शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कूटनीति

चीनका नागरिकलाई नेपालमा निःशुल्क भिसा, चीनमा नेपालीलाई कहिले ?

बुधबार, २१ चैत २०८०, १० : ०२
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपालले चिनियाँ नागरिकका लागि भिसा निःशुल्क गरेको आठ वर्ष भइसक्यो तर चीनमा भने नेपाली नागरिकले त्यस्तो सुविधा पाउने छाँट अझै देखिएको छैन ।

नेपालले सन् २०१६ देखि चिनियाँ नागरिकलाई भिसा निःशुल्क गरेको हो । भिसा निःशुल्क भएसँगै नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपाली नागरिकका लागि पनि चीनले भिसा निःशुल्क गर्नुपर्छ भनेर नेपालको तर्फबाट वर्षौँदेखि पहल भए पनि हालसम्म प्रगति हुन सकेको छैन ।

सोमबार चीन भ्रमणबाट स्वदेश फर्केका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क चिनियाँ भिसा उपलब्ध गराउन आफूले आग्रह गरेको र त्यसमा चीन सकारात्मक रहेको जानकारी गराएका थिए ।

उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटघाटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गरेका छन् । मन्त्री वाङबाट आफूले सकारात्मक जवाफ पाएको र चाँडै प्रक्रियामा जाने उनको भनाइ छ ।

चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पर्यटकका लागि फ्रि भिसा गरेका कारण लगानी गर्न सजिलो हुने बताएका थिए । अब चीनले नेपालीका लागि पनि भिसा फ्रि गर्नुपर्ने उनको भनाइ थियो ।

२०७२ मा तत्कालीन परराष्ट्रमन्त्री कमल थापा चीन भ्रमणमा गएको बेला चिनियाँ विदेशमन्त्री वाङ यीसँग आठ बुँदे सम्झौता भएको थियो । त्यसमा एउटा बुँदा चिनियाँ पर्यटकलाई नेपालले फ्रि भिसा दिने उल्लेख छ । सो सम्झौता अनुसार २०७२ चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो । सो निर्णय लगत्तै चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिएर यसको शुभारम्भ गरेको थियो ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले एउटा देशले कुनै देशका लागि भिसा फ्रि गरेपछि त्यो देशले पनि सम्बन्धित मुलुकका नागरिकका लागि स्वतः फ्रि भिसाको व्यवस्था गर्नुपर्ने बताए ।

चीनले हालसम्म नेपालका लागि भिसा निःशुल्क गरेको छैन । बरु उसले भिसा बापतको शुल्कमा वृद्धि गरेको छ । चीनको भिसाका लागि दुई हजार २०० रुपैयाँ (चार दिनभित्र) तिर्नुपर्थ्यो तर २०७६ मा त्यसलाई वृद्धि गरेर तीन हजार ९०० गरिएको छ । यसले नेपालका पर्यटक तथा व्यवसायीहरू मारमा परेका छन् ।

अध्यागमन विभागका निर्देशक प्रेम प्रसाद दाहालले आफूले जानकारी पाएसम्म नेपाल सरकारबाट निःशुल्क भिसाका लागि पटकपटक चीनलाई अनुरोध गरिए पनि हालसम्म सुनुवाइ नभएको बताए ।

उनले चीनबाट नेपालीलाई निःशुल्क भिसाको व्यवस्था गरेमा व्यापारी वर्गलाई समेत ठुलो राहत हुने बताए । गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर चीनलाई निःशुल्क भिसाका लागि आग्रह गरेको आफूले सुनेको बताउँदै उनले चिनियाँ भिसाका लागि निकै सोधपुछ हुने गरेको प्रस्ट पारे ।

चीनले नेपालका लागि भिसा निःशुल्क नगरे पनि २०२३ नोभेम्बरमा उसले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकका लागि भिसा निःशुल्क गरेको छ । एक वर्षका लागि त्यसलाई परीक्षणमा राखिएको छ । त्यसले चीनलाई फाइदा भयो भने निरन्तरता दिने भनिएको छ । तर नेपाललाई निःशुल्क भिसा कहिले दिने भन्नेबारे चिनियाँ पक्षले ठोस जवाफ दिएको छैन ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले एउटा देशले कुनै देशका लागि भिसा फ्रि गरेपछि त्यो देशले पनि सम्बन्धित मुलुकका नागरिकका लागि स्वतः फ्रि भिसाको व्यवस्था गर्नुपर्ने बताए । तर चीनले नेपालका लागि हालसम्म त्यसो नगरेको उनको भनाइ छ ।

‘नेपालले चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क दिइरहेको छ, चीनले पनि तत्कालै दिनुपर्ने थियो,’ उनले भने, ‘चीनले नेपालीलाई किन निःशुल्क भिसा दिएन भन्नेबारे कुरा बुझ्न सकिएको छैन । निःशुल्क भिसा भयो भने व्यापार व्यवसाय गर्न सजिलो हुन्छ ।’

चीनसँग व्यापार व्यवसाय गर्दै आएका अध्यक्ष श्रेष्ठले फ्रि भिसाका कारण चीनमा नेपाली पर्यटक वृद्धि हुने र दुई देशको सम्बन्ध अझै बलियो हुने बताए । 

भिसा निःशुल्क भयो भने नेपाल–चीनबिचको व्यापारमा वृद्धि हुने उनको भनाइ छ । दुई देश बिचको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध बलियो बनाउन पनि यसले मद्दत पुग्ने उनले बताए ।

चीनसँग व्यापार व्यवसाय गर्दै आएका बच्चु पौडेलले पनि चीनले नेपालीका लागि भिसा निःशुल्क गर्नुपर्छ भनेर आफूहरूले पटक पटक कुरा उठाएको बताए । उनले भने, ‘भिसा निःशुल्क गर्ने कुरा हामीभन्दा पनि सरकारको तर्फबाट हुनुपर्छ । हामीले नेपाल सरकारलाई यस बारेमा पटकपटक ध्यानाकर्षण गराएका छौँ ।’

भिसा निःशुल्क भयो भने नेपाल–चीनबिचको व्यापारमा वृद्धि हुने उनको भनाइ छ । दुई देश बिचको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध बलियो बनाउन पनि यसले मद्दत पुग्ने उनले बताए ।

नेपालले चिनियाँ पर्यटकका लागि निःशुल्क भिसा दिन थालेपछि नेपालमा चिनियाँ नागरिकबाट आपराधिक घटनामा वृद्धि भएको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् । भिसा निःशुल्क गरेपछि नेपालमा चिनियाँ पर्यटक ह्वातै बढ्यो तर त्यसले समस्या पनि सिर्जना गरेको विभागका एक अधिकारीले बताए । नेपालबाट डिपोर्ट हुनेको सङ्ख्यामा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेको उनको भनाइ छ ।

पर्यटक भिसामा आउने चिनियाँ पर्यटकहरू यहाँ सानासाना व्यापार व्यवसायीका साथ अन्य गतिविधिमा लागेको समेत भेटिएको विभागका अधिकारीहरू बताउँछन् । त्यसैले निःशुल्क भिसा दिँदा फाइदामात्र नभएर केही बेफाइदा पनि देखिएको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप