सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएल क्रिकेट

आईपीएलमा आज : अपराजित राजस्थानलाई गुजरातको चुनौती

बुधबार, २८ चैत २०८०, ११ : ०८
बुधबार, २८ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राजस्थान रोयल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ : ४५ बजे सुरु हुनेछ । १७औँ संस्करणमा खेल्न लागिएको यो २४औँ खेल हो ।

जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सको यो पाँचौँ खेल हो । राजस्थान रोयल्स यसअघि आफूले खेलेको सबै खेल जित्ने एक मात्र टोली पनि हो । राजस्थान आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।

राजस्थानले पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई २० रनले र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराएको थियो । तेस्रो खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको थियो । चौथो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो ।

यसैगरी गुजरात टाइटन्सको भने यो छैटौँ खेल हो । गुजरातले यसअघि खेलेको पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । गुजरात टाइटन्स चार अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।

आफ्नो पहिलो खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । दोस्रो खेलमा गुजरात चेन्नई सुपर किङ्ससँग ६३ रनले हारेको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।

यसैगरी गुजरातलाई चौथो खेलमा पन्जाब किङ्सले तीन विकेटले र पाँचौँ खेलमा लखनउ सुपर जाइन्ट्सले ३३ रनले हराएका थिए । समग्रमा गुजरातले जारी सिजनको आईपीएलमा गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । बुधबारको खेलमा राजस्थान आफ्नो विजययात्रा जारी राख्ने धुनमा हुनेछ भने गुजरात तेस्रो जितको खोजीमा हुनेछ ।

राजस्थान र गुजरातले हालसम्म एक–एकपटक आईपीएलको उपाधि चुमिसकेका छन् । राजस्थान रोयल्सले सन् २००८ मा आईपीएलको उपाधि जितेको थियो । गुजरात टाइटन्सले भने सन् २०२२ मा आईपीएलको उपाधि हात पारेको थियो ।

हेड टु हेडमा गुजरात अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म राजस्थान रोयल्स र गुजरात टाइटन्सबिच कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा गुजरातले राजस्थानलाई हराएको छ । बाँकी एक खेलमा भने राजस्थान रोयल्स विजयी भएको छ । जयपुरमा भने यसअघि यी दुई टोलीबिच एक खेल खेलिएको थियो । त्यो खेलमा गुजरात नौ विकेटले विजयी भएको थियो ।

लयमा छन् राजस्थानका ब्याट्सम्यान

राजस्थान रोयल्सका लागि यो सिजन कप्तान सन्जु सामसनले पहिलो खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ब्याटिङतर्फ जस बट्लर पनि लयमा देखिएका छन् । उनले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध शतक पनि बनाएका थिए ।

राजस्थानका लागि मध्यक्रमका ब्याट्सम्यान रियान परागको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । जारी सिजनको आईपीएलमा उनी टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले पाँच खेलमा एक सय ८५ रन बनाइसकेका छन् । 

रियान पराग जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि तेस्रो नम्बरमा छन् । राजस्थानको बलिङ पक्ष पनि कमजोर छैन । राजस्थानका लागि सबैभन्दा बढी विकेट लिने बलर युजवेन्द्र चहल हुन् । उनले हालसम्म आठ विकेट लिइसकेका छन् ।

गुजरातको सर्वाधिक रन साई सुदर्शनको नाममा

जारी सिजनको आईपीएलमा गुजरात टाइटन्सको प्रदर्शन गतिलो देखिएको छैन । गुजरातका लागि उत्कृष्ट प्रदर्शन गर्ने ब्याट्सम्यान साई सुदर्शन हुन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् ।

साई सुदर्शनले हालसम्म खेलिएको खेलमा गुजरातका लागि कुल एक सय ९१ रन बनाइसकेका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि दोस्रो स्थानमा रहेका छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । उनले हालसम्म सात विकेट लिइसकेका छन् ।

जयपुरको सन्तुलित पिच

राजस्थान र गुजरातबिच बुधबारको खेल हुने जयपुरस्थित सवाई मानसिंह स्टेडियमको पिच सन्तुलित प्रकृतिको छ । यो पिचले ब्याट्सम्यानसँगै बलरलाई पनि उत्तिकै साथ दिने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ५५ खेल खेलिएको छ । त्यसमध्ये २० खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । बाँकी ३५ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।

छैन वर्षाको सम्भावना

गुजरात र राजस्थानबिच खेल हुने दिन बुधबार जयपुरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाको कुनै सम्भावना नरहेको समाचारमा जनाइएको छ । बुधबार जयपुरको तापक्रम २४ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली

राजस्थान रोयल्स - संजु सामसन (कप्तान एवं विकेटकिपर), यशस्वी जैसवाल, जस बट्लर, रियान पराग, ध्रुव जुरेल, शिमरन हेटमायर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र आवेश खान । इम्प्याक्ट प्लेयर ः शुभम दुबे र रोभमन पावेल ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), बीआर शरथ (विकेटकिपर), साई सुदर्शन, विजय शंकर, राहुल तेवतिया, राशिद खान, नुर अहमद, स्पेन्सर जोन्सन, मोहित शर्मा, उमेश यादब र दर्शन नालकंडे । इम्प्याक्ट प्लेयर ः केन विलियम्सन, म्याथ्यू वेड र शाहरुख खान । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप