बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु

स्ववियु निर्वाचनको एक वर्ष : कतै क्याम्पसबाटै अस्तित्व अस्वीकार, कतै राम्रो काम

सोमबार, ०५ चैत २०८०, २१ : ३०
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिलाई स्ववियुहरूले सिकाइको वर्षका रूपमा लिएका छन् ।

लामो समयपछि स्ववियु निर्वाचन भएको अवस्थामा यसलाई व्यवस्थित गर्न तथा बुझ्नै समय लागेको स्ववियुका पदाधिकारीहरूको भनाइ छ । कतिपय क्याम्पसले अझै पनि स्ववियुलाई स्वीकार गर्न नसकेको अवस्था छ । कलेज प्रशासनले स्ववियुलाई स्वीकार नगर्दा सहकार्य गरेर काम गर्न नसकिएको तथा क्याम्पस प्रशासनसँगको लडाइँ मै एक वर्ष बितेको देखिन्छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले सिक्दै जाने क्रममा धेरै कुराको अनुभव गर्न पाइरहेको बताए । ‘लामो समयपछि स्ववियु निर्वाचन भयो । सबै कुरा व्यवस्थित गर्दै जाँदा धेरै समस्यासँग जुध्नुपर्यो,’ सभापति अर्यालले भने ।

कर्मचारी तथा ब्यूरोक्रेसीबाट धेरै कुरामा असहयोग तथा अवरोध हुने गरेको उनको भनाइ छ । स्ववियुभित्र समेत अल्पमत तथा बहुमतका कारण सहजै हुने काममा पनि अवरोध हुने गरेको उनले बताए ।

विभिन्न समस्या तथा कठिनाइका बाबजुद पनि विद्यार्थीमा स्ववियुको अनुभूति भएको अर्याल बताउँछन् । निर्वाचन भएको ६ महिनासम्म बुझ्नमै बितेको भन्दै उनले पछिल्लो ६ महिनामा भने राम्रैसँग काम भइरहेको बताए ।

सिस्टममा हुने ढिलाइले पनि काम गर्न गाह्रो भएको उनको भनाइ छ । अबको एक वर्षभित्रमा आफ्नो घोषणपत्र अनुसारका काम गर्ने उनले प्रस्ट पारे ।

निर्वाचनको मिश्रित नतिजाका बिच आपसी वैमनस्यता लगायतका आन्तरिक कारणले सुरुवाती २ महिनामा स्ववियुका कामले गति लिन नसकेको अर्याल बताउँछन् । त्यस पश्चात भने निरन्तर पुल्चोक क्याम्पसलाई समृद्ध बनाउने अभियानमै रहेको उनको भनाइ छ ।

स्ववियु पुल्चोकको निरन्तरको आन्दोलन र खबरदारीले इन्जिनियरिङ अध्ययन संस्थानले करिब २०० प्रतिशतले वृद्धि गरेको शुल्क समायोजन गर्न सफल भएको उनले दाबी गरे ।

यस बिचमा दीर्घकालीन महत्त्वका थुप्रै काम भएको उनको भनाइ छ । ऋतिक आचार्य मेमोरियल पुल्चोक गौरव पुरस्कार, सेमेस्टर परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने, सीआरहरूलाई सम्मान गर्ने जस्ता काम भएको उनले बताए ।

त्यस्तै विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप, स्वास्थ्य, विदेश भ्रमण (ल्याब, थेसिस लगायतमा विभागको सिफारिसमा) जाने विद्यार्थीहरूलाई सहयोग, पुस्तकालयमा थप पुस्तकको व्यवस्था, पुस्तकालय समय थप, हेल्थ असिस्टेन्टको व्यवस्था, खेलकुद सामग्री थप गर्ने लगायतका काम समेत भएको सभापति अर्यालले बताए ।

एक वर्षको दौरानमा विद्यार्थीहरूको सामान्य भन्दा सामान्य समस्या समाधान गर्न स्ववियु क्रियाशील नै रहेको उनको भनाइ छ । पुल्चोक क्याम्पसमा आगामी एक वर्ष थप क्रियाशील हुँदै समस्या समाधान गर्न र विद्यार्थीको सर्वाङ्गिण विकास गर्न नयाँ ढङ्गले अघि बढ्ने उनले प्रस्ट पारे ।

त्रिभुवन विश्वविद्यालय स्ववियु सभापति श्यामराज ओझाले समेत सुरूवाती समयमा बुझ्न नै समय लागेको बताए । विभिन्न समस्या तथा कठिनाइका बाबजुद पनि महत्त्वपूर्ण कार्य गर्न स्ववियु सफल भएको उनको भनाइ छ ।

‘निर्वाचित भएर आएको सुरूको ७/८ महिना त आफ्नै व्यवस्थापनमा लागियो । छोटो समयमा पनि विभिन्न समस्या चुनौतीका बिच राम्रो सुरूवात गरेका छौँ,’ सभापति ओझाले भने ।

लामो समयसम्म निर्वाचन हुन नसकेको, स्ववियुको कुनै रेकर्ड अफिस/फाइल नभएको विभागहरू र विभिन्न निकायहरूले स्ववियुको सहकार्य बिर्सिसकेको कठिन परिस्थितिमा निर्वाचित भएको एक वर्ष पूरा भएको सभापति ओझाले बताए ।

एक वर्षको अवधिमा स्ववियुले विभिन्न कार्य सम्पन्न गरेको र केही प्रक्रियामा रहेको उनको भनाइ छ । एक वर्षको अवधिमा त्रिविको पुस्तकालय २४ घण्टा नै खुला रहने गरी व्यवस्थापन गराउन सफल भएको उनले बताए ।

सभापति ओझाका अनुसार छात्रावासको व्यवस्थापन, विद्यार्थीहरूलाई स्वच्छ खानेपानीको व्यवस्था, त्रिवि परिसरभित्र सीसीटीभीको व्यवस्थापन, त्रिविको सम्पत्ति संरक्षण गर्ने लगायतका कार्य यो बिचमा भएको छ ।

त्रिविको पदाधिकारी तथा कर्मचारीले गाडीको दुरूपयोग गर्दै आएको भन्दै त्यसलाई रोक्न त्रिविको लोगो टाँस्ने काम समेत गरिएको उनको भनाइ छ ।

महाराजगञ्ज मेडिकल कलेजमा भने क्याम्पस प्रशासनको असहयोग कायमै छ । निर्वाचित भएर आएदेखि नै स्ववियु कार्यसमितिलाई क्याम्पस प्रशासनले असहयोग गर्दै आएको हो । क्याम्पस व्यवस्थापन समिति समेत बनेको छैन । त्यस्तै कार्यकारी समिति समेत नबनेको स्ववियु सभापति आनन्द सिंहले बताए ।

क्याम्पस प्रमुख आफ्नो मनपरी ढङ्गबाट अगाडि बढिरहेको सभापति सिंहको भनाइ छ । क्याम्पस व्यवस्थापन समिति बनाउन तथा क्याम्पस कार्यकारी समिति बनाउन पटकपटक ताकेता गर्दा पनि क्याम्पस प्रमुख तयार नभएको उनको भनाइ छ ।

क्याम्पस प्रशासन, तथा क्याम्पस प्रमुखको असहयोगका बिच पनि स्ववियुले विभिन्न कार्य गर्दै आएको सिंहले बताए । एकातिर विभिन्न माग लिएर क्याम्पस प्रशासन, चिकित्साशास्त्र अध्ययन संस्थान तथा डीनको कार्यालयसँग लड्नुपर्ने बाध्यता छ भने अर्कोतिर निर्वाचित हुनुअघि घोषणा गरेका घोषणपत्र अनुसारको काम गर्नुपर्ने चुनौती छ ।

महाराजगञ्ज मेडिकल कलेजले स्ववियुको अस्तित्व नै स्वीकार गर्न सकेको छैन । महाराजगञ्ज नर्सिङ कलेजमा पनि उस्तै समस्या छ । विद्यार्थीका समस्या समाधानका लागि पटकपटक स्ववियु नै तालाबन्दी गर्न बाध्य हुँदै आएको छ ।

विभिन्न माग अघि सार्दै स्ववियुले क्याम्पसमा तालाबन्दी गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थानले प्रवेश परीक्षा लिँदा एउटा फ्याकल्टी भनेर लिने, क्याम्पसमा आए पश्चात परीक्षा लिँदा प्रश्नपत्र अर्कैै फ्याकल्टीको नाममा लिने गरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो ।

त्यस्तै क्याम्पस, होस्टेल, क्यान्टिन व्यवस्थापनको माग राखेर विभिन्न समयमा मागपत्र बुझाएको तर, सुनुवाइ नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको स्ववियु उप–सभापति आकृति ढकालले बताइन् ।

मेडिकल क्षेत्रका क्याम्पसहरूमा क्याम्पस प्रशासनले स्ववियुको अस्तित्व नै स्वीकार गर्न नसकेको देखिन्छ । कतिपय कलेजमा भने स्ववियु र क्याम्पस प्रशासन बिच सहकार्य भएका पनि छन् ।

विशेषगरी स्ववियु सभापति र क्याम्पस प्रमुख एउटै पार्टीको भएका क्याम्पसहरूमा सहज रूपमा काम भइरहेको देखिन्छ । तर, क्याम्पस प्रमुख एउटा पार्टीको तथा स्ववियु अर्को पार्टीको भएको क्याम्पसहरूमा भने दुवै पक्षबाट असहयोग देखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप