मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
भुटाहा झडप

दिनभर तनावग्रस्त भुटाहा साँझमा साम्य, शनिबारका लागि विशेष सुरक्षा

दिनभरको झडपमा ३० जना घाइते, कर्फ्यु जारी
शुक्रबार, २३ चैत २०८०, २१ : ४३
शुक्रबार, २३ चैत २०८०

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका शुक्रबार दिनभर तनावग्रस्त बन्यो । बिहीबार एक युवामाथि भएको आक्रमणको घटनाले समुदाय र धर्ममा विभाजित बनेपछि घटनाले शुक्रबार उग्ररुप लिएको थियो ।

युवामाथि भएको आक्रमणको विषयमा स्थानीय दुवै पक्ष प्रदर्शनमा उत्रिएपछि शुक्रबार बिहानैदेखि हरिनगर १ र २ रामनगर भुटाहामा दुई समूहबिच पटक–पटक झडप पनि भयो । प्रहरीका अनुसार दर्जनौँ पटक सानातिना मुठभेडमा परी सुरक्षाकर्मी र स्थानीय गरी ३० जना घाइते भएका छन् । 

स्थानीय प्रशासनले दिउँसोदेखि कफ्र्यु लगाए पनि स्थिति सामान्य हुन सकेन । झडपका क्रममा प्रहरीले भीड नियन्त्रण गर्न भन्दै दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको जनाएको छ । झडपमा नेपाल प्रहरीतर्फ १५ जना र सशस्त्र प्रहरीका १९ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ । 

कोशी प्रदेश प्रहरी प्रमुख कुबेरसिंह खापुङले दिएको जानकारी अनुसार साँझदेखि स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘प्रहरीलाई आक्रमण गर्ने, ढुंगामुढा गर्ने बिहीबारैदेखि भइरहेको हो । हामीले धेरै संयमता अपनाएका हौँ । आगजनी र तोडफोड नै गर्न थालेपछि त अलिअलि हामीले नियन्त्रण गर्नका लागि हवाई फायर र अश्रुग्याँस हान्नै पर्‍यो नि,’ उनले भने । घाइते भएकाहरूलाई गोली नलागेको उनले दाबी गरे । 

‘डाक्टरहरूसँग कुरा गर्दा गोली लागेको नदेखिएको बताएका छन् । उनीहरू भागदौड गर्ने क्रममा लडेर वा भाटाहरूले काटेको हुनसक्छ,’ डीआइजी खापुङले भने, ‘अहिले पनि अलि अलि फाट्टफुट्ट मानिसहरू सडकमा निस्केलान् । अब सेटल भएजस्तो लाग्छ ।’

उनका अनुसार त्यो विषय दुई युवाबिचको पहिले देखिकै विवादले निम्त्याएको घटना भएको खापुङले बताए । ‘त्यहाँ धार्मिक विवाद केही पनि होइन । व्यक्तिगत रिसिइबिका आधारमा साइकल चोर भनेर कुटेको पाइयो ।

मुस्लिम एरियामा हातपात भएको देखिन्छ । तर, धार्मिक हिसाबले होइन,’ उनले भने, ‘बाह्य पक्षको घुसपैठ भएको होइन । स्थानीय हिसाबले भएको विवाद हो । त्यो विषय अब सेटल भइसक्यो । त्यहाँ त्यो खालको समुदायगत विवाद पनि देखिँदैन । लामो समयदेखि मिलेरै बसेको देखिन्छ ।’

आन्दोलनमा उत्रेको एक समूहले हरिनगर गाउँपालिकाको कार्यालयमा पनि तोडफोड गरेको छ । आन्दोलनकारीहरूले गाउँपालिकाको कार्यालयको प्रवेशद्वारमा रहेको होर्डिङबोर्ड, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, सूचना अधिकृत, प्रशासन प्रमुखको कार्यकक्षसहित गरेर ११ वटा झ्याल र कार्यालयका अन्य सामग्री तोडफोड गरेको बताइएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरसहित पाँच गाउँपालिकामा कफ्र्यु आदेश जारी गरेको छ । अर्को सूचना नभएसम्मका लागि विरोध प्रदर्शन र झडप हुनसक्ने भन्दै पाँच गाउँपालिकामा  निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जसमा हरिनगरसहित देवानगन्ज, भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगन्ज गाउँपालिका रहेको छ । प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने उल्लेख गरेको छ । प्रशासनले इनरुवा नगरपालिका सीमा क्षेत्रभित्र पनि कफ्र्यु आदेश जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप