आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
निर्यात

नेपालबाट ७ महिनामा ९ अर्बको जस्तापाता निर्यात

सिमेन्ट र क्लिङ्करको निर्यात पनि बढ्दै
मङ्गलबार, ०६ चैत २०८०, ०७ : १६
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । ७ महिनाको अवधिमा नेपालबाट अर्बौं रुपैयाँभन्दा बढीको जस्तापाता निर्यात भएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा उत्पादित जस्तापात विदेशतर्फ निर्यात भएको हो ।

जस्तापातासहित नेपालबाट सिमेन्ट/डण्डी लगायतका निर्माण सामग्रीसमेत निर्यात हुँदै आइरहेका छन् । चालु आर्थिक वर्ष २०८०-८१ को साउन–माघसम्मको अवधिमा नेपालबाट ९ अर्ब १८ करोड रुपैयाँको ‘रोल्ड आइरन/स्टील’ (जस्तापाता) निर्यात भएको छ । यस अवधिमा साढे ६ करोड किलोग्राम जस्तापाता निर्यात भएको हो ।

विदेशतर्फ जस्तापाताको माग बढे पनि आन्तरिक बजारमा भने यसको माग घटेको उद्योगी बताउँछन् । हुलास स्टिलका निर्देशक हिमान्सु गोल्छा कोभिड महामारी यता जस्तापाताको माग ४० प्रतिशतले घटेको बताउँछन् । अन्य निर्माण सामग्रीको माग घट्नासाथ यसको असर जस्तापातामा समेत पर्ने उनको भनाइ छ । माग घटे पनि नयाँ उद्योग स्थापनाको क्रम भने रोकिएको छैन । उद्योगीहरूका अनुसार पछिल्लो समय थप उद्योग स्थापना भइरहेका छन् ।

आन्तरिक बजारमा सङ्कुचन आए पनि भारततर्फको निर्यात भने आकाशिएको छ । भारतको उत्तरप्रदेश, विहार र पश्चिम बंगालमा नेपालका उद्योगहरूले विगत एक वर्षदेखि जस्तापाता निर्यात गरिरहेका छन् । यतिबेला देशमा ५ वटा जस्तापाता उद्योग छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता ५ लाख टन छ । जबकि, यो नेपालको आन्तरिक खपतको तुलनामा झण्डै ४ गुणाले बढी हो ।

यस्तै, डण्डी उद्योगी किरण साख नेपालबाट उल्लेख्यमात्रामा जस्तापाताको निर्यात भइरहेको बताउँछन् । नेपालबाट आरती स्ट्रिप र हुलास स्टिल मूख्य निर्यातकर्ता हुन् । यी उद्योगले विदेशबाटै कच्चा पदार्थ ल्याउँदै नेपालमा ‘भ्यालू एड’ गरी भारततर्फ नै निर्यात गरिरहेका हुन् ।

तथ्याङ्कअनुसार नेपालबाट अधिकांश जस्तापाता भारतमा जान्छ । यसबाहेक, यस अवधिमा ३७ लाख ६५ हजार रुपैयाँ बराबरको जस्तापाता चेक रिपब्लिकमा समेत निर्यात भएको छ ।

बढ्यो सिमेन्टको निर्यात

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेपछि नेपालबाट सिमेन्टको निर्यात समेत हुन थालेको छ । त्यस यता व्यापकरुपमा भारतर्फ सिमेन्टको निर्यात हुँदै आए पनि उद्यमीहरूले सरकारले दिने भनेको नगद अनुदान नपाइरहेको गुनासो गरेका छन् ।

यद्यपि, चालु आर्थिक वर्ष (२०८०-०८१) को ७ महिनाको अवधिमा २ अर्ब रुपैयाँको सिमेन्ट भारततर्फ बेचिएको छ । यस अवधिमा १ अर्ब ७ करोड ७० लाख रुपैयाँको सिमेन्ट भारततर्फ निर्यात भएको हो ।

यसबाहेक, ९८ करोड ३७ लाख रुपैयाँ बराबरको क्लिङ्कर समेत भारत निर्यात भएको तथ्याङ्क छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापा भारतको ठुलो बजार हिस्सा नेपाली उद्योगले लिन सक्ने बताउँछन् । रातोपाटीसँगको कुराकानीमा थापा भन्छन्, ‘भारतमा निर्यातका लागि अनुमति पाउने उद्योग ३ देखि ४ वटामात्रै छन् । थप उद्योगले निर्यातको अनुमति पाएका छैनन् ।’

निर्यात प्रोत्साहन गर्ने नीति लिएपछि भारतसँग भारतको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बीआईएस) लिनुपर्छ । थप उद्योगले बीआईएस नपाएपछि पहिलादेखि नै बीआईएस लिएका उद्यागले मात्रै निर्यात गरिरहेका छन् ।

संघका अनुसार नेपालबाट भारततर्फ ठुलो मात्रामा सिमेन्टको निर्यात गर्न सक्छ । तर, यसका लागि सरकारले पहल लिनुपर्ने हुन्छ । यसबाहेक, निर्यातमा दिने घोषणाअनुसारको अनुदान समेत तत्काल भुक्तानी दिनुपर्ने उद्योगीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप