सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

सुन जोख्ने मेसिनसहित पक्राउ परेका व्यापारी नरेश अग्रवालमाथि तीन मुद्दामा एकसाथ अनुसन्धान

विदेशी विनिमयको मुद्दामा अदालतबाट १ करोड २५ लाख धरौटी माग
मङ्गलबार, २२ फागुन २०८०, १६ : ४१
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । गत माघ ४ गते राजस्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट व्यापारी नरेश अग्रवाललाई १ करोड ९९ हजार नगद तथा १ हजार ९९४ अमेरिकी डलरसहित नियन्त्रणमा लियो । विभागले नरेश अग्रवाललाई पक्राउ गर्दा उनीसँगै अन्य तीन जनालाई पनि पक्राउ गरेको थियो ।

त्यतिबेला उनको घरबाट सुन जोख्ने मेसिनसमेत बरामद भएको थियो । पक्राउ गरेपछि उनलाई हुण्डी कारोबारीका रूपमा अदालतबाट म्याद थप गरिएको थियो ।

पक्राउ पर्दा विभागले उनलाई सुन तस्करीको रकम भुक्तानी गर्ने व्यक्ति भने पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा भने विदेशी विनिमयको अवैध कारोबारमा संलग्न रहेको भन्दै मुद्दा दायर गरिएको थियो । अग्रवालले स्रोत नखुलेको नगद १ करोड ९९ हजार, अमेरिकी डलर बराबरको २ लाख ६५ हजार ८६० रुपैयाँ तथा दिवस कार्कीलाई दिएको भनिएको २१ लाख ६३ हजार २९० रुपैयाँ गरी कुल १ करोड २५ लाख २८ हजार १५० रुपैयाँको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतले फागुन १५ गते नरेश अग्रवालसँग बिगो रकम बराबर अर्थात् १ करोड २५ लाख २८ हजार १५० रुपैयाँ नै धरौटी लिई छाड्न आदेश दिएको थियो ।

काठमाडौँ जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गर्न आदेश दिएको भएपनि राजस्व अनुसन्धान विभागले भने अग्रवाललाई छाड्न मानेन । विभागले अग्रवालमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई त्यसलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यस सम्बन्धमा अनुसन्धान गरिरहेको कारण यतिबेला अग्रवाल विभागकै हिरासतमा छन् ।

  • कसरी पक्राउ परे अग्रवाल ?

गत माघ महिनाको सुरुवातमा राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोलाई एउटा सूचना आयो – केही व्यक्तिहरूले अवैध हुण्डीको कारोबार गरिरहेका छन् र उक्त रकम सुनको तस्करीसँग सम्बन्धित छ । विभागमा कार्यरत सशस्त्र प्रहरीको एउटा टोली परिचालित भयो ।

गत माघ ४ गते अन्दाजी ५ बजे टोलीले सुरुमा काठमाडौँको मखनटोलमा रहेको दीपक शाह ठकुरीको डेराकोठामा खानतलासी गर्न पुग्यो । खानतलासीको क्रममा ठकुरीको कोठाबाट स्रोत नखुलेको ३३ लाख ३१ हजार ५२५ रुपैयाँ बरामद भयो । उक्त रकमको स्रोतबारे सोधपुछ गर्दा उनले उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको र त्यसलाई मनमोहन साह कलवारलाई दिनुपर्ने बताए ।

त्यसपछि ठकुरीको पोल बयानका आधारमा सोही दिन बेलुका ६ बजे ताहाचलबाट मनमोहन साह कलवारलाई पनि नियन्त्रणमा लिइयो । मनमोहन साह कलवारको कोठामा खानतलासी गर्दा स्रोत नखुलेको थप ७५ लाख २ हजार रुपैयाँ बरामद भयो । त्यसैगरी दीपक शाह ठकुरीकै पोल बयानका आधारमा सोही दिन साँझ ७ बजेको समयमा कलङ्कीको खसीबजारबाट दिवश कार्कीलाई समेत पक्राउ गरियो । दिवसको साथबाट प्रहरीले २१ लाख ६३ हजार २९० रुपैयाँ बरामद गर्‍यो ।

दिवसलाई उक्त रकम कहाँबाट कसरी आएको हो भनी सोधपुछ गर्दा कार्कीले उक्त रकम क्षेत्रपाटी बस्ने नरेश अग्रवालको भएको जानकारी दिएका थिए । त्यसपछि सशस्त्रको टोली क्षेत्रपाटीमा रहेको नरेश अग्रवालको घरमा पुग्यो । साँझ ८ बजे नरेश अग्रवालको घरमा पुगेको सशस्त्र प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले नरेशको घरबाट स्रोत नखुलेको १ करोड ९९ हजार नेपाली रुपैयाँ, १ हजार ९९४ अमेरिकी डलर बरामद गर्‍यो । साथसाथै नरेशको घरबाट सुन जोख्ने मेसिन, निजको ल्यापटप र मोबाइल फोनसमेत नियन्त्रणमा लियो । यद्यपि सीआईबीले काठमाडौँ जिल्ला अदालतमा पेश गरेको बरामदी मुचुल्कामा भने नरेशको साथबाट बरामद भएको अन्य सामानको विवरण पेश गरेको छैन । यद्यपि बरामदी मुचुल्कामा पनि ती सामानहरुको विवरण समेत भएको र ती सामानहरू विभागकै नियन्त्रणमा रहेको राजस्व अनुसन्धान विभाग स्रोतको दाबी छ ।

  • पक्राउपछि मौकाको बयानमा के–के भनी प्रतिवादीहरूले ?

पक्राउपछि अदालतबाट म्याद थप गरी लिइएको बयानमा सुरुमा पक्राउ परेका दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवश कार्कीले उक्त रकम हुण्डीको रकम भएको र ती रकमहरू ह्वाट्सएपमा आउने म्यासेजका आधारमा कहीँबाट लिएर कुनै व्यक्तिलाई दिने गरेको र त्यस्तो व्यक्ति तथा रकम फरकफरक हुने गरेको र त्यसरी एक स्थानबाट पैसा लिई अर्को व्यक्तिलाई दिँदा कमिसन आउने बयान दिएका थिए ।

तीन व्यक्तिको बयान तथा बयान पोलका आधारमा पक्राउ परेका व्यापारी नरेश अग्रवालले ती पैसाहरू आफ्नो रहेको, आफ्नै रकम भएको कारण बैंकमा नराखेको र विभिन्न व्यक्तिहरूलाई सापटीबापत रकम दिने गरेको र त्यसबापत कमिसन लिने गरेको बयान दिए । बयानका क्रममा सापटी रकम सामान्यतः एक साताका लागि हुने गरेको र एक लाखको १ हजार रुपैयाँसम्म कमिसन लिने गरेको बताए ।

अमेरिकी डलरको सम्बन्धमा केही डलरहरू पहिले आफ्नो पसलमा आउने विदेशीहरूले दिने डलरको बचत भएको र १,७५० डलर छोरा बुहारी दुबई गएर फर्कँदा ल्याएको रकम भएको र उक्त रकम घरमा नै राखी रहेको बयान दिए ।

तर राजस्व अनुसन्धान विभागले भने ती रकमहरू अवैध हुण्डीको रकम रहेको, । स्रोत नखुलेको आदि कारणबाट अमेरिकी डलर र नेपाली रुपैयाँलाई पनि सँगै राखेर काठमाडौँ जिल्ला अदालतमा पहिलो मुद्दाका रूपमा विदेशी विनिमय कसुरमा दर्ता गरायो ।   

  • अग्रवालमाथि चार कसुरमा अनुसन्धान हुने

क्षेत्रपाटीस्थित आफ्नै घरबाट पोल बयानका आधारमा पक्राउ परेका व्यापारी नरेश अग्रवालमाथि यतिबेला थप तीनवटा कसुरमा एकसाथ अनुसन्धान भइरहेको छ । सुरुमा राजस्व अनुसन्धान विभागले विदेशी विनिमयको कसुरमा मात्रै काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाएकामा त्यसपछि हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रही उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै अग्रवाललाई काठमाडौँ प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो । किनभने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विदेशी विनिमयसँगै अग्रवालमाथि सम्पत्ति शुद्धीकरण, अवैध क्रिप्टोकरेन्सी र नेपाल राष्ट्र बैङ्क ऐन अनुसार हुण्डीमा पनि अनुसन्धान गर्न राय दिएको थियो ।

यतिबेला अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको छ । सोही समयमा राजस्व अनुसन्धान विभागले पनि अग्रवालसँग अवैध क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा अनुसन्धान गरिरहेको छ । त्यसबाहेक प्रहरीले समेत नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत अग्रवालमाथि अनुसन्धान गरिरहेको छ ।

  • के भनेका थिए अग्रवालले आफ्नो बयानमा ?

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरो र राजस्व अनुसन्धान विभागको टोलीले नरेश अग्रवाललाई क्षेत्रपाटीस्थित घरबाट पक्राउ गर्दा उनले ती रकमहरू आफ्नो स्वआर्जनको रकम भएको र अवैध नभएको तर साथीभाइलाई सापटीका रूपमा दिने गरेको र त्यसरी सापटी दिँदा एक लाखको सातामै १ हजारका दरले कमिसन लिने गरेको दाबी गरेका छन् ।

राजस्व अनुसन्धान विभागसमक्ष अग्रवालले दिएको बयानको केही अंश यस्तो छ ।

– ‘मिति २०८०।१०।०४ गते बेलुका करिब ८ः०० बजे राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरी तथा कर्मचारीको टोलीले काठमाडौँ महानगरपालिका वडा नं. १७, क्षेत्रपाटीमा रहेको मेरो डेराकोठामा खानतलासी गर्दा स्रोत नखुलेको नेपाली रूपैयाँ १,००,९९,०००।– र अमेरिकी डलर १,९९४ समेत बरामद गरी मलाई पक्राउ गरी अनुसन्धानको लागि यस विभागमा पेश गरेकोले सो सम्बन्धमा बयान दिन उपस्थित भएको छु । मसँगै पक्राउ परेका अन्य ३ जना कहाँबाट के कस्तो अवस्थामा पक्राउ परेका हुन्, त्यो मलाई कुनै जानकारी छैन । पक्राउ परिआएका प्रतिवादी दीपक शाह ठकुरी र मनमोहन साह कलवारलाई म चिन्दिन । अर्का प्रतिवादी दिवस कार्कीलाई करिब ६ महिना अगाडिदेखि चिन्दछु । पैसा लिने दिने कारोबारसँगै प्रतिवादी दिवस कार्कीसँग चिनजान भएको थियो । निजलाई करिब ८–१० पटक रकम सापटी दिएको छु । मेरो डेराकोठाबाट बरामद गरेको बरामदी मुचुल्का, लगायत मिसिल संलग्न कागजातहरू देखाई पढिवाची सुनाउँदा सुने । मेरो कोठाबाट बरामद भई आएको रकम मेरो आफ्नै हो, जुन पहिलेदेखि यस्तै सापटी दिने कामको लागि राखेको रकम हो । जुनसुकै समयमा पनि पैसा दिनुपर्ने भएकोले यो रकम घरमै सञ्चय गरी राखेको हुँ ।’

–  मैले करिब १ वर्षदेखि केही रकम स्टक राखेर सापटी दिने गरेको छु । उक्त रकम सापटी लिने व्यक्तिहरूलाई म चिन्दिन । मेरा चिनजानका साथीभाइले फलानालाई यति रकम दिनु भन्थे सोही अनुसार उक्त रकम दिने गर्दथे । फोन गरेर १०–२० लाख रकम दिनु भन्दथे । वी च्याटमा कुरा गरी मान्छे चिनेर दिने गर्दथे । मैले चिनजान भएको मेरा साथी भाइहरूको माध्यमबाट तथा केही मेरा चिनजानका मान्छेहरू करिब १०–१२ जनालाई पैसा सापटी दिने गर्छु । त्यसैले फिर्ता नगरे उनीहरूलाई जसले दिन भनेको छ उसैले दिन्छन् भन्ने लाग्छ । हालसम्म सबैजसोले फिर्ता गरेका छन् । व्यापार व्यवसाय गर्ने व्यक्तिले इमर्जेन्सी पेमेन्ट गर्न रकम अभाव हुँदा मबाट लैजाने भएकोले बढीमा १ हप्ता सम्म राख्ने गर्दछन् । म बाट धेरैमा ५–१० लाख सापटी लैजाने गर्दछन् । उनीहरूले पैसा फिर्ता गर्दा आफ्नो खुसीले १ लाखको १ हजार जति दिने गर्दछन् ।

– उक्त बरामद भएको नेपाली रूपैया १,००,९९,०००।– सबै मेरै हो । उक्त रकम पहिलादेखिनै सापटी दिने काममा प्रयोग गरिरहेको छु । सापटी फिर्ता दिँदाको कमिसन करिब महिनाको ८०–९० हजार जति हुने गर्दछ । सो रकम पनि जम्मा हुँदै गएको हो । अमेरिकी डलरको सम्बन्धमा भने मेरी श्रीमतीले करिब २० वर्ष अगाडी देखि पसलमा आउनेहरूले दिएको अमेरिकी डलर १–१ दरको गरी २४४ जति जम्मा गरेकी थिइन् । मेरा छोराबुहारी करिब २ महिना अगाडि युएई गई फर्किदा ल्याएको विभिन्न दरका अमेरिकी डलर १,७५० कोठामै राखेका थिए ।

– घटना घटेको दिन मैले प्रतिवादी दिवश कार्कीलाई ४ लाख मात्र दिएको थिएँ । उनीसँग बरामद सबै रकम मैले दिएको भन्ने कुरा झुटो हो । उनीबाट बरामद भएको सबै रकम मैले दिएको होइन । घटना घटेको दिन प्रतिवादी दिवस कार्की बाहेक अन्यलाई पैसा दिएको थिइन । मैले मेरो वैध रकम साथमा राखेकोले यसलाई बैकमा राखे पनि घरमा राखे पनि हुन्छ भन्ने लागेको थियो । नगद रकम साथमा/घरमा राख्नु हुँदैन भन्ने थाहा थिएन । म बिरामी भएकोले प्रायजसो घरमै रहन्थे । बैंक खाता खोलेको पनि थिएन । सापटी रकम फिर्ता गर्दा उनीहरूको खुसीले थप केही रकम दिने भएकोले अवैध काम हो जस्तो लागेन । मलाई घरमै बसेर काम गर्दा दुईचार पैसा आउँछ भन्ने लोभले यस्तो काम गर्ने गरेको हु । अमेरिकी डलरको सम्बन्धमा मैले बयानमा लेखाइदिए अनुसार हो । प्रचलित कानुन विपरीत कार्य भएको देखिए कारबाही भोग्न मन्जुर छु । एक पटकको लागि सहज तरिकाले प्रक्रिया पुर्‍याई थुनामुक्त गरिदिनुहोला ।

राजस्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा पेश गरेको विदेशी विनिमयको मुद्दामा सुन जोख्ने मेसिन, मोबाइल तथा ल्यापटपको विवरण उल्लेख गरेको छैन । मोबाइल तथा ल्यापटपको प्राविधिक विश्लेषण नगरिएको तथा सुन जोख्ने मेसिनको सम्बन्धमा कुनै कुरा नै गरिएको छैन ।  

विभागले भने विदेशी विनिमयका सम्बन्धमा बरामद भएका ती मालवस्तुको सम्बन्धमा विषय फरक भएकाले ती सम्बन्धमा कुरा नगरिएको जानकारी दिएको छ । यद्यपि अन्य मुद्दामा ती वस्तुहरूको विश्लेषण भइरहेको बताए । 

राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत विदुर कुमार कार्कीका अनुसार यतिबेला अवैध क्रिप्टोकरेन्सी र हुण्डीको सम्बन्धमा नरेश अग्रवाल लगायतका प्रतिवादीसँग बयान भइरहेको तथा बरामद गरिएका मोबाइल तथा ल्यापटपको सम्बन्धमा प्राविधिक विश्लेषण भइरहेको बताएका छन् ।  

  • राजस्व अनुसन्धानको राडारमा थिए व्यापारी अग्रवाल

विभागका अनुसार व्यापारी नरेश अग्रवाल राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका व्यक्ति थिए । विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा उनी वाचलिस्टमा थिए । अवैध सुन तस्करीको रकम दिने व्यक्ति अग्रवाल नै रहेको सूचना विभागसँग भए पनि यथेष्ट प्रमाण नहुँदा र पोल बयान नहुँदा उनलाई पक्राउ गरिएको थिएन ।

तर उनीमाथि निगरानी बढाएको विभागले अन्य सूचनाको आधारमा अन्य व्यक्तिलाई पक्राउ गर्दै अन्तिममा नरेश अग्रवालसम्म पुगेर उनलाई नियन्त्रणमा लिएको थियो । 

  • पहिले पनि मुद्दा चलेर छुटेका थिए अग्रवाल

व्यापारी नरेश अग्रवाल यसअघि पनि पक्राउ परी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते विशेष अदालतमा दर्ता भएको सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यापारी अग्रवालले सफाइ पाएका थिए । त्यतिबेला उनी बौद्धमा मामन स्टोर्स सञ्चालन गर्थे । त्यसपछि उनले उक्त स्टोर्स छाडेर छोरा बुहारीलाई जिम्मा लगाएका थिए । 

तत्कालीन समयमा सफाइ पाएको भए पनि हाल उनीमाथि पुनः सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको कारण पहिलेको मुद्दामा भएको तथ्यलाई पनि साथैमा राखी अनुसन्धान भइरहेको विभाग स्रोतले जनाएको छ । नरेशले अवैध क्रिप्टोकरेन्सीको समेत कारोबार गरी हुण्डीको कतिपय रकम क्रिप्टोकरेन्सीमार्फत तिर्ने गरेको समेत दाबी गरिएको छ । 

  • अस्पताललाई नै हिरासत बनाए अग्रवालले

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि उनी लामो समयदेखि अस्पतालमा छन् । उच्च रक्तचाप लगायतका कारण देखाउँदै उनी प्रहरीको हिरासतमा नबसी अस्पतालमा बसिरहेका छन् । अग्रवालले अनुसन्धानलाई सहयोग नगरेपछि राजस्व अनुसन्धान विभागले अस्पतालबाटै उनको बयान लिएको थियो । मोबाइल तथा ल्यापटपको प्राविधिक विश्लेषणमा पनि असहयोग भएपछि उनलाई सुरुमा विदेशी विनिमयको कसुरमा मात्रै मुद्दा चलाई हाल थप तीन कसुरमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरिएको छ । यसमा सम्पत्ति शुद्धीकरण, क्रिप्टोकरेन्सी र हुन्डी कारोबार सम्बन्धी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप