आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

चैत मसान्तसम्म सबै स्थानीय तहमा पाठ्यपुस्तक पुर्‍याउन कति सम्भव ?

३६ लाख ७६ हजारभन्दा बढी पाठ्यपुस्तक छाप्न बाँकी
बुधबार, १४ चैत २०८०, ०६ : ५२
बुधबार, १४ चैत २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तसम्म देशभरका स्थानीय तहमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएको छ । शिक्षा सचिव सुरेश अधिकारीले जनक शिक्षा सामग्री केन्द्रलाई चैत मसान्तसम्म सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएका हुन् ।

कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तक वैशाख २ गतेबाट विद्यार्थीको हातमा पुग्नुपर्ने भन्दै समयमै पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर चैत मसान्तसम्म स्थानीय तहसम्म पाठ्यपुस्तक ढुवानी गरिसक्न सचिव अधिकारीले निर्देशन दिएका हुन् ।

जनक शिक्षा सामग्री केन्द्रले चैत मसान्तसम्म पाठ्यपुस्तक स्थानीय तहसम्म पुर्याइसक्ने गरी तयारी थालेको छ । मङ्गलबारदेखि देशैभर ढुवानीको कार्य थालिएको र चैत २८ गतेभित्र पाठ्यपुस्तक सम्बन्धित स्थानीय तहसम्म पुर्याइसक्ने गरी केन्द्रले कार्ययोजना बनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक इन्जिनियर अनिल कुमार झाले चैत १३ गतेदेखि देशभरका ९ वटै डिपोबाट पाठ्यपुस्तक बिक्रीको कार्य सुरू भएको बताए । यसअघि चैत ९ देखि नै नेपालगञ्ज र सुर्खेत डिपोबाट विभिन्न जिल्लामा पाठ्यपुस्तक बिक्री थालिएको थियो । ९ गतेदेखि नै हुम्ला, डोल्पा, अछाम, बाजुरा जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण थालिएको झाले बताए ।

केन्द्रका ९ वटा डिपोबाट पाठ्यपुस्तक बिक्री वितरणको कार्य थालेपछि बिक्रेताहरूले सम्बन्धित जिल्लासम्म पाठ्यपुस्तक पुर्याउनेछन् ।

शिक्षा मन्त्रालयको चैत १२ गतेसम्मको तथ्याङ्क अनुसार कक्षा १ देखि १० सम्म दुई करोड २६ लाख ६८ हजार ७३९ थान पुस्तक छापिएका छन् । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको काम नीजि प्रकाशन गृहले गर्दै आएका छन् । कक्षा १ देखि ४ सम्म ७१ लाख ३२ हजार १९४ थान पुस्तक छपाइको काम सकिएको छ ।

त्यस्तै कक्षा ५ देखि १० सम्मका एक करोड ५५ लाख ३६ हजार ५४५ थान पुस्तक छपाइको काम सकिएको छ । अबको १७ दिनमा ३७ लाख ७६ हजार ६१ थान पुस्तक छपाउनुपर्ने छ । कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ ।

book data

तत्कालीन शिक्षा मन्त्री शिशिर खनालले चालु शैक्षिक सत्रको सुरुमै सबै स्थानीय तहमा पाठ्यपुस्तक पुर्याउन सफल भएका थिए । त्यसअघि कतिपय स्थानीय तहमा शैक्षिक सत्रको मध्यसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको हुँदैनथ्यो ।

यस वर्ष पाठ्यपुस्तक छपाइको अवस्था बुझ्न शिक्षा मन्त्री सुमना श्रेष्ठले गत बिहीबार केन्द्रको अनुगमन गरेकी थिइन् । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले समयमै पाठ्यपुस्तक छपाइको कार्य सक्न निर्देशन दिएकी थिइन् ।

नयाँ शैक्षिक सत्र सुरू हुन १९ दिन बाँकी रहेका बेला केन्द्रलाई १९ लाख ४२ हजार ७१५ थान र निजी प्रकाशन गृहलाई १७ लाख ३३ हजार ३४७ थान पाठ्यपुस्तक छाप्नुपर्ने चुनौती थपिएको छ । केन्द्रले दैनिक १ लाख थानभन्दा बढी पाठ्यपुस्तक छाप्दै आएको छ ।

मन्त्री श्रेष्ठले ढुवानी गरेर विद्यार्थीको हातमा बेलैमा पाठ्यपुस्तक पुर्याउन समस्या हुन सक्ने भन्दै २४ सै घण्टा गर्ने गरी दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।

शिक्षा मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य लिएको छ । २०८१ को लागि वैशाख २ गतेदेखि शैक्षिक सत्र सुरू हुँदैछ ।

नयाँ शैक्षिक सत्र सुरू हुन १९ दिन बाँकी रहेका बेला केन्द्रलाई १९ लाख ४२ हजार ७१५ थान र निजी प्रकाशन गृहलाई १७ लाख ३३ हजार ३४७ थान पाठ्यपुस्तक छाप्नुपर्ने चुनौती थपिएको छ । केन्द्रले दैनिक १ लाख थानभन्दा बढी पाठ्यपुस्तक छाप्दै आएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालले दुर्गम क्षेत्रमा पाठ्यपुस्तक पुगिसकेको बताए । दुर्गम क्षेत्रमा पहिला र सुगम क्षेत्रमा बिस्तारै पाठ्यपुस्तक पुर्याउनेगरी काम भइरहेको प्रवक्ता दाहालले बताए ।

विगतमा पूरै सेट पाठ्यपुस्तक नपाउने समस्या देखिएको थियो । यो वर्ष पूरै सेट कितावब विद्यार्थीको हातमा पुग्ने गरी केन्द्रले काम गरिरहेको दाहालले बताए । समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउने विषयमा सरकार सक्रिय भएर लागिरहेको र शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीले पाठ्यपुस्तक पाउने उनको भनाइ छ ।

केन्द्रको कार्यतालिका

पाठ्यपुस्तक बिक्री वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत २८ गतेभित्रमा सबै ठाउँमा पाठ्यपुस्तक पुर्याइसक्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रले मङ्गलबारदेखि विराटनगर, जनकपुर, केन्द्रीय कार्यालय सानोठिमी भक्तपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेको डिपोबाट पाठ्यपुस्तक बिक्री वितरणको कार्य थालेको हो ।

केन्द्रले समयमै पाठ्यपुस्तक छपाइको काम गर्न दुई दर्जन भन्दा बढी मेसिनको प्रयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप