आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

हुण्डी कारोबारी दीपक शाह ठकुरीले गरेका थिए ८ करोडको कारोबार

भारतीयको निर्देशनमा गर्थे हुण्डीको कारोबार
बिहीबार, ०८ चैत २०८०, ०८ : ३५
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । हुण्डी, अवैध विदेशी विनिमय, क्रिप्टोकरेन्सीको कारोबार आदिमा संलग्न रहेको भनी राजश्व अनुसन्धान विभागले पक्राउ गरेका विवादित व्यापारी नरेश अग्रवालसँगै पक्राउ परेका एक कारोबारीले एक महिनामै करिब ६ करोडको हुण्डीको कारोबार गरेको भेटिएको छ । हुण्डी कारोबारी दीपक शाह ठकुरीको कारोबारको विश्लेषण गर्दा २५ दिनकै अवधिमा कम्तीमा ५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको पाइएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतद्वय शिव हरि पोखरेल र वीरेन्द्र बहादुर माझीको प्रतिवेदनका आधारमा विशेष अदालत काठमाडौँमा दायर भएको मुद्दामा नरेशसहित कुल ४ जना प्रतिवादीहरूसँग २८ करोड ३२ लाख ७४ हजार ८२४ रुपैयाँ ८१ पैसाको बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवाना समेतको मागदाबी लिइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानको क्रममा व्यापारी नरेश अग्रवालले प्रत्यक्ष नचिन्ने भनेपनि नरेश अग्रवालका अन्य कारोबारीसँग जोडिएका दीपक शाह ठकुरीले २५ दिनको अवधिमा ५ करोड ७३ लाख र करिब १ वर्षको अवधिमा बैंकमार्फत थप ३ करोड ९ लाख रुपैयाँको कारोबार गरेको पाइएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको मुद्दामा भारतीय नागरिक चुनु भन्नेसँग मिलेर प्रतिवादी दीपक शाह ठकुरीले मात्रै ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ १८ पैसाको अवैध हुण्डीको कारोबार गरेको र उक्त रकमको सम्पत्ति शुद्धीकरण गराएको भन्दै मुद्दा दर्ता भएको छ । 

रातोपाटीलाई प्राप्त ठकुरीको कारोबार रकम र समय हेर्दा प्रतिवादी उनले २०२३ को डिसेम्बर २१ देखि २०२४ को जनवरी १६ सम्मको अवधिमा चुनु भन्ने भारतीय नागरिकलाई पठाएको रेकर्डमा मात्रै ५ करोड ७३ लाख ३० हजार १७० रुपैयाँको कारोबार गरेको पाइएको छ । ठकुरीले एकै दिन ४७ लाख ५८ हजार २ सय रुपैयाँसम्मको कारोबार गरेको पाइएको छ ।

ठकुरीले चुनुको ह्वाट्सएपमा पठाएको विवरण अनुसार उनले विभिन्न मितिमा विभिन्न व्यक्तिसँग यति रकम पाए र यति रकम दिएँ भनेर उल्लेख गरेका छन् । 
photo 1 Deepak Shah Thakuri Hundi Karobar PHoto
ठकुरीले व्यक्तिहरूसँग नगद लिई अर्को व्यक्तिलाई दिने काम मात्रै गरेका छैनन्, अवैध हुण्डीको कारोबार गर्न बैंक खाता समेत प्रयोग गरेका छन् । ठकुरीले सिटिजन्स बैंक, कुमारी बैंक र प्राइम बैंकबाट समेत अवैध हुण्डीको कारोबार गरेको पाइएको छ । ठकुरीले करिब एक वर्षको अवधिमा बैंकमार्फत ३ करोड ९ लाख ९ हजार ३९५ रुपैयाँको कारोबार गरेको पाइएको छ । ठकुरी पक्राउ पर्दाको समयमा उनको बैंक खातामा १ लाख ६ हजार २ सय रुपैयाँ मौज्दातसमेत रहेको पाइएको छ । 

photo 2 Deepak Shah Thakuri Banking Transaction PHoto
हुण्डीको अवैध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा २०८० माघ ४ गते साँझ ५ बजे दीपक शाह ठकुरीलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उनी पक्राउ पर्दा ३३ लाख ३१ हजार ५२५ नगदसमेत बरामद भएको थियो भने उनकै पोल बयानका आधारमा मनमोहन साह कलवार र दिवस कार्की पक्राउ परेका थिए । त्यसपछि दिवस कार्कीको बयानको आधारमा नरेश अग्रवाल पक्राउ परेका थिए । 

यद्यपि बयानको क्रममा दीपक शाह ठकुरीले नरेश अग्रवाललाई नचिन्ने र आफूले हुण्डीको कारोबार गरेको र कमिसनको लोभमा त्यस्तो कार्य गरेको भनी बयान दिएका छन् । सुरुमा विदेशी विनिमय ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा चलेपछि सरकारी वकिलको राय अनुसार शाहलाई सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाउन अनुसन्धान भएको थियो । विभागका अनुसन्धान अधिकारीसमक्ष बयान गर्ने क्रममा शाहले आफूले हुण्डीको कारोबार गरेको स्वीकार गरेपनि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर नगरेको जिकिर गरेका छन् । 

ठकुरीको बयान यस्तो छ :
‘मलाई मिति २०८०।१०।०४ गतेदेखि राजश्व अनुसन्धान विभागले विदेशी विनिमयको अवैध कारोबार सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरेकाले थुनामा रहेको छु । मेरो नरेश अग्रवालसँग पूर्व चिनजान थिएन । मेरो निजसँग कुनै नाता सम्बन्ध, लेनदेन व्यवहार छैन । अहिले पक्राउ परेपछि मात्र निजलाई देखेको हुँ । मेरो चिनजान मनमोहन साह कलवार नामका मानिससँग पक्राउ पर्नु ३–४ महिना अघि भएको थियो । रकम लेनदेनको सिलसिलामा चिनजान भएको हो । ५–६ महिना अघि यट्खामा चियापसलमा गफगाफ गर्ने क्रममा एकजना मानिसले मेरो लोनको कुरा सुनेर एउटा काम गर्छौ त भनी सोधेको थियो । के काम भन्दा पैसा उठाउने र पुर्यानउने मात्र हो भनेपछि मैले हुन्छ भनेको हु । निजलाई म चिन्दिन । निजले नै मलाई एकजना भारतीयसँग फोनमा कुरा गराएको र उसैले भनेको आधारमा काम गर्न थालेको हुँ । सोही बेलादेखि भारतीयले भनेर मनमोहनलाई पैसा दिन जाँदा मनमोहन साह कलवारसँग समेत मेरो चिनाजान भएको दिवस कार्कीसँग समेत पैसा पुर्यौउँदा चिनजान मार्फत चिनेको हुँ । नरेश अग्रवालबाट बरामद भएको रकमका बारेमा मलाई थाहा छैन । रकम बरामद हुँदा म वारदातस्थलमा समेत थिइन । निजको पेशा समेत मलाई थाहा छैन । निजको साथबाट बरामद भएको रकम उपर मेरो कुनै हकदावी छैन । मेरो आफ्नै रकम रु। ३३ लाख समेत बरामद भएको छ । सो रकम नक्साल, भोटेबहाल र मैतिदेवीबाट उठाएको हो कसलाई बुझाउने भनेर फोन नआएर मसँगै रहेको हो । मलाई हाल नामथर वतन यकिन नभएका भारतीय नागरिकले भने बमोजिम हुण्डीको कारोबार गर्न थालेको हुँ । निजले मलाई शुरुमा प्रति लाख ५० रुपैयाँ आउँछ भनेका थिए पछि प्रति लाख १०० देखि ११० रुपैयाँ सम्म दिन्थ्यो । सोही बमोजिम मैले कारोबार गरेको हुँ । मैले कारोबार गर्दा बैंकिङ प्रणालीबाट कारोबार गरेको छु । मेरो कुमारी बैंक, ग्लोबल आईएमई बैंकमा खाता रहेको छ ।’

त्यसैगरी ठकुरीले बयान गर्ने क्रममा हुण्डीको रकम नेपाल र भारतबिच हुने व्यापारसँग सम्बन्धित रहेको पनि बताएका छन् । ठकुरीले बयानमा अगाडि भनेका छन्,-

‘म समेतले कारोबार गर्ने रकम नेपाल भारतबिच हुने व्यापारसँग सम्बन्धित हो । मैले बजारबाट पैसा उठाउँदा मैतीदेवी नक्सालतिरका मलाई नामथर यकिन थाहा नभएका चुनुले भने अनुसारका मानिसहरूसँग पैसा उठाई डेराकोठामा राखेको अवस्थामा बरामद भएको रकम हो । मलाई हुण्डी गर्नु हुँदैन भन्ने थाहा थियो । तर मैले गरेको कारोबार अवैध र हुण्डीको कारोबार हो भन्ने थाहा नभएर केही पैसा कमाई हुने लालचमा परी यो काम गरेको हुँ । मैले जानीजानी सम्पत्ति शुद्धीकरणको कसुर गरेको छैन ।’

ठकुरीले बयानका क्रममा आफूले हुण्डीको कारोबार गरेको स्वीकार गरेपनि उक्त रकम कसुरबाट आर्जित सम्पत्ति भएको भन्ने थाहा नभएको र त्यसरी कारोबार गर्नु सम्पत्ति शुद्धीकरणको कसुर हो भन्ने पनि थाहा नभएको बताएका छन् । 

ठकुरीले बयानमा भनेका छन्, 
‘बरामदी रकम हुण्डीको कारोबारमा प्रयोग गर्ने रकम हो । मसँग हुण्डीको कारोबारमा जोडिएका व्यक्ति भारतीय नागरिक चुनु हुन् । मैले यसरी रकमको कारोबार गर्दा हुण्डीको कारोबार हुन्छ र सोसँग सम्बन्धित रकम कसुरबाट प्राप्त रकम भएकाले सम्पत्ति शुद्धीकरणको कसुर हुन्छ भन्ने मलाई थाहा थिएन । मैले विभिन्न स्थानबाट संकलन गरेको रकम निज चुनु नामका मानिसले भने अनुसारका व्यक्तिहरुले दिएको रकम हो । रकम दिने व्यक्तिहरूलाई म चिन्दिन । मबाट उक्त रकम पुनः चुनुले भने अनुसारका मानिसहरूलाई नै दिन्थेँ । मनमोहन साह कलवारबाट बरामद रकम समेत मैले नै जिम्मा लिने र चुनुले भने अनुसारका मानिसलाई दिने रकम हो ।’

यसरी सुरुमा अवैध हुण्डीको कारोबारको कसुरमा पक्राउ परेका दीपक शाह ठकुरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलाई ८ करोड रुपैयाँभन्दा बढीको बिगो र त्यसको दोब्बर रकम जरिवानाको मागदाबी लिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप