सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

बुधबार, १४ चैत २०८०, १६ : ०९
बुधबार, १४ चैत २०८०

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरू आए अनुसारको समस्या नभएको दाबी गरेका हुन् । 

उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । 

‘लोडसेडिङ हुँदैछ रे । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरू आइरहेको छ । त्यो सही होइन । नियमित प्रक्रियामा प्रत्येक वर्ष सरकारले नवीकरण गर्ने प्रक्रियामा हुन्छ । हामी त्यो प्रक्रियामा छौँ’ मन्त्री बस्नेतले भने, ‘त्यो भारत सरकारसँग नवीकरण हुन्छ । प्रक्रियागत रूपमा काम चलिरहेको छ । अहिले बाहिर मिडियामा जस्तो चर्चा र हौवा फैलाएको परिस्थिति छ । त्यो अवस्था होइन ।’ 

उनले बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे । बस्नेतले भारतीय प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको बताए । उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए ।

भारतबाट बिजुली खरिदका लागि हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ । तर पनि नेपालका औद्योगिक क्षेत्रहरूमा विद्युत् कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् । ऊर्जा मन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत् आपूर्तिमा समस्या रहेको स्वीकार गरे । 

उनले गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी पहिरोको कारण जलविद्युत आयोजनाहरूमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको बताए । मन्त्री बस्नेले निजी क्षेत्रले उत्पादन गरेको विद्युत् ढल्केवरबाट इनरुवालाई प्रशारण लाइन जोडेर विराटनगर करिडोरको प्रेसरलाई कम गर्ने प्रयास गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप