सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैन: अर्थमन्त्री

शनिबार, ०३ चैत २०८०, १२ : ३६
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।  

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे । मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट गरे ।

‘बैंकहरुबाट ऋण लिने, कालो सूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिँड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैङ्किङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कदापी स्वीकार्य हुन सक्दैन ।’ मन्त्री पुनले नेपालको बैङ्किङ प्रणाली उत्कृष्ट रहेको भन्दै बैंकहरु जत्तिको व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे । ‘नेपालमा यदि कुनै संस्था व्यवस्थित रूपमा सञ्चालनमा छ भने त्यो बैङ्किङ क्षेत्र हो । यो हामीले भनेको होइन । अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन गरेर निकालेको निष्कर्ष हो’, मन्त्री पुनले भने, ‘आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था छैन ।’

कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैङ्किङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाए । ‘कोही पनि व्यक्ति तथा परिवार कानून र संविधानभन्दा माथि छैन । एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न मिल्दैन । एउटा व्यक्तिले गल्ती गर्दा सिंगै परिवार र संस्थालाई दोषी करार गर्ने प्रवृत्ति समाजमा घातक रूपमा अघि आएको छ’, उनले भने, ‘बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन् । तर, सम्बन्धित सेक्टरमा काम गर्ने सबैलाई आरोपित गर्न मिल्दैन ।’ 

बैङ्किङ क्षेत्र र व्यवस्थाविरुद्ध एउटै प्रवृत्तिले अनास्था फैलाएको टिप्पणी उनको थियो । सानातिना कमजोरी औँल्याएर राजनीतिक प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने तथा मिलेर बसेको समाजलाई विखण्डन गर्न खोज्ने प्रवृत्तिसँग सरकारको सहमति नरहेको मन्त्री पुनको स्पष्टोक्ति थियो । मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने बताए । 

 ‘आफ्ना महत्त्वाकाङ्क्षा र स्वार्थ सिद्धिका लागि सानातिना कमजोरी खोजेर व्यवस्था, प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने प्रवृत्ति, मिलेर बसेको समाजलाई विखण्डन गर्न चाहने धार्मिक र सामाजिक अतिवादी प्रवृत्ति र दुनियाँभरका उदाहरण दिएर आफ्नो नेतृत्वलाई सराप्ने घातक प्रवृत्तिसँग हाम्रो सहमति छैन’, मन्त्री पुनले भने, ‘जसले आफ्नै माटोमा पसिना बगाउँछु भन्ने सोच र प्रवृत्ति राख्छ त्यससँग हाम्रो सहमति छ ।’ मन्त्री पुनले व्यवस्था कार्यान्वयनका क्रममा प्रणालीभित्र भएका कमजोरीबारे समीक्षा गर्न भने तयार रहेको उल्लेख गरे । 

नेपाली समाजमा सबै राजनीतिज्ञ, बैंकर्स, निजी क्षेत्र, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, न्यायालय सबै खराब भन्ने डरलाग्दो भाष्य स्थापित गर्न खोजिएकामा समयमै सबै सचेत हुनुपर्ने औँल्याए । राजनीतिक दल र नेताहरूले नेपालमा धेरै सकारात्मक काम गरेको भए पनि त्यसको कहिल्यै चर्चा नहुने गरेको उनको टिप्पणी थियो । ‘राजनीतिज्ञ सबै बेठीक हुँदैनन् । राजनीतिक प्रणालीमा राजनीतिक दल र नेताहरूले धेरै राम्रा काम पनि गरेका छन् तर त्यसको कतै चर्चा हुँदैन । नकारात्मक मात्र चर्चा हुन्छ ।’ 

नेपाली समाजमा एकले अर्कालाई लागी र निन्दा गर्ने प्रवृत्ति झाँगिएको भन्दै मन्त्री पुनले त्यसको निष्कर्ष कोही पनि ठिक छैन भन्ने आउने औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप