बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२०८० लाई फर्केर हेर्दा

२०८० लाई फर्केर हेर्दा : नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय चर्चा दिलाएको वर्ष

बुधबार, २८ चैत २०८०, ०९ : ३५
बुधबार, २८ चैत २०८०

काठमाडौँ । २०८० साल नेपाली क्रिकेटका लागि सुखद नै रह्यो । यो वर्ष नेपाली पुरुष क्रिकेट टोली आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल भयो भने घरेलु मैदानमै एसीसी प्रिमियर कपको उपाधि चुम्न पनि सफल भयो ।

भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेशजस्ता बलिया टेस्ट राष्ट्रसँगै एसिया कपको मञ्चमा नेपाली क्रिकेट टोलीले प्रदर्शन गर्ने मौका पायो ।

यही वर्ष नेपाली पुरुष क्रिकेट टोलीले आफूभन्दा बलिया राष्ट्रहरूसँग जिम्बाबेमा आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि खेल्यो । महिला क्रिकेट टोली पनि निकट भविष्यमा श्रीलङ्कामा आयोजना हुने महिला टी–२० एसिया कपमा छनोट हुन सफल भयो ।

nepali fan

  • पुरुष क्रिकेट टोली टी–२० विश्वकपमा छनोट

टी–२० विश्वकपको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता अक्टोबर ३० देखि नोभेम्बर ५ तारिख (२०८० कात्तिक १३ देखि २०८० कात्तिक १९ गतेसम्म) नेपालमै आयोजना भएको थियो । प्रतियोगितामा आठ वटा राष्ट्र सहभागी थिए ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको थियो । उक्त समूहमा ओमान, नेपाल, मलेसिया र सिङ्गापुर पनि थिए । तीन खेल जितेको ओमान पहिलो र दुई खेल जितेको नेपाल दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए ।

समूह ‘बी’ मा भने संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत थिए । उक्त समूहबाट ६ अङ्कसहित यूएई पहिलो र दुई अङ्कसहित बहराइन दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा नेपालले यूएईलाई आठ विकेटले हराएको थियो ।

फाइनलमा भने नेपाली टोली ओमानसँग ‘सुपर ओभर’ मा पराजित हुनु पुग्यो । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो ।

‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको ओमानले कुनै पनि विकेट नगुमाई २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ‘सुपर ओभर’ मा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो ।

फाइनलमा पराजित भए पनि नेपाली टोली सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल भयो । फाइनलमा पुग्ने दुवै टोली टी–२० विश्वकपमा छनोट हुने प्रावधान थियो ।

टी–२० विश्वकपको छनोट प्रतियोगितामा नेपालका कुशल भुर्तेल सर्वाधिक रन बनाउने खेलाडी बने । कुशलले छनोट प्रतियोगिताको पाँच पालीमा कुल १८५ रन बनाएका थिए । सर्वाधिक विकेट लिने बलरको सूचीमा नेपालका स्पिनर सन्दीप लामिछाने तेस्रो स्थानमा रहे । उनले पाँच पालीमा कुल नौ विकेट लिएका थिए ।

प्रतियोगितामा कुशल भुर्तेलका अतिरिक्त नेपालका अन्य चार ब्याट्सम्यान कुशल मल्ल, आसिफ शेख, गुल्सन झा र कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका थिए । सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा नेपालका कप्तान रोहित पौडेल सात वटा क्याच लिँदै अग्रस्थानमा रहे ।

यसैगरी नेपालका ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनले प्रतियोगितामा कुल ११ वटा छक्का हिर्काएका थिए । यसका अतिरिक्त उनले १८ वटा चौका पनि प्रहार गरेका थिए । यो सूचीमा नेपालकै कुशल मल्ल दोस्रो स्थानमा रहे । उनले आठ वटा छक्का हिर्काएका थिए ।

  • क्यान र खेलाडीबिच पहिलो पटक केन्द्रीय सम्झौता

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय सम्झौता) मा रहने महिला तथा पुरुष क्रिकेट खेलाडीहरूको वर्गीकरण र खेलाडीसँग सम्झौता गरेको छ । क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ जना खेलाडीसँग केन्द्रीय सम्झौता गरेको हो ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् ।

यसैगरी पुरुषतर्फ ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी छन् । ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् ।

434720492_842633147893067_7173450499789258983_n

इमर्जिङतर्फ कोशी प्रदेशका दिपेश कँडेल, मधेस प्रदेशका रुपेश सिंह, बागमती प्रदेशका रिजन ढकाल, गण्डकी प्रदेशका विपिन खत्री, लुम्बिनी प्रदेशका देव खनाल, कर्णाली प्रदेशका अर्जुन घर्ती र सुदूरपश्चिम प्रदेशका हेमन्त धामी छन् ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’ मा रहेका खेलाडीलाई मासिक ७० हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीलाई मासिक ५५ हजार, ग्रेड ‘डी’ मा रहेका खेलाडीलाई मासिक ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय क्यानले गरेको छ ।

यसैगरी महिलातर्फ ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुविना क्षेत्री र सीता रानामगर छन् । ग्रेड ‘बी’ मा कविता कुँवर छिन् । ग्रेड ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य छन् । ग्रेड ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन् । इमर्जिङ समूहमा भने सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबी पोदार, सृष्टी जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ५० हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक ३० हजार, ग्रेड ‘डी’ मा रहेका खेलाडीले मासिक २५ हजार र इमर्जिङ समूहमा रहेका खेलाडीले मासिक २० हजार पारिश्रमिक पाउने भएका छन् ।

  • एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल च्याम्पियन

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सन् २०२३ को अप्रिल १८ देखि मे २ तारिखसम्म नेपालमा आयोजना भएको थियो ।

१० वटा राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो । नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । यही प्रतियोगितामा पहिलो हुँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।

समूह ‘ए’ बाट नेपाल पहिलो र ओमान दोस्रो हुँदै नकआउट चरणमा पुगेका थिए । समूहगत चरणमा नेपालले चारमध्ये तीन खेलमा जित हात पारेको थियो । एक खेल अनिर्णित रुपमा सकिएको थियो । ओमान दोस्रो हुँदै नकआउट चरणमा पुगेको थियो ।

समूह ‘बी’ बाट भने यूएई पहिलो र कुवेत दोस्रो हुँदै नकआउट चरणमा पुगेका थिए । नेपाल र कुवेतबिचको सेमिफाइनल खेल वर्षाका कारण अनिर्णित भएको थियो । त्यसपछि समूहगत चरणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा नेपाल फाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा यूएईले ओमानलाई हराएको थियो । प्रतियोगिताको फाइनल खेलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो ।

  • एसिया कपमा सफल सहभागिता

एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण सन् २०२३ को अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना गरिएको थियो । एसीसी प्रिमियर कपमा पहिलो हुँदै नेपाल यो प्रतियोगितामा छनोट भएको थियो ।

नेपाल एसिया कपको समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए । एसिया कपको त्यो संस्करणमा नेपाली खेलाडीले रोहित शर्मा, विराट कोहली, श्रेयष ऐयर, हार्दिक पाण्ड्या, शुभमन गिल, इशान किसन, रविन्द्र जडेजा, बाबर आजम, इफ्तिखार अहमद, फाखर जमान, साहिन शाह अफ्रिदी, मोहम्मद रिजवान, नसिम शाहजस्ता विश्व चर्चित खेलाडीहरूसँग खेल्ने अवसर पाएका थिए ।

भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो । यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरूले गतिलो प्रदर्शन गरेका थिए ।

पाकिस्तानविरुद्ध सोमपाल कामीले दुई तथा करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए । भारतविरुद्ध पनि खुलेर ब्याटिङ गरेका नेपाली ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेलले पनि ३८ रन बनाएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि भारतीय बलरहरूको निरन्तरको आक्रमणलाई विफल पार्दै ४८ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरीले २९ र गुलसन झाले २३ रन बनाएका थिए ।

नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले भारतमा समेत गतिलो चर्चा पाएको थियो । समग्रमा भर्खरै विश्व क्रिकेटमा आफ्नो भविष्य खोजिरहेको नेपाली टोलीका खेलाडीको आत्मविश्वास बढाउन एसिया कपको यो संस्करण निकै फलदायी सिद्ध भएको थियो ।

  • मलेसियामा एसीसी यू–१९ प्रिमियर कप च्याम्पियन

एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सन् २०२३ को अक्टोबर १२ देखि २४ तारिखसम्म मलेसियामा आयोजना भएको थियो । १६ वटा राष्ट्र सहभागी उक्त प्रतियोगिताको उपाधि नेपालले जितेको थियो ।

thumb10-1698142710

प्रतियोगिताको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराएको थियो । उक्त प्रतियोगितामा नेपाली टोली आफूले खेलेको पाँचवटै खेलमा विजयी भएको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १४४ रनको विशाल अन्तरले हराएको थियो । त्यसअघि समूहगत चरणमा नेपालले पहिलो खेलमा इरानलाई २७४ रनले हराएको थियो ।

समूहगत चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई ३०२ रनले पराजित गरेको थियो । यो प्रतियोगिताबाट तीन वटा टोली एसीसी यू–१९ एसिया कपमा छनोट भएका थिए ।

  • कुशल र दीपेन्द्रको साझेदारीले बनाएको विश्व कीर्तिमान

नेपालले सन् २०२३ को अक्टोबरमा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङसँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । त्यो शृङ्खलाका क्रममा नेपालका दुई प्रभावशाली ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमान बनाएका थिए ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको हङ्कङविरुद्धको खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । उक्त खेलमा कुशल मल्लले ४१ बलमा नौ छक्का र तीन चौकाको मद्दतले ९२ र दीपेन्द्रले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ५७ रन बनाएका थिए ।

Kushal-Malla-and-Dipendra-Singh-Airee

त्यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ विकेटका लागि न्युजिल्यान्डका मार्क च्याम्पम्यान र जेम्स निसामले १२१ रनको साझेदारी गरेर कीर्तिमान बनाएका थिए । सन् २०२३ को अप्रिल २४ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलमा मार्क र जेम्सले पाँचौँ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेल र दीपेन्द्रले बनाएको उक्त कीर्तिमान सन् २०२४ को जनवरी १७ तारिखमा भारतका रोहित शर्मा र रिंकु सिंहले तोडेका थिए । भारतको बैंगलुरुमा खेलिएको अफगानिस्तानविरुद्धको खेलमा रोहित र रिंकुले पाँचौँ विकेटका लागि अविजित १९० रनको साझेदारी गरेका थिए ।

  • एसियाली खेलकुदको क्रिकेटमा विश्व कीर्तिमानको ओइरो

चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केही विश्व कीर्तिमान बनाएर देशको गौरव बढायो । सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा खेलिएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको विशाल अन्तरले हराउँदै केही आश्चर्यजनक कीर्तिमान बनाएको थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठुलो अन्तरको जित हो । यो कीर्तिमान अहिले पनि नेपालकै नाममा छ । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरमा जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई २५७ रनले हराएको थियो ।

टस हारी पहिले ब्याटिङ गर्दै नेपालले तीन विकेट गुमाएर ३१४ रन बनाएको थियोे । त्यो पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान थियो । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा (तीन विकेट गुमाएर २७८ रन) थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रनमात्र बनाउन सकेको थियो । मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाएका थिए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका हिर्काएका थिए । यस क्रममा उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो शतक पूरा गर्ने कीर्तिमान बनाएका थिए । उनले केवल ३४ बलमा शतक पूरा गरेका थिए ।

Kushal-Malla-7

त्यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पूरा गर्ने कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भातरीय टोलीका कप्तान रोहितले ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेविड मिलरले पनि ३५ बलमा शतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका थिए । कुशलले बनाएको त्यो कीर्तिमान सन् २०२४ को फेब्रुअरी २७ तारिखमा नेपालमै खेलिएको खेलमा नामिबियाका जन निकोल लफ्टी एटनले तोडेका थिए । उनले नेपालविरुद्धको खेलमा केवल ३३ बलमा शतक पूरा गरेका थिए ।

मंगोलियाविरुद्धकै खेलमा दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका थिए । ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका थिए । उनले अविजित ५२ रन बनाएका थिए । उनले १० बलको सामना गरी आठ छक्का पनि प्रहार गरेका थिए ।

उनले भारतका आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान युवराज सिंहको कीर्तिमान तोडेका थिए । युवराज सिंहले सन् २००७ मा इङ्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । नेपाली ब्याट्सम्यान दीपेन्द्रले बनाएको त्यो कीर्तिमान सम्भवतः टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सधैँ कायम रहने छ ।

  • आईसीसी अध्यक्षको नेपाल भ्रमण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले यसै वर्ष नेपालको चार दिने भ्रमण गरे । नेपाल भ्रमणका क्रममा आईसीसी अध्यक्ष ग्रेगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट सङ्घका पदाधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा आईसीसी अध्यक्ष ग्रेगले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानको निरीक्षण पनि गरेका थिए ।

greg

नेपालले सन् २०२७ मा आईसीसी महिला यू–१९ विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको छ । त्यसैका लागि उनले कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरीक्षण गरेका हुन् । अध्यक्ष ग्रेग आफ्नो चार दिने नेपाल भ्रमण पूरा गरी काठमाडौँबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको सफलतापछि आईसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेको छ । यस्तो अवस्थामा भएको आईसीसी अध्यक्ष ग्रेगको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ग्रेग भविष्यमा नेपालको क्रिकेट मैदान ‘न्यूट्रल भेन्यू’ का रूपमा पनि प्रयोग हुनसक्ने विश्वास व्यक्त गरेका थिए । आइसीसीको पूर्ण सदस्य राष्ट्रको मान्यता प्राप्त गर्न केही मापदण्ड पूरा गर्नुपर्ने समेत उनले उल्लेख गरेका थिए ।

  • विश्वकप लिग–२ मा निराशाजनक प्रदर्शन

आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा भने यो वर्ष नेपाली टोलीले निराशाजनक प्रदर्शन गर्‍यो । घरेलु मैदानमै खेलिएको खेलमा नेपालले गतिलो प्रदर्शन गर्न सकेन । लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक शृङ्खला खेलेको थियो । शृङ्खलामा नेपालले चारमध्ये एक खेलमा मात्र जित हात पार्न सक्यो ।

आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपाली टोली नामिबियासँग दुई विकेटले पराजित भएको थियो । चौथो खेलमा नेदरल्यान्डले नेपाललाई आठ विकेटले हराएको थियो ।

आईसीसी वल्र्डकप लिग–२ मा यसपटक आठवटा राष्ट्र सहभागी छन् । ओमान र अमेरिका बाहेक अन्य ६ टोलीले चार–चार खेल खेलिसकेका छन् । चारवटै खेल जितेको क्यानडा आठ अङ्कसहित पहिलो र चारमध्ये तीन खेलमा विजयी भएको नामिबिया ६ अङ्कसहित दोस्रो स्थानमा छन् ।

चारमध्ये दुई खेल जितेको नेदरल्यान्ड्स चार अङ्कसहित तेस्रो र चारमध्ये एक खेलमा जित हात पारेको स्कटल्यान्ड तीन अङ्कसहित चौथो स्थानमा छन् । स्कटल्यान्डको एउटा खेल भने अनिर्णित रहेको थियो ।

यसैगरी चारमध्ये एक खेलमा विजयी भएको नेपाल दुई अङ्कसहित पाँचौँ र चारमध्ये तीन खेलमा हार भोगेको यूएई छैटौँ स्थानमा छन् । यूएईको एक खेल अनिर्णित रुपमा सकिएको थियो । ओमान र अमेरिकाले भने हालसम्म एक खेल पनि खेलेका छैनन् ।

लिग–२ को यो दोस्रो संस्करण हो । लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । पहिलो संस्करणमा भने सात वटा राष्ट्रमात्र सहभागी थिए । लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो ।

सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसअघि सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप सुपर लिग अङ्क तालिकाको सबैभन्दा तल (१३औँ स्थान) मा रहेको नेदरल्यान्ड्सलाई पछि लिग–२ मा थपिएको हो ।

  • कीर्तिपुर मैदानमा सर्वाधिक रनको कीर्तिमान

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । उक्त शृङ्खलाको उपाधि नेदरल्यान्ड्सले जितेको थियो । डच टोलीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई चार विकेटले हराएको थियो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको थियो । यो शृङ्खलामा सहभागी तीनवटै राष्ट्र टी–२० विश्वकपको नवौँ संस्करणमा छनोट भएका छन् ।

उक्त त्रिकोणात्मक शृङ्खलाकै क्रममा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सर्वाधिक रनको कीर्तिमान पनि बनेको थियो । शृङ्खलाको लिग चरणको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर २४७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो ।

त्यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ मा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले २३८ रन बनाएको थियो ।

कीर्तिपुर क्रिकेटमा मैदानमा बनेको तेस्रो ठुलो स्कोर पनि नेपालको नाममा छ । नेपालले सन् २०१९ को डिसेम्बर ५ तारिखमा सम्पन्न टी–२० क्रिकेटमा भुटानविरुद्ध तीन विकेट गुमाएर २३६ रन बनाएको थियो । सोही शृङ्खलामा एउटा विश्व कीर्तिमान पनि बनेको थियो । उक्त कीर्तिमान नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । ईटनले केवल ३३ बलमा शतक पूरा गरेका थिए ।

  • एसीसी महिला प्रिमियर कपमा कीर्तिमानी प्रदर्शन

एसीसी महिला प्रिमियर कप क्रिकेट फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा आयोजना भएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा १६ टोलीको सहभागिता थियो । नेपाल समूह ‘डी’ मा परेको थियो । नेपाल समूहगत चरणमा तीन खेल जित्दै पहिलो र हङ्कङ दुई खेल जित्दै दोस्रो भएर सेमिफाइनलमा पुगेका थिए ।

समूहगत चरणमा नेपालले हङकङलाई आठ विकेटले, भुटानलाई आठ विकेटले र माल्दिभ्सलाई २१४ रनले हराएको थियो । माल्दिभ्सविरुद्धको जित नेपालका लागि कीर्तिमानी थियो । अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा नेपालले कुनै पनि टोलीविरुद्ध हासिल गरेको यो सबैभन्दा ठुलो रनअन्तरको जित थियो । 

माल्दिभ्सविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएर २२७ रन बनाएको थियो । नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो । नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाएका थिए ।

रुविनाले अविजित ११८ रन बनाएकी थिइन् । उनी अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनिन् ।रुविना अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटको एउटै खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी पनि बनेकी थिइन् ।

माल्दिभ्सविरुद्धको खेलमा रुविनाको स्ट्राइक रेट २०० थियो । अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा कुनै पनि नेपाली ब्याटरको यो सर्वोत्कृष्ट स्ट्राइक रेट पनि हो । यसका अतिरिक्त रुविना अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा सबैभन्दा बढी छक्का र चौका प्रहार गर्ने नेपाली खेलाडी पनि बनेकी थिइन् ।

माल्दिभ्सविरुद्ध केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेलेका थिए । रुविना र पूजाले अविजित १६६ रनको साझेदारी गरेका थिए । महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि थियो ।

क्वार्टरफाइनलमा नेपालले कुवेतलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा आठ विकेटले हराएयो । तर, प्रतियोगिताको सेमिफाइनलमा नेपाली टोली मलेसियासँग चार विकेटले हारेको थियो । समग्रमा नेपाली टोली चौथो भएको थियो ।

  • नेपाल महिला टी–२० एसिया कपमा

नेपाली राष्ट्रिय महिला टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने अवसर पायो । बलिया टेस्ट राष्ट्रहरूको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जुलाई १९ तारिखमा पाकिस्तानसँग खेल्ने भएको छ ।

प्रतियोगिता जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुँदैछ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले नेपाली टोलीलाई समेत थपेर खेल तालिका सार्वजनिक गरेको हो । एसीसीले अघिल्लो संस्करणको तुलनामा टोलीको सङ्ख्या थप गर्ने निर्णय लिएपछि नेपालले पनि प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

आठ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपाल र पाकिस्तानका अतिरिक्त भारत र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् । नेपालले आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा यूएईसँग खेल्नेछ ।

यसैगरी नेपालले समूहगत चरणको अन्तिम खेल जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ । समूह ‘बी’ मा भने बंगलादेश, मलेसिया, आयोजक श्रीलङ्का र थाइल्यान्ड छन् । प्रतियोगिताका सबै खेल डम्बुलामा खेलाइने छ । प्रारम्भिक चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यसै वर्ष आयोजना भएको महिला प्रिमियर कपको सेमिफाइनलमा पराजित भएका टोलीलाई पनि प्रतियोगितामा समावेश गरिएको हो । एसियाली क्षेत्रमा महिला क्रिकेटको स्तरवृद्धि गर्दै लैजाउने उद्देश्यले एसीसीले यस्तो निर्णय लिएको हो ।

  • आईसीसी यू–१९ विश्वकपमा ‘सुपर सिक्स’ चरणको यात्रा

आईसीसी यू–१९ विश्वकप क्रिकेट सन् २०२४ को जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना भएको थियो । १६ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपाली टोली ‘सुपर सिक्स’ चरणसम्म पुग्न सफल भएको थियो ।

समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो । समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११औँ भएको थियो ।

प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया र अमेरिका क्रमशः १२ औँदेखि १६औँ स्थानमा थिए । पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र वेस्ट इन्डिज पाँचौँ भएका थिए । इङ्ल्यान्ड, बंगलादेश, श्रीलङ्का, आयरल्यान्ड र न्युजिल्यान्ड क्रमशः छैटौँदेखि १०औँ स्थानमा रहे ।

प्रतियोगिताको उपाधि भने अस्ट्रेलियाले जितेको थियो । फाइनलमा अस्ट्रेलियाले साविक विजेता भारतलाई ७९ रनको फराकिलो अन्तरले हराएको थियो ।

  • महिला क्रिकेटर ज्योति पाण्डेको सन्न्यास

राष्ट्रिय महिला क्रिकेट टोलीकी अनुभवी खेलाडी ज्योति पाण्डेले यसै वर्ष सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरिन् । काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई चुमाउँदै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी हुन् । उनी टोलीकी प्रभावशाली विकेटकिपर पनि थिइन् ।

Jyoti-Pandey-mk

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कपको फाइनल खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई ११ रनले हराएको थियो । यसलाई रमाइलो संयोग मान्नुपर्छ, ज्योतिले आफ्नो अन्तिम प्रतियोगिताको फाइनलमा आफ्नै गृह प्रदेशलाई हराएकी थिइन् ।

ज्योतिको घर विराटनगर हो । ज्योतिले राष्ट्रिय टोलीसँगै घरेलु प्रतियोगिताबाट पनि सन्न्यासको घोषणा गरेकी हुन् । ज्योतिलाई उपाधि जितेपछि कीर्तिपुर क्रिकेट मैदानमा एपीएफको टोलीले ‘गार्ड अफ अनर’ दिएको थियो । ज्योतिले सन् २०१६ मा थाइल्यान्डमा आयोजना भएको एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीमा ‘डेब्यू’ गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप