सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सहरी विकास मन्त्री बुढा र मेयर शाहबिच भेट, फोहोरा व्यवस्थापनमा सहकार्य अघि बढ्ने

मङ्गलबार, २० चैत २०८०, १७ : १०
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । सहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । सहरी विकास मन्त्री बुढा र मेयर साहबिच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो ।

तत्कालका लागि स्थानीयहरूको सरोकारलाई सम्बोधन हुने गरि बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरूको माग सम्बोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडाबाट  शून्य फोहोर कार्यक्रम सुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए ।  

भेटमा मेयर शाहले बन्चरे डाँडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए । मन्त्री बुढाले बन्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौँ र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे ।

मन्त्रालय मातहत निकायबाट काठमाडौँ महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहसँग सुझाव समेत मागे । ‘सङ्घीय सरकार स्थायित्व यहाँलाई थाह नै छ, तर स्थानीय सरकारले आफ्नो पुरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाडौँको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौ ’ उनले भने ‘सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ । ’

जवाफमा मेयर शाहले काठमाडौँ उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्तीहरूलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे । काठमाडौँको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ को सम्भाव्यताबारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरूमा समेत पोड वे सफल भएको उदाहरण आफूले नदेखेका भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए ।

छलफलमा मेयर बालेनले  काठमाडौँ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाईओभर वा अण्डरपास  बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताए । छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार  विभागका महानिर्देशक भरत अर्याल लगायत छलफलमा सहभागी भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप