बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जको पूजा सामाग्री प्रोडक्ट उद्योगमा सिलबन्दी

बिहीबार, ०८ चैत २०८०, १४ : ५३
बिहीबार, ०८ चैत २०८०

वीरगन्ज । वीरगन्जमा अखाद्य बस्तु बेचबिखन गरेको आरोपमा स्थानीय प्रशासनले एक उद्योगमा सिलबन्दी गरेको छ । वीरगन्ज महानगरपालिका ६ मा रहेको पूजा सामाग्री प्रोड्क्ट उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सा र नाप तौल विभागको संयुक्त  टोलीले सिलबन्दी गरेको हो । 

सो उद्योगले विभिन्न ब्रान्ड राखेर नक्कली घ्यू तथा पाउडर बेचबिखन गरेको आरोप स्थानीय प्रशासनले लगाएको छ ।  उद्योगमा छापा मार्दा धेरै परिमाणमा पाउडरको दूध र नक्कली घ्यू उत्पादन भइरहेको पाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

उनका अनुसार उद्योगले आफैँ उत्पादन गरेको डाल्डा घ्यूलाई विभिन्न ब्रान्डको नाम दिएर बजारमा बेचबिखन गरिरहेको पाइएको छ । उद्योगले उत्पादन गर्ने नक्कली घ्यू खास गरी नारायणी, पूजा, गोदावरी, स्वदेशी सहितका नामबाट बिक्री गर्दै आएको पाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

silbandi1

उद्योगमा गोप्यरुपमा नक्कली घ्यू तथा अखाद्य वस्तु उत्पादन भइरहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । संयुक्त टोलीले नक्कली घ्यू तथा अखाद्य वस्तु बिक्री गर्ने एक जना सञ्चालकलाई समेत पक्राउ गरेको छ  । पूजा सामग्री उद्योगका कृष्णकुमार सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

अनुगमन टोलीले घ्यू बनाउनका लागि प्रयोग हुने पाउडर, ढक र २ वटा डिजिटल काटा सेटसमेत नियन्त्रणमा लिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप