शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छ: अध्यक्ष ढकाल

बुधबार, २१ चैत २०८०, १२ : ०६
बुधबार, २१ चैत २०८०

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै ढकालले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा माग र महत्त्व बढ्दै गइरहेको जिकिर गरेका हुन् । 

उनले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्त्व झनै बढेर गएको बताए । उनले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताए । उनले गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताए । उनले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरू भए पनि पर्याप्त नभएको जिकिर गरे ।

उनले भने, ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्त्वपूर्ण भूमिका छ । पछिल्लो तथ्याङ्कअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्त्वपूर्ण भूमिका छ । नेपालको निजी क्षेत्रको वार्षिक करिब ६ लाख मेट्रिक टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिब ४० अर्ब जति लगानी गरेको तथ्याङ्क छ । यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ ।’

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे । आन्तरिक मागलाई धान्न सक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप