शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा आनी छोइङ कन्सर्टको तयारी

सोमबार, ०५ चैत २०८०, ०७ : ५१
सोमबार, ०५ चैत २०८०

लन्डन । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ बोलको गीतबाट लोकप्रिय बनेकी गायिका आनी छोइङ ड्रोल्मा नेपालस्थित एक परोपकारी संस्था मानवसेवा आश्रमको सहयोगार्थ आयोजित कन्सर्टको लागि बेलायत आउने भएकी  छन् ।

मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ आगामी मे ५ मा बेलायतमा गायिका आनी छोइङको कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागिएको हो । आइतबार लन्डनस्थित सरस रेस्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संस्थाले सो जानकारी दिएको हो । करिब एक लाख पाउण्ड अर्थात एक करोड ६९ लाख नेपाली रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको उक्त कन्सर्ट  बेलायतमा अन्तर्राष्ट्रिय कन्सर्ट आयोजना गरिने १५ सय दर्शक क्षमताको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको छ ।

झण्डै ८ वर्षपछि आनीको बेलायतमा कन्सर्ट गर्न लागेकी आनीसँगै उनको ७ जना सम्मिलित वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले जानकारी दिए । खड्काले कन्सर्ट नितान्त मानवता, मातृभूमि (नेपाल) र मातृत्व (नेपाल आमा) को सम्मानमा दीन, दुःखी, गरिव असहायहरूको सेवाका लागि र जोखिममा रहेका मानवहरूको उद्धारका लागि गर्न लागिएको पनि प्रस्ट पारे ।

मानव सेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले विज्ञप्ति वाचन गर्दै कन्सर्टबारे अवगत गराउँदै कन्सर्ट केवल सामान्य कार्यक्रममात्र नभएर पृथक् र आध्यात्मिक शैलीको हुने जनाए । सल्लाहकार शिवजी श्रेष्ठले कार्यक्रम प्रचार प्रसारका लागि मिडियाको अहम् भूमिका हुने जनाउँदै सहयोगको अपिल गरे । उनले सहभागी सबैलाई धन्यवाद समेत दिएका थिए ।

साउण्ड बढी चुनौतीपूर्ण रहेकाले साउण्ड र लाइटिङमा ‘कम्प्रमाइज’ नगरिने इभेन्ट कोअर्डिनेटर नमस्कार इभेन्ट्सका अश्विन श्रेष्ठले बताए । प्राविधिक सहयोग साउण्ड इन्जिनियर डिजे भिम लिम्बुले गर्नेछन् भने इभेन्टलाई के के मूभिजले पनि प्रत्यक्ष सहयोग गर्नेछ । कार्यक्रमको मुख्य प्रायोजक रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी प्रा. लि. ले गर्ने भएको छ ।

वि.सं. २०८२ सम्म सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल निर्माण गर्ने लक्ष्य लिएको मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २४ सेवाकेन्द्र सञ्चालन गरी ७७ वटै जिल्लाका सडकआश्रित मानवहरूको उद्धार गर्दै आएको छ ।

आश्रमको आफ्नै ३ वटा भवन र ३ वटा सरकारी भवन सञ्चालनमा छन् भने यही वर्षभित्र ३ वटा भवन सम्पन्न गर्ने लक्ष्य छ । निर्माणाधीन ४ भवन र भाडामा १० वटा भवन लिएर मानव सेवा आश्रमले सेवा गरिरहेको छ ।

एक दशक अवधिमा करिब १० हजार बढी मानसिक र शारीरिक रूपमा असक्त व्यक्तिहरूलाई आश्रय प्रदान गरिसकेको छ भने परिवारबाट अलग गराइएका ३१८० मानिसलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराएको छ। उक्त परोपकारी संस्थाले हाल १९ जिल्लामा २४ वटा पुनर्स्थापना केन्द्र सञ्चालन गरी १ हजार ७०० जनालाई आश्रय दिइरहेको छ ।

आयोजक समितिकी सदस्य मञ्जु भण्डारीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सहसंयोजक समाजसेवी राजु आचार्य, जीवनबहादुर शाही, रमेश श्रेष्ठ, क्याट यूके अध्यक्ष कृष्ण तिवारी र पूर्व अध्यक्ष रितेश राज पाण्डे, आशिष श्रेष्ठ, गायक सन्दीप विश्वकर्मा लगायत सञ्चारकर्मीहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप