बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश नयाँ समीकरण

सुदूरपश्चिमका मुख्यमन्त्री होली लगत्तै विश्वासको मत लिने योजनामा

बिहीबार, ०८ चैत २०८०, १६ : ०२
बिहीबार, ०८ चैत २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले होली (फागु पूर्णिमा) लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएका छन् । सोही अनुसार उनी गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ ।

केन्द्रमा एमाले र माओवादी सहितका दल मिलेर नयाँ समीकरण बनाएपछि साविकका सत्ता साझेदार दलले मुख्यमन्त्री शाहको साथ छाडेका छन् । कांग्रेसबाट प्रतिनिधित्व गर्ने शाह यतिबेला आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा छन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट आफ्नो समर्थन फिर्ता लिइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन् ।

विश्वासको मत कहिले लिने भन्ने रातोपाटीको जिज्ञासामा मुख्यमन्त्री शाहले भने, ‘हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरुसँग छलफल जारी नै छ । सहमतिको नजिक–नजिक छौँ ।’

फाइनल सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ । होली लगत्तै सत्ताका नयाँ साझेदारसँग ठोस सहमति गरी आफूले विश्वासको मत लिने उनले बताए ।

केही साता अगाडि नागरिक उन्मुक्ति पार्टीका थप सांसदलाई लिएर मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्री शाहले राप्रपाका एकमात्र सांसद खिमादेवी बिष्ट र स्वतन्त्र सांसद तारा जोशीलाई साथमा लिइ मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेका छन् ।

रेशमलाल चौधरीको पर्खाइमा मुख्यमन्त्री

नागरिक उन्मुक्ति पार्टीको चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ । सो बैठकमा नाउपाका ७ जना सांसदमध्ये २ जना अनुपस्थित थिए । अनुपस्थित हुने २ जनाध्ये एक जनाले पनि विश्वासको मत नदिएको अवस्थामा मुख्यमन्त्री बहुमत जुटाउन असमर्थ हुनेछन् ।

अर्कोतिर, नाउपाको संसदीय दलले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरे पनि केन्द्रमा माओवादी केन्द्र, नेकपा एमालेसहितको समीकरण तथा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कारण मुख्यमन्त्री शाह अझै नाउपाप्रति पूर्ण विश्वस्त हुन नसकेको स्रोत बताउँछ । तर मुख्यमन्त्री शाह भने आफू नाउपाप्रति पूर्ण रुपमा ढंक्क रहेको बताउँछन् ।

होली लगत्तै विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाह यतिबेला नाउपाका संस्थापक नेता रेशमलाल चौधरीलाई कुरिरहेका छन् । चौधरी यतिबेला जापान भ्रमणमा छन् । उनी स्वदेश फर्के लगत्तै अर्थात् होली लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने स्रोतको दाबी छ ।

अर्कोतिर मुख्यमन्त्री शाहलाई ग्रीन सिग्नल दिइसकेका स्वतन्त्र सांसद जोशीले पनि नाउपाले पूर्णरुपमा विश्वासको मत दिने वातावरण तय गरेको अवस्थामा आफूले पनि दिने बताइसकेका छन् ।

राप्रपा पनि शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक रहेको स्रोत बताउँछ । केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिएको राप्रपाले सुदूरपश्चिम सरकारप्रति भने नरम नीति अख्तियार गरेको हो ।

बिहीबार बसेको राप्रपाको सुदूरपश्चिम प्रदेश कार्य सम्पादन समितिको बैठकमा प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल भएको थियो । छलफलमा सहभागीमध्ये बहुसङ्ख्यक नेताले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए ।

यद्यपि बैठकले ठोस निर्णय भने गरेको छैन । जिल्लाको बैठकबाट निष्कर्षमा पुग्ने भन्दै बैठक सकिएको राप्रपाका सांसद खिमा देवी बिष्टले बताइन् ।

सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्दछ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् ।

प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप