शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : उपाधि एमेच्योर खेलाडी सदभावको पोल्टामा

बिहीबार, १५ चैत २०८०, १७ : २३
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरले हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर–२०२३–२४ अन्तर्गतको छैटौँ प्रतियोगिता ‘सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप’ को उपाधि जितेका छन् ।

अन्तिम दिन बिहीबार तीन अन्डर ६९ को प्रदर्शनसहित समग्रमा १४ अन्डर दुई सय ७४ स्कोर बनाउँदै सदभावले उपाधि उचालेका हुन् । उनले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाएका हुन् । 

यो सिजन सदभावले जितेको यो दोस्रो महत्वपूणर् उपाधि पनि हो । जारी सिजन दुई उपाधि जित्ने उनी एकमात्र खेलाडी हुन् । यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि चुमेका थिए । 

अन्तिम १८ होलको सुरूआतमा प्रो भुवन र सदभावबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि भुवनले तीन ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा सात अन्डर दुई सय ८१ स्कोरसहित भुवन दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै एक लाख ४० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भए ।

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ र प्रो निरज तामाङले संयुक्त रुपमा तेस्रो स्थान बाँडे । उनीहरूले समग्रमा चार अन्डर दुई सय ८४ मा खेल टुंग्याए । बिहीबार विजयले एक अन्डर ७१ र निरजले दुई अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा इभन पार दुई सय ८८ मा खेल टुंग्याएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले बिहीबार तीन ओभर ७५ मा खेल टुंग्याए । तेस्रो भएका उनले ७२ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । समग्रमा चार ओभर दुई सय ९२ स्कोरसहित सञ्जय लामा र धनबहादुर थापाले प्रोतर्फ संयुक्त रुपमा चौथो स्थान बाँडे । 

सञ्जयले दुई ओभर ७४ र धनले एक अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । रवि खड्काले बिहीबार दुई ओभर ७४ को स्कोर गरे । उनले समग्रमा पाँच ओभर दुई सय ९३ स्कोरसहित छैटौं स्थानमा प्रतियोगिता टुंग्याए । 

छैटौँ भएका उनले ४२ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । समग्रमा सात ओभर दुई सय ९४ सहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्त रुपमा सातौँ स्थान बाँडे । दुवैले बिहीबार दुई ओभर ७४ मा खेल टुंग्याए । उनीहरूले जनही ३७ हजार दुई सय ५० रुपैयाँ नगद पुरस्कार हात पारे ।

यसैगरी धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११ ओभर दुई सय ९९ स्कोरसहित नवौँ स्थान बाँड्दा जनही ३२ हजार रुपैयाँ नगद पुरुकार हात पारे । युवराजले बिहीबार आठ ओभर ८० र बलभद्रले चार ओभर ७६ मा खेल टुंग्याए ।  कुल आठ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप