सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती सरकारमा एमालेको ‘इन्ट्री’ कहिले ?

शनिबार, १७ चैत २०८०, ०६ : २८
शनिबार, १७ चैत २०८०

मकवानपुर । सत्ता समीकरण पछि बागमती प्रदेश सरकारमा दलहरू सहभागी गराउने क्रम चलिरहेको छ । बिहीबार हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर सत्ता सुरक्षित गरेका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नेकपा एमालेलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

सत्ता समीकरणमा निर्णायक मानिएको हाम्रो नेपाली पार्टीलाई ५ बुँदे सहमति सहित सरकारमा सहभागी गराएका मुख्यमन्त्री जमरकट्टेलले एमालेलाई पनि मन्त्री सहभागी गराउन प्रयत्न गरेका थिए । तर, एमालेले तत्काल सरकारमा जाने मनस्थिति बनाएन र मन्त्री पठाएन । एमालेले अङ्क गणितीय हिसाबले सत्ता साझेदार दल बने पनि विश्वासको मत दिएपछि मात्र सरकारमा सहभागी हुने रणनीति बनाएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलको प्रयत्नका बिच एमालेबाट एकालाल श्रेष्ठलाई बिहीबार नै शपथ गराउने चर्चा थिए । तर, एमालेले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने बताएपछि सो कार्यले सफलता पाउन सकेन । केही आन्तरिक छलफल र तयारी नपुगेको भन्दै एमाले बिहीबार सरकारमा सहभागी नभएको सत्तारुढ दलका एक सांसदले जानकारी दिए । मन्त्रालय भागबन्डा, पावर सेयरिङ्ग र पार्टीको छलफल नपुगेका कारण एमाले सरकारमा सहभागी नभएको उनले बताए ।

एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिएपछि मात्र एमाले बागमती प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको बताए । तत्काल नै सरकारमा सहभागी हुने र सरकार विस्तारको कार्यक्रमको योजना नहरेको उनले बताए । १९ गते मुख्यमन्त्री जम्कट्टेललेको विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने विषयमा निर्णय हुने उनको भनाई छ ।

प्रदेश सरकारका सत्ता साझेदार दलहरू बिच मन्त्रालय र विषयगत समिति लगायतका विषयमा छलफल गरी टुंग्याएसंगै सरकार विस्तार गरी एमाले सरकारमा सहभागी हुने उनले बताए । सत्ता समीकरण पछि प्रदेश सरकार माथिको संकट टार्न र सरकारलाई बहुमत पु¥याउने तर्फ ध्यान दिँदा सरकारमा सहभागी हुने विषयमा छलफल हुन नसकेको उनले बताए ।

‘बदलिएको राजनीतिक परिस्थितिमा सरकारलाई बहुमत जुटाउने प्रयत्न पहिलो थियो । हामीले त्यसलाई नै प्राथमिकतामा राख्यौ । हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भयसँगै बहुमतको ग्यारेन्टी भएको छ ।’ उनले भने, ‘आन्तरिक छलफल र तयारी नभएकाले एमाले अहिले नै सरकारमा सहभागी नभएको हो । मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिएसँग हामी सरकारमा सहभागी हुन्छौ । मन्त्रालयको सङ्ख्या, संसदीय समितिको सभापति लगायतका विषयमा छलफल हुन सकेको छैन । अब सरकार विस्तार हुँदा ती विषयहरू पनि टुङ्ग्याएर अघि बढ्छौ ।’

उनका अनुसार विश्वासको मत लिए लगत्तै २÷३ दिनमा नै सरकार र संसदीय समितिको विषयले पूर्णता पाउने छ । सरकारमा सहभागी हुँदा विगतका विषयहरूलाई पनि मूल्याङ्कन गरी एमालेले मन्त्री छनौट गर्ने उनको भनाई छ । केन्द्रीय तहमा छलफल गरी मन्त्री चयनका विषयमा निर्णय गरिने उनले बताए । बागमती प्रदेशको १२ मन्त्रालयलाई ११ वाट कायम गर्ने गरी सत्ता गठबन्धन दलहरू बिच सहमति भएकाले सो विषय पनि छलफल गरी टुङ्ग्याउने पौडेलले बताए ।

बागमती प्रदेशका १२ मन्त्रालय मध्ये ५ मन्त्रालय अझै पनि मन्त्री विहीन अवस्थामा रहेको छ भने सो मन्त्रालयको कार्यभार मुख्यमन्त्री मातहत नै रहेको छ । ३ मन्त्रालयमा माओवादी केन्द्रका मन्त्री रहेका छन् भने २ मा एकीकृत समाजवादी र १ मा हाम्रो नेपाली पार्टीले नेतृत्व गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप