सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगमन्त्री भण्डारीले भेटे कोरियाली राजदूत, नेपालमा लगानी बढाउन आग्रह

मङ्गलबार, २० चैत २०८०, १७ : ०५
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज भेटवार्ता भएको छ । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको बताए ।

मन्त्री भण्डारीले राजदूत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग गर्न कोरिया सरकार एवं निजी क्षेत्रसमेतलाई आग्रह गरे । आगामी अप्रिल २८–२९ मा आयोजना हुने नेपालको लगानी सम्मेलनमा कोरियाली सरकार तथा निजी क्षेत्रको उल्लेख्य सहभागिताका लागि सहजीकरण गरिदिन उनले आग्रह गरे ।

नेपाल र गणतन्त्र कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ एवं सुमधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले जनस्तरमा समेत मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको बताए । कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (कोइका)मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुर्‍याएको योगदान नेपालका लागि महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीले उल्लेख गरे ।

सो अवसरमा राजदूत तइयोङले कोरियन लगानीकर्ताले नेपालमा लगानी गर्न धेरै इच्छा देखाएकाले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । उनले लगानी गर्न मिल्ने क्षेत्र पहिल्याउन आग्रह गरे । तइयोङले मझौला उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न कोरिया सरकार तयार रहेको बताए । उनले गाडीका पार्टपुर्जा ल्याउँदा र गाडीको ‘एसेम्बल’ गर्दा उही मूल्य पर्न जाने भएकाले भन्सार दर सहुलियत हुनुपर्नेमा जोड दिए ।

उनले ‘मेड इन नेपाल’प्रति कोरियाली जनता अति प्रभावित रहेकाले नेपाली मालसमानको निर्यातमा सघाउन कोरिया सकारात्मक रहेको जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप