मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रको क्रियाशिलताविना आर्थिक समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी

बुधबार, २८ चैत २०८०, १२ : ०८
बुधबार, २८ चैत २०८०

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकास र क्रियाशिलता विना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताए । उनले रकारले निजी क्षेत्रलाई साझेदारका रुपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रुपमा व्यवहार गर्ने विश्वास दिलाए ।

मन्त्री भण्डारीले सरकारले नेपालमा उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत, कानुनी तथा कार्यक्रमगत विषयलाई नीजि क्षेत्रको सल्लाह, सुझाव तथा समन्वयका माध्यमबाट शीघ्र अगाडि बढाउन चाहेको उल्लेख गरे ।

'आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन तथा आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिने, स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवं तुलनात्मक लाभक वस्तुको पहिचान र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी व्यापार घाटा न्यूनिकरण गर्ने जस्ता सरकारको लक्ष्य पुरा गर्न निजी क्षेत्रले गर्दै आएको साझेदारी प्रति म धन्यवाद दिन चाहन्छु', उनले भने ।

मन्त्री भण्डारीले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई सफल पारी स्वदेशी तथा विदेशी लगानीलाई प्रवद्र्धनमार्फत अर्थतन्त्रलाई मजबूत बनाउन अहोरात्र खटिनुपर्ने बेला आएको बताए । उद्योग मन्त्रालयले लगानी सम्मेलनलाई सफल बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्यमा सक्रिय भूमिका निभाउने उनले प्रतिबद्धता जनाए ।

उनले मन्त्रालयले लगानी सहजीकरण तथा प्रवद्र्धनमा बल पुग्ने गरी कानुनहरुको संशोधनको प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए । उनले भने,'आज व्यापार घाटा चुलिँदो छ, युवा श्रम शक्ति रोजगारीका लागि विदेशिने प्रवृत्ति बढेको छ, उद्योग क्षेत्रको अर्थतन्त्रमा योगदानमा संकुचन आएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप