बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘एक दिन माओवादी एक भएरै छाड्छ’

शनिबार, १७ चैत २०८०, १८ : ०२
शनिबार, १७ चैत २०८०

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै माओवादीहरू एक भएरै छाड्ने दाबी गरेका छन् । शनिबार ‘२४ औं जेलब्रेक स्मृति दिवस’मा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा गलत तत्त्वहरूको हातमा सुम्पिन नसक्ने भन्दै रिस र आलोचना गरे पनि एक दिन माओवादी एक भएरै छाड्ने दाबी गरेका हुन् । 

उनले भने, ‘हाम्रो देशलाई कुनै पनि हालतमा गलत तत्त्वहरूको हातमा सुम्पिन सकिँदैन । अहिले समाजवादी मोर्चा पनि बनेको छ । हाम्रै पहलमा हाम्रो राम्रो छलफल पनि चलेको छ । माओवादी त छँदै छ । माओवादी त एक हुन्छ । एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ ।’

उनले हिजो जेल तोड्नेहरूले आज साम्राज्यवादी र दलालीहरूको खेल तोड्न आवश्यक रहेको बताए । नेपालको इतिहासले माओवादहरूलाई एक ठाउँमा ल्याएको भन्दै नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्ने उनको भनाइ छ । 

उनले भने, ‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ । साम्राज्यवादी र दलालीहरूको खेल तोड्नु छ । हिजो सामन्तवाद र दलालको जेल तोडियो आज यिनीहरूले भयङ्कर गर्दै छन् । नेपालको इतिहासले हामीलाई एक ठाउँमा ल्याइसकेको छ । जनताले हामीलाई हेरेका छन् । अब हामीले नयाँ तरीकाले समीक्षा गर्ने बेला आएको छ । जिम्मेवारी लिने बेला आएको छ ।’

महासचिव विप्लवले एमाले र कांग्रेसभित्र पनि माओवादी धारका नेताहरू रहेको भन्दै माओवादी एक्लै नभएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप