सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह

शनिबार, ०३ चैत २०८०, १९ : ०८
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । भरतपुर भ्रमण वर्ष प्रचार–प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेकी छन् ।

प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरिन् ।

सो अवसरमा नेपाली राजदूतहरुले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने बताएका छन् । नेपालको मध्यभागमा रहेको चितवन र भरतपुरको आफ्नै विशेषता एवं महत्व रहेको भन्दै राजदूतहरूले युरोपका पर्यटकलाई भ्रमणका लागि अनुरोध गर्ने विश्वास दिलाए ।

प्रमुख दाहालले बेल्जियम, स्पेन र फ्रान्सका विभिन्न सहरमा भएका विभिन्न कार्यक्रममा सहभागी भई भरतपुर भ्रमणका लागि निमन्त्रणा गर्नुभएको भरतपुर भ्रमण वर्ष २०२४ मूल समारोह समितिका सदस्य एवं बेल्जियममा रहेका व्यवसायी लोकप्रसाद दाहालले जानकारी दिए ।

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्त्वपूर्ण घुम्ने स्थानबारे जानकारी गराउन आग्रह गरेकी छन् । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने उद्देश्यसहित लक्ष्य लिएको छ । 

व्यवसायी दाहालका अनुसार प्रमुख दाहालले युरोपका विभिन्न देशका विभिन्न सहरका नगरपालिकाका प्रमुखसँग भेट गरी भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रणा गरेकी छन् । उत्कृष्ट मेयर अवार्ड ग्रहण गर्न बेलायत गएकी मेयर दाहाल अवार्ड लिएर युरोप प्रस्थान गरेकी हुन् ।

प्रमुख दाहालले भरतपुरमा भएका विकास निर्माणका साथै घुम्नलायक धेरै स्थानको भ्रमण गर्न आग्रह गरेकी छन् । महानगरले कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएको छ ।

महानगरपालिकामा उद्यान, सङ्ग्राहालय, विमानस्थल, चक्रपथ, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटनका प्रशस्त पूर्वाधार रहेको भन्दै एकपटक भरतपुर भ्रमणमा आउन प्रमुख दाहालले अनुरोध गरेकी छन् ।

प्रमुख दाहालले फ्रान्समा रहेका नेपाली समुदायलाई पनि आजै भेट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेकी थिइन् । उनले विभिन्न देशमा रहेका नेपाली समुदायलगायत युरोपमा यही आइतबार र सोमबार आयोजित जनप्रगतिशील मञ्चको युरोप भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले स्पेनको बार्सिलोनाका प्रमुखसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसअघि प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डिन रसेल र लेबर पार्टीका सांसद वीरेन्द्र शर्मासँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल गरेकी थिइन् ।

प्रमुख दाहाललाई हाउस अफ कमन्सको टेरेस पेभिलियनमा लण्डनका मेयर सादिक खानले  इन्टरनेशनल मेयर अवार्ड प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप