बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

के हो राजेन्द्र महतोको शक्ति ?

मङ्गलबार, २७ चैत २०८०, १५ : ५०
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । मधेस राजनीतिबाट उदाएका राजेन्द्र महतोले यतिखेर राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर मधेसदेखि पहाडसम्म ‘क्रान्ति’ को पाइला बढाएका छन् । 

एक समय थियो राजेन्द्र महतोलाई पहाडविरोधी भन्थे । पहाडमा महतोको नाम सुन्न चाहँदैनथे । मधेस आन्दोलनको क्रममा पहाडी क्षेत्रबाट सबभन्दा बढी आलोचना पर्ने महतो नै थिए । महतो यतिसम्म मधेस केन्द्रित भएका थिए आफ्नो तत्कालीन सद्भावना पार्टीको केन्द्रीय कार्यालय पनि पर्सा सारेका थिए । 

काठमाडौँको दानापानी बन्द गर्न विभिन्न नाकामा धर्ना बसेका त्यही महतो अहिले हिमाल र पहाडका जिल्लाहरूमा गएर बहुल राष्ट्र स्थापनाका कुरा गर्दै राजनीतिको तयारीमा लागेका छन् ।  

मधेस केन्द्रित राजनीतिकर्मी भए पनि यतिखेर उनको अभियान मधेसभन्दा बढी पहाडमा केन्द्रित छ । उनले काठमाडौँ उपत्यकामा दुई वटा ठुला ठुला प्रदर्शन गरिसकेका छन् । निषेधित क्षेत्र तोड्ने भन्दै फागुन १६ गते माइतीघर प्रदर्शन गरेका थिए । त्यसमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतो आफै स्वयम् घाइते भएका थिए भने केही कार्यकर्ताहरू गिरफ्तार पनि भएका थिए । 

अभियानले दोस्रो प्रदर्शन चैत २४ गते गरेको थियो । नेपा: मण्डलको माग राख्दै गरेको आन्दोलनमा केही प्रहरी तथा ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए । 

१२ जना पक्राउ परेका थिए । त्यसमध्ये ६ जनालाई मात्र छाडिएको छ, छ जना अझै थुनामा छन् । उनीहरूलाई छोड्नका लागि राष्ट्रिय मुक्ति क्रान्तिले बन्दी प्रत्यक्षीकरण रिट दिने तयारी गरिरहेको छ । 

राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा गरेको आज ४३ दिन भइसकेको छ । नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टीबाट विद्रोह गरेर फागुन १४ गते पत्रकार सम्मेलन गरेर राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गरेका थिए । 

गत फागुन १४ गते औपचारिक घोषणा भए पनि यसको तयारी विगत चार–पाँच वर्षदेखि आन्तरिक रूपमा भइरहेको थियो, ‘राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले भने, ‘जनता समाजवादी पार्टी गठन हुँदा राजेन्द्र महतोले राष्ट्रिय क्रान्ति मुक्ति अभियान चलाउन पार्टीमा प्रस्ताव गर्नुभएको थियो तर उपेन्द्र यादवले त्यसलाई मान्नुभएको थिएन ।’

पछि जसपा विभाजन भएर लोसपा बन्यो । लोसपाले झन् त्यस्तो अभियान चलाउने कुरा नै भएन । त्यसपछि राजेन्द्र महतोले अभियानको तयारीमा एक्लै जुटेका थिए । संयोजक लोसपाबाट विद्रोह गर्ने स्थिति बन्यो र उनी त्यहाँबाट अलग भएर राष्ट्रिय क्रान्ति अभियानलाई अगाडि बढाए ।

फागुन १४ गते अभियानको घोषणा गरेको दुई दिनपछि काठमाडौँमा उनले प्रदर्शन गरेका थिए । त्यसपछि उनले लगातार प्रदर्शन तथा कार्यक्रमहरू गर्दै आइरहेका छन् । नेता महतोले तराई मधेसका २२ वटै जिल्लामा अभियानको तर्फबाट कार्यक्रम गरिसकेका छन् । जनकपुर, सर्लाही र मकवानपुरमा गरी तीन वटा ठुलो प्रदर्शन गरिसकेका छन् । 

जनकपुर  र सर्लाहीमा बहुल राष्ट्र निर्माणको माग गर्दै प्रदर्शन गरेका थिए भने मकवानपुरमा प्रदेशको नाम फेर्न माग गर्दै उनले प्रदर्शन गरेका थिए ।  

  • के हो महतोको शक्ति ?

नेता महतोले प्रायः हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई एक चरणको प्रशिक्षण दिइसकेका छन् । सो प्रशिक्षणबाट सात हजार कार्यकर्ता प्रशिक्षित भएको दाबी राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले बताए । उनले भने, ‘सात हजार यस्तो जनशक्ति तयार भएको छ, जसले जतिबेला पनि वैचारिक प्रशिक्षण दिन सक्छन् त्यो एउटा वैचारिक दस्ता मात्र हो ।’

राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति क्रान्ति एउटा हेडक्वार्टर हो जसलाई पछाडि थुप्रै स्वतन्त्र संस्थाहरू छन् जसले हरेक कुराले त्यसलाई सघाइरहेका छन् । 

  • राष्ट्रिय मुक्ति क्रान्तिलाई सघाउने संस्थाहरू

१. समान नेपाल

२. सोशियो कल्चलर रिसर्च सेन्टर

३. ज्ञान दबु

४. सेन्टर फर स्ट्राटेर्जी हिमालय स्टडी

५. द नर्दन स्कुल

६. युनाइटेड वान वर्ल्ड ग्रुप

७. नेपाल इन्डिजिनियस चेम्बर अफ कमर्स

८. नेशनल कोपरेटिभ अलाइन्स

समान नेपालका प्रवक्ता आर.के. तमाङले भने, ‘यी संस्थाहरूले जागरण अभियानका साथै आर्थिक व्यवस्थापनसम्मको काम गरिरहेको छ ।’ उनले नेशनल कोपरेटिभ अलाइन्स र नेपाल इन्डिजिनियस चेम्बर अफ कमर्सले आर्थिक व्यवस्थाको क्षेत्रमा काम गरेको जानकारी दिए । 

नेता केशव झाले समान नेपाल राष्ट्रिय मुक्ति क्रान्तिको स्कुल रहेको त्यहाँबाट नै सबै प्रकारको जनशक्ति उत्पादन हुने गरेको बताए । समान नेपाल पुरानो संस्था हो । समान अधिकार र पहिचानका लागि लामो समयदेखि सामाजिक संस्थाको रूपमा काम गर्दै आइरहेको छ । 

  • संगठनको संरचना

राष्ट्रिय क्रान्ति मुक्तिमा अहिले एक जना मात्र संयोजक छन् अरू सबै साधारण सदस्य मात्र छन् । नेता झाले भने, ‘अहिले हामीले औपचारिकता दिएका छैनौँ, संयोजक ताकेर काम गरिरहेका छौँ ।  मान्छे जोडिँदै छन्, तर अहिले जिम्मेवारी कसैलाई दिइएको छैन, काम गर्ने क्रममा कार्यक्रमहरूको नेतृत्व लिँदै काम भइरहेको ।’ हालसम्म कुनै सदस्यता पनि वितरण नगरिएको बताउँदै उनले पार्टीको रूपमा आएपछि औपचारिकता दिने उनले बताए । 

राष्ट्रिय मुक्ति क्रान्तिका तीन कमाण्ड

१.पूर्वी कमाण्ड

यो कमण्ड अन्तर्गत कोशी प्रदेशका सबै जिल्ला रहेका छन् । त्यहाँ लिम्बुवान ब्युरो, किराँत ब्युरो गठन गरिएको नेता झाले बताए । उनले भने, ‘अहिले दुई वटा ब्युरो गठन गरिएको छ अरू गठनको प्रक्रिया रहेको छन् ।’

२.मध्य कमाण्ड

यो कमाण्ड अन्तर्गत मधेस प्रदेश र बागमती प्रदेश रहेका छन् । यसमा मधेस ब्युरो, नेवा: ब्युरो र तामसालिङ ब्युरो गठन गरिएको छ । 

३.पश्चिम कमाण्ड

यो कमाण्डअन्तर्गत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश रहेका छन् । त्यसमा थरुहट ब्युरो, मगरात ब्युरो, तमुवान ब्युरो गठन गरिएको छ । तर यी क्रियाशील नरहेको नेता झाले बताए । 

राष्ट्रिय क्रान्ति मुक्ति अन्तर्गत विभिन्न परिषद्हरू पनि गठन गरिएको छ । परिषद्ले स्वशासन तथा सत्ताको अभ्यास गरिरहेको छ । त्यसलाई सुरक्षा दिने काम स्वदेशवाद युवा लिग (वाईआईएल)ले काम गरिरहेको छ । प्रवक्ता तमाङका अनुसार यो लिगलाई इनलाइट भेङगर्डको नामले पनि चिनिन्छ । यो लिग अन्तर्गत विभिन्न बाहिनीहरू पनि गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप