनले भने ।

घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकारीहरूले भने प्रेम सम्बन्ध नै हत्याको कारण भएको दाबी गर्छन् । ‘प्रेम सम्बन्धमा दरार उत्पन्न भएपछि हत्याको रूप लिएको हुनसक्ने अनुसन्धानबाट देखिन्छ’, घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन्, ‘हामीले त्यही अनुरूप अनुसन्धान गर्दै छौँ ।’

मृतक दासकी एक साथीलाई हत्यामा संलग्न युवाले ह्वाट्सएपमार्फात रगत लतपतिएको दासको फोटोसमेत पठाएका थिए । लगत्तै ती युवाले ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु,’ भन्दै म्यासेज गरेर फोटो पठाएको पाइएको प्रहरी स्रोतले बतायो । घटनाको अनुसन्धान गरिरहेकाले प्रहरीले ह्वाट्सएप नम्बर भने खुलाएको छैन ।

ह्वाट्सएपमा म्यासेज आएपछि मृतककी साथीले नै डा. गिरीको घरमा बस्ने साथीलाई सुरुमा सुनाएकी थिइन् । त्यसपछि घटना बाहिरिएको थियो । एसपी कार्कीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए । ‘प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न खोजेको पनि हुनसक्छ । एकातिर देखाएर घटना अर्कैले गरेको समेत हुनसक्छ,’ उनले भने, ‘यस्तो जघन्य अपराधको गम्भीर अनुसन्धान हुन्छ । जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँछौँ ।’

यो समाचार तयार पार्दासम्म हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप