मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक शून्य समय : कसले के भने ?

सोमबार, ०५ चैत २०८०, १३ : ०५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले वन डढेलो तथा गाउँघरमा हुने आगजनी नियन्त्रणका लागि अहिलेदेखि नै सचेत हुनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद गैरेले गर्मी महिनामा वन डढेलो तथा गाउँ बस्तीमा आगजनी हुने घटना हुने भएकाले यसतर्फ सचेत हुन सबैको ध्यानाकर्षण गराए । उनले सरकारको सबै निकाय बेलैदेखि सचेत हुनुपर्ने बताए । उनले नेपालका सम्पूर्ण वनहरू आगजनीको खतरामा रहेको बताए ।

उनले भने– ‘नेपालका सम्पूर्ण वनहरू आगजनीको अत्यन्त खतरामा छन् । जसका कारणले वन्यजन्तु, प्राकृतिक सम्पदाको विनाश हुने छँदै छ । सिङ्गो सरकार, देशका सम्पूर्ण जनप्रतिनिधिमूलक संस्थाहरू, नागरिक समाज र सुरक्षाकर्मी लगायत सबै वनमा लाग्ने डढेलोको नियन्त्रण, गाउँ बस्ती, घरहरूमा लाग्ने आगजनीको नियन्त्रणका लागि सचेत हुनुपर्ने आवश्यकता छ ।’

प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले मिटरब्याजीहरु प्रहरी प्रशासनमा न्यायका लागि जाँदा बिचौलिया र दलालहरूको घेराबन्दीमा पर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले यस्तो क्रियाकलाप रोकिनुपर्ने बताए ।

उनले भने– ‘मिटरब्याजीहरुको प्रहरी प्रशासनमा छलफल अगाडी बढ्छ । त्यहाँ बिचौलिया र दलालहरूको व्यापक रूपमा सुरुवात हुन्छ । त्यसकारण म गृह प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, यस्ता क्रियाकलाप रोक्न आग्रह गर्दछु । अन्यथा नाम किटेरै सम्बन्धित व्यक्तिहरूको नाम संसद्‌मा भन्छु ।’

प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाहीले गृहमन्त्री सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरे । उनले गृहमन्त्रीले कांग्रेसलाई पढाउन खोजेको भन्दै दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, सहकारी ठगी र सुन तस्करसँगको साँठगाँठ भने नसिकाउन आग्रह गरे ।

‘देशभरि सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएर चिच्याइरहेका छन् । सहकारीमा जम्मा गरेको रकम सहकारी नियम विपरीत गृहमन्त्रीज्यूले लिनुभएको र अनुसन्धान गर्ने तालुक मन्त्रालय आफैँ बसेको आरोप छ । पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न गृहमन्त्रीज्यूले राजीनामा गरी सहयोग गर्न माग गर्दछु’ उनले भने, ‘गृहमन्त्रीज्यूले नेपाली कांग्रेसलाई पढाउन खोज्नुभएको रहेछ, मेरो अनुरोध छ, कांग्रेसलाई पढाउँदा डबल नागरिकता, डबल पासपोर्ट, सहकारी ठग्न र सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनु होला । अर्थमन्त्री लगायतका उच्च तहका सबै नेताहरू सुन तस्करसँग जोडिनुभएको समाचार छ । सुन तस्करी तथा सहकारी ठगीको विषयमा प्रधानमन्त्रीबाट जवाफ माग गर्दछु ।’

प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले सरकारले नयाँ सहिदहरू घोषणा गरेर दश/दश लाख रुपैयाँ दिन लागेको भन्दै यसो नगर्न आग्रह गर्नुभयो । उहाँले सहिदको नाममा पैसा दिनुभन्दा निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रहेको पैसा दिन सरकारसँग माग गरे ।

उनले भने, ‘यो भन्दा पहिलेको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गरेर दश÷दश लाख रुपैयाँ दिने भन्ने निर्णय गरेको छ । यो कति दिन चल्ने हो ? म सरकारलाई भन्न चाहन्छु, त्यो पैसा त्यहाँ दिनुभन्दा देशको निर्माण गर्ने कन्ट्रयाक्टरहरुलाई दिए उनीहरू बाँच्ने थिएँ । त्यसकारण नयाँ सहिदहरूलाई दश÷दश लाख र अनेक कुरा दिएर व्रम्हलुट गर्न पाइँदैन भन्ने कुरा म राख्छु ।’

शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रको विकास निर्माणको कामहरूको सम्बन्धमा बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप