शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन

शुक्रबार, १६ चैत २०८०, ०७ : ४४
शुक्रबार, १६ चैत २०८०

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारीमा देखिएका समस्याहरू समाधानका लागि यथाशीघ्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन गरेका छन् । बिहीबार मन्त्री पदमा शपथ ग्रहण पछि पदभार ग्रहण गर्दै मन्त्री बज्राचार्यले प्रदेशमा रहेका सहकारीहरूमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक अध्ययन गरी कार्ययोजना तयार पार्ने र सो कार्ययोजनाको साथ कार्यान्वयनमा अधि बढ्न निर्देशन दिएका हुन् ।

प्रदेशका ऐतिहासिक र सांस्कृतिक धरोहरहरूको उजागर गर्दै पर्यटन प्रवर्द्धनको लागि मन्त्रालयले छुट्टै संयन्त्र बनाएर अघि बढ्ने भएको छ । सो संयन्त्रका लागि आवश्यक नीति कानुन र संरचनाहरूको व्यवस्थापन लागि मन्त्रालयका कर्मचारीहरूलाई उनले निर्देशन दिएका छन् ।

मन्त्री बज्राचार्यले प्रदेश सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयनका लागि आवश्यक पूर्वधार तयार गर्न निर्देशन दिएका छन् । भाषा साहित्य र संस्कृति संरक्षणका क्षेत्र महत्त्वपूर्ण मानिएको उक्त ऐनले प्रदेशको पहिचानसमेत स्थापित गर्न सक्ने भएकाले आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयनमा जान संरचनागत पूर्वाधारहरू तयार गर्न निर्देशन दिएका हुन् ।

उनका अनुसार सहकारी क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान रहने भएकाले नागरिकहरूको सहकारी प्रतिको विश्वास कायम राख्न पहल गर्ने र समस्या ग्रस्त सहकारीमा देखिएका समस्याहरू हल गर्दै नागरिकहरूमा परेका कष्टलाई न्यून गर्ने काम मन्त्रालयले गर्नेछ । प्रदेशको अर्थ क्षेत्र र राजस्वमा ठुलो हिस्सा ओगट्ने हस्तकला क्षेत्रको विकासका लागि राजनीतिक सहमति अनुसार उद्योग मन्त्रालय आफू मातहत ल्याएर आवश्यक प्रक्रिया अघि बढाउने र संसदीय समितिमा छलफलको क्रममा रहेको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयकलाई पारित गरी कार्यान्वयनमा अघि बढ्ने उनले बताए ।

राजनीतिक रूपमा सरकारको निर्णायक भूमिकामा हाम्रो नेपाली पार्टी देखिएका बखत आफूले ठुला मन्त्रालय लिन सक्ने भएपनि त्यसतर्फ खासै चासो नदेखाएको उनको भनाई छ । विषय र क्षेत्रगत संलग्नताका आधारमा उद्योग पर्यटन सहकारी अन्तर्गत काम गर्न संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप