सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

कांग्रेसले भन्यो- सत्ता पक्ष सहकारी ठगहरूको पक्षमा फैसला सुनाउन उद्यत छ (भिडियाेसहित)

सोमबार, १९ चैत २०८०, २२ : १८
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको आरोप लगाएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद प्रतिमा गौतमले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको बताइन्। 

‘सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरूलाई न घरको न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्धत भएको देखिन्छ,’ उनले भनिन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा परेको उजुरीमाथि छानबिन नगरी बचाउमा उत्रिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू यही संसद्‌मा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको कानुनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ, मानौँ वारिङ मेसिनमा राखेर सफाचट्ट पारेर निकालेकोजस्तो गरेर यहाँ बोल्नुहुन्छ,’ उनले भनिन्, ‘आरोपित गृहमन्त्री आफू विरूद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ। दुःख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई भने हुन्थ्यो नि।’

संसद, सडक र सामाजिकमा सहकारी ठगीको विषय चर्चामा रहेको भन्दै यसविरुद्ध प्रश्न उठाउनुपर्ने उनले बताइन् ।

‘दुःख गरेर जम्मा गरेको पैसा केही फटाहहरुले आँखै अगाडि ठगेर सहकारी नै टाठ पल्टाएर हिँडेका छन् । सरकार नागरिकको त्यो पीडा देखिरहेको छैन । सत्ता सहकार्य दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा रहेको देखियो । सत्ता साझेदार दलका नेताहरू एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेर सतिसाल झैँ उभिनुभयो,’ उनले भनिन् ।

सहकारी पीडितको विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपले प्रभावित भएकाले कांग्रेसले संसदीय छानबिन समितिको माग गरिएको सांसद गौतमले बताइन् ।

‘विगतमा पनि संसदीय छानबिन समिति बनेको धेरै उदाहरण छन् । सबैले प्रमाण छैन भन्दै आउनु भएको छ । तर, यहाँ गम्भीर आरोप लागेको छ । आरोपलाई अनुसन्धान नभईकन खारेज गर्न हुँदैन । छानबिन समिति बनाऊँ भन्दा किन पसिना आयो ? किन डर त्रास भयो ?,’ उनको प्रश्न छ ।

योभित्र गम्भीर प्रश्न उठेको  भन्दै संसदीय छानबिन समिति बनाउन डराउनुले त्यसको पुष्टि भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप