सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

संसद् बैठक सञ्चालनको संवैधानिक र कानुनी अधिकार प्रयोगमा किन चुक्दैछिन् उपसभामुख ?

मङ्गलबार, १३ चैत २०८०, १९ : ०५
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । संसद् बैठक ठप्प पारेर सभामुख देवराज घिमिरेसहितको जम्बो टोली विदेश सयरमा छ । यो बेला उपसभामुख इन्दिरा राना प्रतिनिधि सभा बैठक सञ्चालन गर्न पाउने संवैधानिक र कानुनी अधिकार कार्यान्वयनमा चुकेकी छिन् ।

संविधानको धारा ९१ को उपधारा ४ मा सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यवस्था छ ।  यस्तै प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ४ मा उपसभामुखले सभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न सक्ने प्रावधान छ । 

तर, १० दिनसम्म बैठक ठप्प पारेर सभामुख विदेश सयरमा रहेको बेला उपसभामुख रानामगरले भने बैठक सञ्चालनमा पटक्कै चासो दिएकी छैनन् । यसले संसद्को कामकारबाही अलपत्र परेको छ । 

बैठक चलाउने संवैधानिक र कानुनी अधिकार रहेको पूर्ण जानकारी उपसभामुखलाई छ । ती अधिकार प्रयोगतर्फ लाग्नुको साटो उनी ‘सभामुखज्यू बाहिर गएको बेलामा र सभा सञ्चालनमा अप्ठेरो परेको बेलामा उपसभामुखले बैठक चलाउन सक्ने व्यवस्था त छ, उहाँ (सभामुख) फर्केर आउनु भएपछि कुरा राख्नुपर्ला’ भनेर दायित्वबाट पन्छिन खोजिन् ।

के भन्छिन् उपसभामुख ?

रानाले संविधान र नियमावलीमा सभामुखको अनुपस्थितिमा उपसभामुखले सदन सञ्चालन गर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताइन । यसबारे कुरा गरे पनि सुनुवाइ नभएको उनको दाबी छ ।

‘सभामुखज्यू बाहिर गएको बेलामा र सभा सञ्चालनमा अप्ठेरो परेको बेलामा उपसभामुखले बैठक चलाउन सक्ने व्यवस्था त छ । उहाँ फर्केर आउनुभएपछि कुरा राख्नुपर्ला । पहिला पनि मैले अप्रत्यक्ष रूपमा यो कुरा त राखेको हो । सचेतकहरूलाई पनि मैले यो कुरा भनेको हो, उहाँहरूले पनि मतलब राख्नुभएन’ उनले रातोपाटीसँग भनिन् ।

‘प्रतिनिधि सभा व्यक्तिका लागि हैन राष्ट्रको भलाइका लागि हो । सभामुख नभएको बेलामा उपसभामुखले संसद् चलाउन सक्ने व्यवस्था नेतृत्वकर्ताले बुझ्नुपर्ने हो’ उनले भनिन् ।

एमाले सचेतक बराल भन्छिन्– उपसभामुखले बैठक चलाउने अभ्यास गर्न आवश्यक छ

एमाले सचेतक सुनिता बराल सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक चलाउने अभ्यास जरुरी ठान्छिन् ।

‘सभामुख नभएको बेला उपसभामुखले हाउस चलाउने अभ्यास ग¥यो भने राम्रो हुन्छ । तर हाम्रो कहाँनिर त्रुटि छ भने सदन चलाउन सुरु गर्ने र अन्त्य गर्ने बेलामा सभामुखको अनिवार्य उपस्थिति हुनुपर्ने भनिएको छ । संसद्ले उपसभामुख भएको नै परिकल्पना नगरेको हो कि ? भन्ने देखिएको छ’ उनले रातोपाटीसित भनिन् ।

संविधानले उपसभामुखको परिकल्पना गरेको र अधिकार पनि दिएकोले प्रयोग गर्दा प्रभावकारी हुने उनको राय छ ।

के छ संविधान र नियमावलीमा व्यवस्था 

नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । सो धाराको उपधारा ४ मा प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछ भन्ने व्यवस्था छ । 

s

यस्तै प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ४ मा पनि उपसभामुखले सभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न सक्ने प्रावधान छ । 

जसमा भनिएको छ–‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ तर सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन वा सभामुखले प्रारम्भ गरेको बैठकको स्थगनको घोषणा गर्नेछ ।’

Baithak Sanchalan

सभामुख विदेश सयरमा, विधेयक अलपत्र 

प्रतिनिधि सभाको बैठक १० दिन बन्द गरेर सभामुख घिमिरे यतिबेला स्विट्जरल्याण्डको जेनेभामा छन् । संसद्को हिउँदे अधिवेशनमा सम्पन्न गर्नुपर्ने कानुन निर्माण लगायतका जिम्मेवारी छोडेर विदेश भ्रमणमा गएपछि उनको आलोचना भइरहेको छ ।

विभिन्न दलका प्रमुख सचेतक, संसद्का महासचिव लगायत १० सदस्यीय टोलीको नेतृत्व गर्दै यही चैत ८ गते जेनेभा प्रस्थान हुन । घिमिरे नेतृत्वको टोली जेनेभामा जारी अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १ सय ४८औँ महासभामा सहभागी भइरहेको छ । 

जनआवाज बुलन्द गर्ने र कानुन निर्माणको महत्त्वपूर्ण समय मानिने संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने दायित्व बिर्सेर लामो समय विदेश भ्रमणमा सभामुख रमाएकोमा सङ्घीय संसद्का एक पूर्व उच्च अधिकारी पनि आश्चर्यचकित छन् ।

उनले यस्तो बेला उपसभामुखले बैठक सञ्चालन गर्ने व्यवस्था पालना हुनुपर्नेमा जोड दिए ।

उनले भने–‘सभामुख जस्तो पदाधिकारी दशौं दिनसम्म सदन बन्द गरेर विदेश जानु उचित होइन, गैरजिम्मेवार आचरण हो । जिम्मेवारीले उनलाई लामो छुट्टी दिँदैन । विश्वका अरु देशको अनुभव हेर्ने हो भने पनि सभामुख सायदै यति लामो भ्रमणमा निस्कन्छन् ।’

अघिल्लो वर्ष निर्वाचनपछि बनेको प्रतिनिधि सभामा दर्ता भएका १४ वटा विधेयकमाथि कार्यवाहीको कार्य प्रगति कमजोर रहेको छ । अर्कोतिर प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसद् बैठकमा अवरोध गर्दै आएको छ । विधेयकहरूलाई अगाडि बढाउन, सदन सुचारु गर्न पहल गर्नुपर्ने अवस्थामा सभामुख लामो समय विदेश यात्रा गएपछि उनको आलोचना भएको हो ।  

घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमणमा गएका छन् । 

यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासे भ्रमण टोलीमा छन् । उनीहरू यही चैत १६ गते स्वदेश फर्किने कार्यक्रम छ । 

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप