शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बहुराष्ट्रिय कम्पनी युनिलिभरको बदमासी : थप दुई स्थानमा उत्पादनको पुनः प्याकिङ र लेबलिङ

बुधबार, १४ चैत २०८०, १६ : ५१
बुधबार, १४ चैत २०८०

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–३ मा उद्योग खडा गरी सञ्चालित बहुराष्ट्रिय कम्पनी युनिलिभरले अनधिकृत रूपमा थप दुई स्थानबाट उत्पादनको पुनः प्याकिङ र लेबलिङ गरिरहेको फेला परेको छ । केही दिनअघि हेटौँडा–३ को उद्योग परिसर नजिकै उत्पादन पुनः प्याकिङ र लेबल लगाउँदै गरेको फेला परेकामा अन्य २ स्थानमा पनि युनिलिभरले अनधिकृत काम गरिरहेको तथ्य बाहिरिएको हो । 

उद्योगले प्याक गरी लेबल लगाएर बजार पठाउन तयार गरेको आफ्नो उत्पादनलाई अनधिकृत रूपमा उद्योग परिसर बाहिर लगेर पुनः प्याकिङ र लेबलिङ गर्ने गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार उद्योगले हेटौँडा–३ सहित हेटौँडा–११ र हेटौँडा–८ को औद्योगिक क्षेत्रबाट पुनः प्याकिङ र लेबल लगाउने कार्य गर्दै आएको हो ।  युनिलिभरले बजार पठाउन तयार गरिएको टुथपेस्ट (मन्जन), पाउडर तथा साबुन लगायतका सामग्रीलाई ती स्थानहरूमा लगेर लेबल लगाउने र पुनः प्याकिङ गरिरहेको कार्यालयले जनाएको छ ।

हेटौँडा–३ मा मोहन राना मार्फत क्लोजअप र पेप्सुडेन्ट ब्रान्डका टुथपेस्ट (मन्जन), हेटौँडा–११ मा विष्णु खनालको ओमकार सोप उद्योगबाट पोन्डस् ब्रान्डका अनुहारमा लगाउने पाउडर र क्लियर ब्राण्डका कपालमा लगाउने तेल हेटौँडा–८ मा न्यू भीम ब्रान्डका भाडा धुने र कपडा धुने साबुनहरू पुनः प्याकिङ गरी लेबल लगाउने गरेको हो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँका अनुसार उद्योगले सम्बन्धित व्यक्तिका संस्थाहरूसँग करार सम्झौता गरी पुनः प्याकिङ र लेबल लगाउने गरेको पाइएको छ । उद्योगले सम्बन्धित संस्थालाई गणना गरेर कागजसहित पुनः प्याकिङ र लेबल लगाउन लगाएको उनको भनाई छ । सो विषयमा उद्योगसँग लिखित रूपमा विवरण माग गरेको र सो पश्चात् थप अनुसन्धान अघि बढाउने उनले बताए ।

गत चैत ६ मा युनिलिभरको उद्योग परिसर बाहिर टुथपेस्ट (दन्त मन्जन)का २ वटा ब्रान्ड (पेप्सोडेन्ट र क्लोजअप)का उत्पादन स्थानीय एक व्यवसायीको गोदाममा लगेर नयाँ प्याकेटमा प्याक गर्ने र सिल गर्ने काम भइरहेको पाइएको थियो ।

चलाखी गर्दै युनिलिभर

उद्योगबाट उत्पादित वस्तुको मूल्य फेरबदल भएकाले पुनःप्याकिङ र लेबल लगाउन करार सम्झौता गरी काम गरिएको बताउँदै आएको छ । युनिलिभरले उत्पादित सामग्रीको मूल्य कम गरी उपभोक्तालाई स्पष्ट बनाउन पुनःप्याकिङ र लेबल लगाइएको जनाएको छ ।

 

उद्योग परिसरमा बायो सेक्युरिटी अपनाउने र उत्पादनको भण्डारणमा ठुलो मूल्य र कर्मचारी खर्चने युनिलिभर सामान्य ट्रस्टको भवनबाट पुनःप्याकिङ र लेबल लगाइरहेको छ भन्ने विषय भने रहस्यमय छ । सोही रहस्यका बिच उद्योगले आफ्ना सामग्रीहरूलाई सुरक्षित गर्न चलाखीपूर्वक काम गरिरहेको प्रशासनको बुझाइ छ । तर यही बिचमा  प्रशासकीय कर्मचारी, प्राविधिक र वकिल सहित प्रशासन कार्यालय पुगेर प्रशासकहरूलाई सो सामग्री उपयोगहीन नभएको पुष्टि गर्ने प्रयत्न युनिलिभरको जारी छ ।

गत चैत ६ मा फेला परिएको युनिलिभरको अनधिकृत काम गर्ने कम्पनी र सम्झौता समेत परिवर्तन गरिएको छ । अनुगमनका क्रममा युनिलिभरले गरेको सम्झौता पत्र प्याकिङ भइरहेको स्थानमा माग गर्दा ती संस्थाका सञ्चालकले उद्योगसँग नै पत्र रहेको जानकारी गराएका थिए ।

अनुगमनका क्रममा हेटौँडा–३ मा रहेको टिडी इन्जिनियरिङ कम्पनीका सञ्चालक मोहन रानाको भने सम्झौता नै फरक पेश भएको छ । संस्थाका सञ्चालन रानाले इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरी हस्तलिखित कागजमा टिपोट गरी उत्पादनहरू युनिलिभरले पठाउने गरेको बताएका थिए । सो पश्चात् सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले जिल्ला प्रशासनमा ७ गते कागजपत्र सहित हाजिर हुन निर्देशन गरेपनि सो दिन युनिलिभर र सो कम्पनीका सञ्चालन उपस्थित भएका थिएनन् ।

केही दिन पछि हाजिर भएका युनिलिभरका प्रतिनिधि र रानाले टिडी सपोर्ट सप्लार्यस प्रालिको कागज पत्र पेस गरेका थिए । इन्जिनियरिङबाट सप्लायर्स कम्पनीको पत्र र सम्झौता गरिएको कागज पेस गरेको युनिलिभरले प्याकिङ गर्ने उद्देश्य नै नभएको संस्थालाई काम लगाइरहेको छ । सप्लार्यसको उद्देश्यहरूमा श्रमिकहरू सप्लाई गर्ने भनिएको छ । युनिलिभरले चलाखीपूर्वक उद्योगमा श्रमिकहरू सप्लाई गर्ने सप्लार्यससँग सम्झौता गरी प्याकिङको काम गराएको पत्र पेस गरेको हो । सो सप्लायर्सको उद्देश्य युनिलिभर लगायतका उद्योगमा ठेकेदारी सिस्टमबाट श्रमिक पठाउने हो ।

युनिलिभरले अन्य २ संस्थासँग कुन प्रकृतिको करार सम्झौता गरेको छ भन्ने खुल्न सकेको छैन । त्यसो त युनिलिभरको हरेका सम्झौता तथा आधिकारिक पत्रमा नेपालका निर्देशकले हस्ताक्षर गर्ने गरेका छन् । तर, उक्त संस्थाहरूको पत्रमा भने उद्योगको प्रतिनिधिको हस्ताक्षरबाट काम गराइएको छ ।

यसैबिच कम्पनीले प्रभावमा सामान छुटाउने प्रयत्न समेत गरेको पाइएको छ । प्रशासनलाई युनिलिभरको राम्रा पक्ष देखाएर अनधिकृत रूपमा गर्दै आएको कामबाट उन्मुक्ति लिने चलाखी उद्योगका प्रतिनिधिहरूबाट भइरहेको छ ।

अनुगमनका क्रममा फेला परेका सो सामानहरू प्रशासनले रोक्का गरेर राखेको छ । प्रशासनको निर्देशन अनुसार अनुसन्धान चल्दासम्म उत्पादनहरू जुन अवस्थामा फेला परेको हो त्यही अवस्थामा राख्न सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले निर्देशन दिएका थिए । सो पश्चात् युनिलिभरले सो सामग्रीहरू भण्डारणको तापक्रम, तथा अन्य करणले बिग्रिने भन्दै पुनः उद्योगमा फिर्ता लैजान भन्दै आग्रह गरिरहेको छ ।

 बुधवार जिल्ला प्रशासन कार्यालय मकवानपुर युनिलिभरका प्रतिनिधि गोविन्द शाहीले उद्योगको समग्र स्थिति, उत्पादन तथा भण्डारण, सरसफाइ लगायतका विषय अनुगमन गर्न निम्ता समेत गर्न भ्याए । 

शाहीले हात जोड्दै चापागाईँसँग भन्दै थिए, ‘भेटिएका सामानमा कुनै फल्ट छैन । म्याद नाघेका पनि होइनन् । अनुमति प्राप्त ल्याबमा लगेर टेस्ट गरेर हेर्दा पनि हुन्छ । हामीले कानुन अनुसार नै उपभोक्तालाई स्पष्ट पार्न लेबल मिलाएका हौँ । उद्योगसँग उक्त प्रविधिको लेबल लगाउने मेसिन पनि छैन । त्यसैले म्यानुअल्ली गर्नुपरेको हो । स्थानको समस्या भएकाले हामीले ती संस्थाहरूसँग सम्झौता गरेर काम गरेका हौँ । त्यो कमजोरी भयो । प्रक्रिया अघि बढ्दै जान्छ । त्यो सामान उद्योगमा नै फिर्ता लैजान्छु । अनुमति गरिपाऊ ।’

शाहीको आग्रह पछि सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले छलफल र अनुसन्धान पश्चात् आवश्यक प्रक्रिया पुरा गरी निर्णय गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप