आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई करोड लगानीमा नेपालगन्जको वाटर पार्कमा मोटरबोट सञ्चालन

स्थानीय पालिकाले कति पाउँछ राजस्व ?
सोमबार, १२ चैत २०८०, ११ : २८
सोमबार, १२ चैत २०८०

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकास्थित वाटर पार्कमा आधुनिक मोटर बोट सञ्चालनमा आएको छ । मोटर बोट सेवा प्रदायक कम्पनी बोटेबोराले अन्य क्षेत्रसँगै वाटर पार्कमा पनि सेवा विस्तार गरेको हो ।  परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बीबी (विष्णु) ढकालले बताए ।

खासै प्रयोगमा नआएको नेपालगन्जको वाटर पार्क नामक पोखरीलाई मोटर बोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए ।  वाटर पार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।

मोटर बोट चलाउन कम्पनीले करिब २ करोड खर्चिएको ढकाल बताए । व्यावसायिक रूपमा बोट सञ्चालनको तयारी गरेको कम्पनीले वाटर पार्कमा मोटर बोट सञ्चालन गरेबापत नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता गरेको छ । 

कति तोकिएको छ शुल्क ?

कम्पनीले मोटर बोट चढ्न प्रतिव्यक्ति रु २५० (दुई सय पचास रुपैयाँ) तोकेको छ । एक हजार २ सय वर्ग मिटरको तालमा पर्यटकले मोटर बोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् । 

कम्पनीले मोटर बोटसहित आगामी दिनमा नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावर स्पोर्ट्स, फ्लोटिङ रेस्टुरेण्ट, अपोजिट बन्जी,साइक्लिङ,जिपलाइन लगायतका सेवा समेत बिस्तार गर्ने योजना बनाएको छ । यसका लागि आवश्यक गृहकार्य भइरहेको ढकालले जानकारी दिए ।

यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरत तालमा पर्यटकहरूलाई मोटर बोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटर बोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप