शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ

शुक्रबार, १६ चैत २०८०, २१ : ०१
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी छन् । 

यसअघि १४ गते पार्टीले सरकार छाड्न दिएको निर्देशन पालना नभएपछि उनले दोस्रो पटक लिखित निर्देशन दिएकी हुन् । पार्टीको निर्देशन आफूले पाएको स्वीकार गर्दै नाउपा सुदूरपश्चिम संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री चौधरीले सरकारबाट नहट्ने बताएका छन् । 

नाउपाका संस्थापक नेता रेशम चौधरी बाहिर रहेकाले उहाँसहितको निर्णय आफूलाई मान्य हुने बताएका छन् । यसै विषयमा रातोपाटीका सहकर्मी गणेश पाण्डेले नेता चौधरीसँग संक्षिप्त कुराकानी गरेका छन्:

शुक्रबार पार्टी अध्यक्षले सरकारबाट फिर्ता हुन लिखित निर्देशन तपाईँलाई पठाएको भनिएको छ, यसमा के छ प्रतिक्रिया ? 

लिखित निर्देशन आइसक्यो । हाम्रो समर्थन कायम छ । 

तपाईँलाई मुख्यमन्त्री बनाउने अफर आएको भन्ने छ नि ? 

हैन, हैन त्यस्तो केही छैन । त्यो विषयमा पार्टीमा छलफल नै भएको छैन । 

निर्देशन नमान्दा पार्टीले कारबाही गर्ला नि ? 

कारबाही गर्ने वा नगर्ने पार्टीको निर्णय हो । अहिले फिर्ताको आयो । पछि कारबाहीको पनि कुरा आउला । के–के आउँछ ठिकै छ, के गर्ने त ? 

सङ्घमा एउटालाई प्रदेशमा अर्कोलाई समर्थन गर्दा समस्या आउला नि त ? 

पहिला हामी वर्तमान सरकारमै थियौँ । अहिले पनि यही सरकारमा छौँ । कुनै नयाँ गरेका छैनौँ । खाली मन्त्रिपरिषद् विस्तार गरेका हौँ । पहिला एमाले–माओवादीको सरकार हुँदा नाउपाको समर्थन नपाएर नै ढलेको हो । पछि कांग्रेस र माओवादीको सरकार बने । त्यो सरकारमा सहभागी हुँदै गर्दा हाम्रो मुद्दा थिए । केही मुद्दा सम्बोधन भए । अहिले पनि यही सरकारमा सहभागी छौँ । हाम्रो पार्टीको ब्राण्ड रेशम चौधरी हुन् । कार्यकारी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठ चौधरी हुनुहुन्छ । हामीले पार्टीको निर्देशन नमान्ने कुरा हुँदै हुन्न । यो संसारमा कुनै ठाउँमा त्यस्तो हुँदैन । हामी मान्छौँ । तर पार्टीका संरक्षक रेशम चौधरी अहिले बाहिर हुनुहुन्छ । उहाँ बाहिर भएको बेला जबरजस्ती केन्द्रीय समितिको बैठक बसाल्ने गरेको हामीले पाइराखेका छौँ । हाम्रो आपत्ति त्यहाँनिर मात्र हो । संरक्षक आइसकेपछि केन्द्रीय समिति बैठक बोलाएर सरकारबाट फिर्ता बोलाउँदा हामी फिर्ता हुन्छौँ । सरकारमा बस भन्दा सरकारमा बस्छौँ । त्यसको कुनै विवाद छैन । 

त्यसो भए संरक्षक रेशम चौधरीले तपाईँलाई सरकार नछाड्नोस् भन्नुभएको छ हो ? 

मलाई लाग्छ चैत १४ गतेको निर्णयले पनि सरकारबाट फिर्ता बोलाएको छैन । त्यो समितिले निर्णय नगरी अध्यक्षले हामीलाई पत्र पठाउनुभएको छ । त्यो पत्रको औचित्य के हुन्छ ? यसमा डिफेन्स गर्न खोजिएको होइन । अध्यक्षप्रति हाम्रो आपत्ति केही छैन । तर एउटा संरक्षक जसले विधानदेखि पार्टी निर्माणसम्म भूमिका खेलेका छन्, उहाँ आइसकेपछि सहमतिमा निर्णय गरे हामी मान्छौँ । 

अल्पमतको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न मिल्छ ? 

मुख्यमन्त्रीले विश्वासको मत पाउने वा नपाउने संविधानअनुसार ३० दिनभित्र हुन्छ । त्यो ३० दिनको म्याद २२ गते सकिँदै छ । त्यसदिन मुख्यमन्त्रीले विश्वासको मत पाएन भने सबैलाई मान्य हुन्छ । संवैधानिक रूपमा सरकार ढल्छ । त्यसको विवाद गर्नु पर्दैन । त्यसपछि अर्को सरकार बन्ने हो । 

नाउपाको ७ जना सांसद छन् । कांग्रेसको १८ जना सांसद छन् । स्वतन्त्रले पनि पहिला विश्वासको मत दिएको हो । अहिले पनि कायमै छ । बाँकी राप्रपाको कुरा आयो । उहाँहरू कतैपनि नयाँ गठबन्धनमा सहभागी छैन । त्यो नभएपछि विश्वासको वातावरण बनेको देखिन्छ । त्यो हिसाबले पनि मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको होला । 

तर उहाँले विश्वासको मत लिइसक्नुभएको छैन नि ? विश्वासको मत पाउनुहुन्छ भन्ने आधार के छ ? 

३० दिन त बाँकी छ नि । केन्द्रमा प्रधानमन्त्री प्रचण्डले विनाविभागीय मन्त्री बनाएको होइन ? सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् विस्तार गर्नुअघि विश्वासको मत लिनुभयो ? त्यसपछि विश्वासको मत पाउने वा नपाउने ३० दिनभित्र थाहा भइहाल्छ । 

त्यसो भए तपाईँले तत्काल सरकार छाड्नुहुन्छ कि हुँदैन ? 

सरकार छाड्ने वा नछाड्ने ठुलो विषय होइन । पार्टीको कुरा हुन्छ । त्यो हाम्रो आन्तरिक कुरा छँदै छ । त्यो विषयमा आन्तरिक छलफल भइरहेकै छ । संरक्षक रेशम चौधारी अहिले जापानमा हुनुहुन्छ । उहाँ फर्किएपछि सबै टुङ्गो लाग्छ । 

तपाईँलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ नि ? 

यो विषयमा म अन्जान छु । मेरो कोही कसैसँग केही कुरा भएको छैन । पार्टीमा पनि कुनै निर्णय भएको छैन । 

मुख्यमन्त्री नाउपाले पाएको खण्डमा संसदीय दलको नेता जो छ उसैले मुख्यमन्त्री पाउने होला नि ? 

यस विषयमा अहिलेसम्म कुनै जानकारी मैले पाएको छैन । नयाँ समीकरणको सरकार बन्दै गर्दा एमाले, माओवादीका साथीहरू पनि हुन्छन् । एकीकृत समाजवादीका पनि हुन्छन् । उहाँहरूको पनि  केही न केही मागहरू होलान् नि ? नाउपाको मात्र हुँदैन होला नि ? आलोपालोले केही हुने वाला छैन । यो आलोपालोले नै देश बिगारेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप