शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
खोप अभियान

लक्ष्यभन्दा बढीले लगाए दादुरा–रुबेला खोप

सोमबार, १२ चैत २०८०, १३ : ४३
सोमबार, १२ चैत २०८०

काठमाडौँ । दादुरा–रुबेला खोप राष्ट्रिय अभियान अन्तर्गत लक्ष्यभन्दा बढीले खोप लगाएका छन् । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म जारी सो अभियान अन्तर्गत ५९ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका हुन् ।

सरकारले सो अभियानमा देशभरका ५८ लाख ९५ हजार ५५३ बालबालिकालाई दादुरा–रुबेला खोप लागाउने लक्ष्य राखेकोमा ५९ लाख ७६ हजार २५९ बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अभियानमा दादुरा–रुबेलाको उच्च जोखिम भएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाले खोप लगाएका हुन् ।

राष्ट्रिय दादुरा–रुबेला खोप अभियान अन्तर्गत ५९ लाख ७६ हजार २५९ बालबालिकालाई खोप लगाइएकोमा ९ महिनादेखि ५ वर्षसम्मका २२ लाख ६९ हजार ५७९ बालबालिका रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ३७ लाख ६ हजार ६८० बालबालिका ९ वर्षदेखि १५ वर्ष सम्मका छन् ।

  • कुन प्रदेशमा कतिले लगाए खोप ?

देशभरमा सबैभन्दा बढी मधेस प्रदेशका १८ लाख ४५ हजार २७५ बालबालिकाले दादुराको खोप लगाएको मन्त्रालयले जनाएको छ । सबैभन्दा कम गण्डकी प्रदेशका २ लाख १६ हजार ६४८ बालबालिकाले खोप लगाएका छन् । मधेस प्रदेशका ९ महिनादेखि ५ वर्ष मुनिका ४ लाख ९३ हजार ३१२ जना र ५ देखि १५ वर्ष मुनिका १३ लाख ५१ हजार ९६३ बालबालिकाले खोप लगाएका हुन् ।'

यस्तै, गण्डकी प्रदेशका ९ महिनादेखि ५ वर्ष मुनिका १ लाख ४५ हजार ६६७ बालबालिकाले खोप लगाएका छन् । गण्डकीमा ५ देखि १५ वर्ष मुनिका ७० हजार ९८१ बालबालिकाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशमा ७ लाख ५७ लाख ८०६ बालबालिकाले खोप लगाएकोमा ९ महिनादेखि ५ वर्ष मुनिका २ लाख ४८ हजार २२८ बालबालिका र ५ देखि १५ वर्ष मुनिका ५ लाख ९ हजार ५७८ बालबालिका छन् ।

यस्तै, बागमती प्रदेशका ११ लाख ६४ हजार ७१७ बालबालिकाले सो खोप लगाएका छन् । यसमध्ये ९ महिनादेखि ५ वर्ष मुनिका ५ लाख ७६ हजार ८९७ बालबालिका छन् भने ५ देखि १५ वर्ष मुनिका ५ लाख ८७ हजार ८२० बालबालिका छन् ।

लुम्बिनी प्रदेशका १२ लाख ६४ हजार ३२९ बालबालिकाले खोप लगाएकोमा ९ महिनादेखि ५ वर्ष मुनिका ३ लाख ७३ हजार २० बालबालिका छन् भने ५ देखि १५ वर्ष मुनिका ८ लाख ९१ हजार ३०९ बालबालिका छन् ।

कर्णालीका २ लाख ३३ हजार १८० बालबालिकाले खोप लगाएकामध्ये ९ महिनादेखि ५ वर्ष मुनिका २ लाख ३३ हजार ४६ बालबालिका र ५ देखि १५ वर्ष मुनिका १३४ बालबालिकाले खोप लगाएका छन् ।

अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशका ४ लाख ९४ हजार ३०४ बालबालिकाले खोप लगाएका छन् । यसमध्ये ९ महिनादेखि ५ वर्ष मुनिका १ लाख ९९ हजार ४०९ छन् भने ५ देखि १५ वर्ष मुनिका २ लाख ९४ हजार ८९५ बालबालिकाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • दादुरा–रुबेला खोप लगाएका बालबालिकाको विवरणः

vaccine-data

  • दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य नजिक

दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य नजिक पुगिएको सरकारले जनाएको छ । सरकारले २०२६ सालसम्म दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य लिएको छ । यो खोपको कभरेज/पहुँच ९५ प्रतिशत स्थानीय तहमा पुर्‍याउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्षमा सञ्चालित दादुरा–रुबेला खोप अभियानमार्फत ९१.४८ प्रतिशत कभरेज/पहुँच पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सो तथ्याङ्कमा ८.५२ प्रतिशत लक्षित समूहका बालबालिकाले खोप नलगाएको उल्लेख छ ।

विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गररे सरकारले अभियान सञ्चालन गरेको थियो । दादुरा–रुबेला खोप लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको थियो ।

  • के हो दादुरा रोग ?

दादुरा एक प्रकारको आरएनए भाइरस (Paramyxo virus) बाट लाग्ने सङ्क्रामक रोग हो । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा उल्लेख गरिए अनुसार यो भाइरस मानिसमा मात्र सर्दछ । दादुरा धेरै छिटो सर्ने अति सङ्क्रामक किसिमको भाइरस भएको चिकित्सकले जनाएका छन् । त्यसैले यो रोगले छिटै महामारीको रूप लिने गरेको पाइएको छ । यो रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ तर ५ वर्षमुनिका बालबालिकामा बढी देखिने गरेको निर्देशिकामा उल्लेख छ ।

  • रोग सर्ने तरिका

दादुरा सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा दादुराको भाइरस हुन्छ । यो भाइरस नाक तथा घाँटीमा वृद्धि भई यसले श्वासप्रश्वास नली एवम् शरीरको अन्य भित्री अङ्गहरूमा सङ्क्रमण गर्दछ ।

रोगीको खकार, सिँगानको सम्पर्कमा आउँदा वा रोगीले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिर्कामार्फत हावाको माध्यमबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

शरीरमा राता बिमिरा देखापर्नुभन्दा ४ दिन अगाडिदेखि र बिमिराहरू देखा परेको ४ दिन पछिसम्म यो भाइरस दादुरा रोगीबाट अर्को व्यक्तिमा सर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

  • के हो रुबेला रोग ?

रुबेला रोग आरएनए भाइरस (Togavirus)बाट लाग्ने सङ्क्रामक रोग हो । निर्देशिका अनुसार यो भाइरसबाट सङ्क्रमण हुँदा दादुरामा जस्तै शरीरमा राता बिमिरा देखा पर्न सक्छन् र हल्का ज्वरो आउन सक्छ । यो रोग बालबालिका र वयस्कमा देखा पर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

यदि गर्भावस्थाको पहिलो तीन महिनामा महिलालाई रुबेला सङ्क्रमण भएमा ती महिलाबाट जन्मिने शिशु विभिन्न प्रकारका जन्मजात विकृति भएर जन्मिने, गर्भपतन हुने वा मृत बच्चा जन्मिन सक्ने जनाइएको छ, जसलाई कन्जेनिटल रुबेला सिनड्रोम भनिन्छ ।

  • रोग सर्ने तरिका

रुबेला रोग लागेको व्यक्तिको श्वास प्रश्वासबाट (जस्तै– खोक्दा, हाच्छिउँ गर्दा) यो रोगको भाइरस अर्को व्यक्तिमा सर्न सक्छ । रुबेला रोगका भाइरसहरू नाक र घाँटीमा वृद्धि हुन्छन् र शरीरको अन्य भागमा सर्दछन् । शरीरमा बिमिरा देखापर्नु भन्दा ७ दिन अगाडिदेखि बिमिरा देखिएको ५ दिनसम्म यो रोगका भाइरस अन्य व्यक्तिमा सर्न सक्छन् । कन्जेनिटल रुबेला सिनड्रोम भएर जन्मेको बच्चाले १२ महिनाको उमेरसम्म यो भाइरस अरूलाई सार्न सक्ने निर्देशिकामा उल्लेख छ ।

  • दादुरा र रुबेला रोगको उपचार के छ ?

दादुरा र रुबेला रोगको हालसम्म निश्चित औषधि उपचार छैन । जटिलताको कारणबाट मृत्यु पनि हुनसक्ने भएकाले यी रोगको उपचार यसका लक्षण वा जटिलता अनुसार गर्नुपर्ने चिकित्सकले सुझाएका छन् ।

तोकिएको उमेरमा दादुरा र रुबेला रोग विरुद्धको खोप दिनु नै यो रोगबाट बच्ने एकमात्र प्रभावकारी एवं भरपर्दो उपाय रहेको उनीहरूको भनाइ छ । यी रोगविरुद्ध दिइने खोप नियमित खोप सेवाको माध्यमबाट ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा लगाउनु पर्ने निर्देशिकामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप