शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिकोणात्मक शृङ्खला खेल्न भारत जाने नेपाली क्रिकेट टोलीको बिदाइ

बिहीबार, १५ चैत २०८०, १५ : ३४
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । भारतको घरेलु क्लबसँग त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्ने तयारीमा रहेको नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीलाई बिदाइ गरेको हो । 

भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको पहिलो खेल मार्च ३१ तारिखमा नेपाल र गुजरातबिच खेलिने छ । शृङ्खलामा तेस्रो टोलीको रूपमा बरोडा रहेको छ ।

नेपाली टोलीले जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागेको हो । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यानका सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुंगानालगातयले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरे । 

cricket1

‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको पहिलो खेल मार्च ३१ तारिखमा नेपाल र गुजरातबिच खेलिने छ । दोस्रो खेल अप्रिल १ तारिखमा गुजरात र बरोडाबिच हुनेछ । तेस्रो खेल नेपाल र बरोडाबिच अप्रिल २ तारिखमा खेलिने छ । 

यसैगरी अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अर्को खेल अप्रिल ४ तारिखमा बरोडा र गुजरातबिच खेलिने छ । लिग चरणको अन्तिम खेल अप्रिल ५ तारिखमा नेपाल र बरोडाबिच खेलिने कार्यक्रम रहेको छ । 

त्यसपछि लिग तालिकाको सबैभन्दा माथि रहने दुई टोलीबिच अप्रिल ७ तारिखमा शृङ्खलाको फाइनल खेल खेलिने छ । भारत प्रस्तान गर्नुअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ टोलीसँग दुईवटा टी-२० खेलको शृङ्खला खेलेको थियो । शृङ्खलामा नेपाल २-० ले विजयी भएको थियो ।

भारत भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द रहेका छन् । 

नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् । आईसीसी टी-२० विश्वकपका लागि भने नेपालले हालसम्म टोलीको घोषणा गरेको छैन । 

गुजरात र बरोडा दुवै भारतको घरेलु क्रिकेटका बलिया टोली हुन् । यी दुवै टोलीले भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्छन् । यी टोलीले भारतको घरेलु प्रतियोगिता विजय हजारे ट्रफी र सैयद मुस्ताक अली ट्रफीमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । 

विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामध्येको एक नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो । बरोडा पनि गुजरातकै क्रिकेट टोली हो । बरोडाको घरेलु मैदान भने मोती बाग स्टेडियम हो । बरोडा क्रिकेट सङ्घले यो क्लबको व्यवस्थापन हेर्ने गर्छ । 

malti

गुजरात र बरोडा दुवै भारतको घरेलु क्रिकेटका प्रभावशाली क्लब हुन् । यी दुवै क्लबले भारतको राष्ट्रिय टोलीलाई थुप्रै चर्चित खेलाडी दिइसकेका छन् । विनु मानकद, अक्सर पटेल, पार्थिव पटेल, मनप्रित जुनेजा, जासु पटेल, दीपक सोधन, जसप्रित बुमराह, पियुष चावलाजस्ता आफ्नो समयका प्रभावशाली खेलाडी गुजरातका उत्पादन हुन् ।

यसैगरी भारतीय क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अंशुमन गायकवाड, विजय हजारे, नयन मोंगिया, किरण मोरे, युसुफ पठान, इरफान पठान, मुनफ पटेल, जहिर खान, हार्दिक पाण्डेया, कुणर्ाल पाण्डेया, अम्बाटी रायडु, पिनल शाहजस्ता प्रभावशाली खेलाडी बरोडाका उत्पादन हुन् ।

हाल गुजराज टोलीमा आर्या देसाई, प्रियंक पंचाल, मानन हिंगराजिया, क्षितिज पटेल, उमंग कुमार, उर्भिल पटेल, रिपल पटेल, चिन्तन गाजा, रवी बिस्नोई, प्रियजितसिंह जडेजा, अर्जन नगवसवल्ला, चिराग गान्धी, सौरभ चौहान, सनप्रित बग्गा, कथन पटेल, अक्सर पटेल, सिद्धार्थ देसाई, पियुष चावला, विशाल जैसवाल, हार्दिक पटेल र जसप्रित बुमराहलगायतका खेलाडी आबद्ध छन् ।

यसैगरी हाल बरोडाको टोलीमा ज्योत्सनिल सिंह, साश्वत रावत, प्रत्युष कुमार, शिवालिक शर्मा, भानु पनिया, किनित पटेल, हर्ष देसाई, अभिमन्यु राजपुत, कुर्नाल पाण्डेया, ध्रुव पटेल, हार्दिक पाण्डेया, विष्णु सोलान्की, मितेस पटेल, अनन्त भरवाद, निनद राथव, महेश पिथिया, भार्गव भट्ट, कार्तिक ककाडे, लुकम्यान मेरिवाला, अतित सेठ, बाबासफी पठान, सोएब सोपारियालगायतका खेलाडी छन् ।

हाल भारतमा विश्व चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेकाले नेपालविरुद्धको शृङ्खलामा भारतीय क्लब चर्चित अनुहार सहभागी हुने सम्भावना भने देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप