बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री महासेठ

आइतबार, १८ चैत २०८०, १४ : ३४
आइतबार, १८ चैत २०८०

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् । आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री महासेठले निर्माणाधीन योजनाहरू पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताए । उनले पुल, सडक लगायतका निर्माणाधीन आयोजनाहरू पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरू अघि बढेको बताए । उनले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिए । असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनैपनि कदम चाल्ने चेतावनी दिए ।

उनले भने, ‘कमला पुलको जुन कुरा छ, स्वाभाविक छ, यसलाई मधेसको मुख्य पुलका रूपमा लिएका छौँ । सिरहा र धनुषा जोड्ने पुल हो ।  अब पहिला गल्ती भएको कुरा सच्याउन भनेका छौँ, असार भित्र सम्पन्न गर्नेगरी अन्तिम निर्देशन गरेका छौँ । हुलाकी सडकलाई पनि दिएका छौँ । यदि असार मसान्तभित्र पूरा भएन भने सडक विभागले कुनैपनि स्टेप चाल्न सक्छ ।’

निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए । उनले सडक सिमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताए । हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरूको सामना गरेर काम अघि बढाइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप