मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘स्थायित्वका लागि अब मुख्य दलहरूबिच सहकार्य गरेर जानुपर्छ’

पार्टीको नेतृत्व धोती फेरेर भान्सामा भात खान तयार भएजस्तो होइन : ईश्वर पोखरेल
बिहीबार, २९ चैत २०८०

सत्ता समीकरण फेरिएपछि देशको राजनीति बल्ल ट्रयाकमा आएको बुझाइ छ, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको । मुलुकको बिग्रिएको राजनीति सोझिएको उनी बताउँछन् । 

तर, राजनीतिक अङ्कगणितका कारण अझै पनि देशमा स्थिर सरकार र स्थायित्व नभएको उनी बताउँछन् । मुख्य दलहरूबिच सहकार्य गरेर जानु मुलुकको हितमा रहेको उनको भनाई छ ।

रातोपाटीका लागि रोहित दाहालले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्थालगायत समसामयिक विषयमा अन्तर्वार्ता गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :

  • २०८० सालको राजनीतिक समीक्षा कसरी गर्नुहुन्छ ?

–मुलुक एकातर्फ अग्रगति र प्रगतितर्फ अगाडि बढ्न खोजेको देखिन्छ तर सँगसँगै त्यसलाई अवरोध गर्न खोज्ने, त्यसलाई रोक्न खोज्ने कोसिसहरू पनि भएका छन् ।  यी दुई किसिमका प्रवृत्तिको तानातानमा हामी छौँ । तर पनि प्रतिकूलता र नकारात्मक कुराहरूलाई चिर्दै अघि बढ्ने प्रयास भएको छ । पछिल्लो समीकरण यसैको एउटा प्रयास हो ।

  • पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ समीकरण बनाउनु नै ८० सालको सुखद पक्ष भयो एमालेका लागि ?

–एमालेका लागि मात्र सुखद रह्यो भनेर यति न्यून ढङ्गले म भन्न चाहन्नँ  । मुलुकको बिग्रिएको राजनीतिलाई सोझ्याउने प्रयत्न भएको छ ।

ishwor pokharel 2-001

  • कांग्रेससँग रहेका प्रचण्ड एमालेसँग आउने बित्तिकै यति फरक पर्छ ?

–एमालेलाई सिध्याउने उद्देश्यले बनेको थियो, त्यो गठबन्धन । त्यस्तो आपराधिक उद्देश्य लिएर बनेको गठबन्धन टुट्यो ।

  • यसको मतलब नयाँ समीकरण बनेपछि एमाले जोगिने भयो ?

–सिध्याउने योजना अहिले डिफ्यूज भयो ।

तत्काल कुनै देखिएको प्राप्तिभन्दा पनि हामीले सुदूर भविष्य हेरेका छौँ । नकारात्मक बाटोबाट हिँडिरहेको राजनीतिलाई सकारात्मक दिशातर्फ फर्काएका छौँ ।
  • तपाईंले यति भनिरहँदा स्वयं तपाईं माओवादीसँगको यो समीकरणको पक्षधर त होइन फेरि ।

–पुरानो गठबन्धन टुट्नुपर्छ र नयाँ ढङ्गले पहल र प्रयत्न गर्नुपर्छ भन्ने पक्षको हुँ म । म यो समीकरणलाई अगाडि बढाउनुपर्छ र ०८४ सालमा एमालेले बहुमत ल्याउने कुरालाई यो समीकरणलाई टाइअप गर्नुपर्छ ।

  • एमाले प्रचण्डको टाङमुनि छिरेर सरकारमा किन गएको ?

–तत्काल कुनै देखिएको प्राप्तिभन्दा पनि हामीले सुदूर भविष्य हेरेका छौँ । नकारात्मक बाटोबाट हिँडिरहेको राजनीतिलाई सकारात्मक दिशातर्फ फर्काएका छौँ ।

  • ड्राइभिङ सिटमा उही व्यक्ति राखेर कसरी सकारात्मक दिशामा फर्कियो राजनीति ? 

–एमालेका उपाध्यक्षको संयोजकत्व र सबै दलको सहमतिमा बनेको न्यूनतम साझा कार्यक्रम र त्यसको कार्यान्वयन नै यसको आधार हो ।

  • यो समीकरण कतै पार्टी एकीकरणमा पुग्छ कि भन्ने डर छ कि छैन तपाईंलाई ? पार्टी एकीकरण हुँदा पीडित हुने त तपाईं नै हो फेरि ।

–बितेका कुराले दिने भनेको शिक्षा र अनुभव मात्र हो । पार्टीले दिएको परिभाषित जिम्मेवारी बफादारीका साथ निभाउनुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको व्यक्ति हुँ म ।

  • उपाध्यक्ष विष्णु पौडेलको एउटा समूह, महासचिव शंकर पोखरेलको अर्को समूह अनि ईश्वर पोखरेललाई चाहिँ कार्यकर्ताले कहाँ भेट्छन् त ? तपाईं हराउँदै जानुभएको हो ?

–हाम्रो पार्टीमा अहिले विचार र नेतृत्वमा विवाद छैन । यसको मतलब पार्टी अहिले एकीकृत ढङ्गले अघि बढेको छ ।

  • तपाईं त  अब पार्टीको पहिलो नेता हुने व्यक्ति हो नि त ?

–त्यसबेलाको परिस्थिति, कार्यकर्ताको माग र आवश्यकता कस्तो हुन्छ त्यस आधारमा नेतृत्व तय हुने हो । यो धोती फेरेर भान्सामा भात खान तयार भएजस्तो होइन । 

केपी ओलीको सक्रियता, हिम्मत, आँट,  समस्यासँग जुध्ने जुन सामर्थ्य छ यिनै चिजले नै उहाँलाई नेता बनाएको हो । यसमा कसैले इर्श्या, डाहा गर्नुपर्ने विषय नै होइन । 
  • मेरो नेतृत्वको आवश्यकता छ भनेर कार्यकर्तालाई बोध गराउने काम पनि नेताको होला नि त ?

–यो मुभमेण्टले, संस्थाले आवश्यकता बोध गरेर आउने कुरा हो । जबर्जस्ती डिमाण्ड गरेर, कुइनो हान्दै होक्का गरेर हिँडेर, बारीको कान्लामा जुध्न ठिक्क परेका गोरुले जुरो दल्दै हिँडेजस्तो होइन यो । यसरी फल मासु खोज्दै हिँड्ने कुरा पनि होइन यो ।

  • पार्टी अध्यक्षले अब २० वर्ष पार्टीमा कसैले नचिहाए हुन्छ म आफै चलाउँछु भनेपछि तपाईं झस्किनुभयो होला हैन ? यही हिसाबले त अब अध्यक्ष बन्दा तपाईंको उमेर त ९१ वर्ष पो हुने भयो त । 

–क, ख, ग जुनसुकै नेता पनि परिस्थिति, आवश्यकता र मागका आधारमा हुने हो । केपी ओलीको सक्रियता, हिम्मत, आँट,  समस्यासँग जुध्ने जुन सामर्थ्य छ यिनै चिजले नै उहाँलाई नेता बनाएको हो । यसमा कसैले इर्श्या, डाहा गर्नुपर्ने विषय नै होइन । 

ishwor pokharel-001

  • यसको मतलब आउँदो महाधिवेशनमा तपाईं अध्यक्षमा उठ्ने आँट गर्नुहुँदैन भनेर बुझ्नुपर्‍यो ।

–महाधिवेशन आउन धेरै समय बाँकी छ । त्यसबारे के चर्चा गर्नु ?

  • छानबिन समिति आफूले माग गर्दा ठिक अर्कोले गर्दा नमान्ने, संसद्मा एमालेको दोहोरो चरित्र किन ? संसदीय छानबिन समिति बनाउन एमाले किन मानिरहेको छैन ?

–सहकारीको विषयमा छानबिन गर्न समिति बनाउनुपर्छ भन्ने कुरा अस्वाभाविक होइन । सहकारीसँग गाँसिएका समस्याबारे छानबिन गर्नका लागि समिति बनाउन नसकिने होइन । तर हिजो आफूसँग नजिक भइरहेका बेला केही पनि कुरा नउठ्ने अहिले उठ्ने कति सान्दर्भिक हो भन्ने प्रश्न हो । अनि सुन काण्ड र सहकारीको विषय एउटै पनि होइन ।

  • तपाईंको अध्यक्षले रवि लामिछाने जति राम्रो कोही छैन भनेर अरूलाई पढाउन पनि भ्याउनुभएछ, किन ?

–राम्रो देखेरै राम्रो भन्नुभएको होला । कुकर्मीहरू एमालेमा आउँछन् अनि उनीहरूको कुकर्म ढाकछोप गरिदिऊँ भन्ने हुन सक्दैन ।

केन्द्रीय राजनीतिको जुन अङ्क गणित छ, त्यो नै अस्थिरताको कारक छ । अनि अस्थिर भयो भनेर रोइलो गरेर के गर्नु ।
  • प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई कति महिना जति लान्छ एमालेले ?

–आफ्नो भाग्यको फैसला उसकै कर्ममा भर पर्छ । न्यूनतम साझा कार्यक्रमका आधारमा काम गरे टिक्छ नत्र गडबड हुन्छ । 

  • तपाईंहरुका कारण प्रदेश सरकार अस्थिर भए । एमालेलाई प्रदेश अब नचाहिने हो ?

–केन्द्रीय राजनीतिमा आएको फेरबदलको असर सबैतिर पर्छ त्यो स्वाभाविक हो । केन्द्रीय राजनीतिको जुन अङ्क गणित छ, त्यो नै अस्थिरताको कारक छ । अनि अस्थिर भयो भनेर रोइलो गरेर के गर्नु ।

  • अब यस्तै अस्थिरतामै रमाउने हो ? स्थायित्वका लागि केही गर्ने समय भएन ?

–संविधानका केही प्रावधानहरूमा मुख्य राजनीतिक दलहरूले अब पनि पुनरावलोकन नगर्ने हो भने यस्तो अस्थिरता अझै बेहोर्नुको विकल्प छैन । 

उपयुक्त समयमा मुख्य दलहरूबिच सहकार्य गरेर जानु मुलुकको हितमा हुन्छ ।
  • यसको मतलब एमाले र कांग्रेस मिल्नुपर्छ र  सरकार बनाउनुपर्छ भन्ने पनि हो ? 

–नेपालको राजनीतिक परिवर्तन युरोप, चीन, रुसमा भएकोजस्तो परिवर्तन होइन । हाम्रो भनेको श्रमजीवी वर्गको प्रतिनिधि र उदार पुँजीवादका प्रतिनिधिबिचको सहकार्यबाट आएको परिवर्तन हो । सङ्कटमा सहकार्य र राज्य  सञ्चालनमा प्रतिस्पर्धा गर्दै आएको स्थिति हो । अब राज्य सञ्चालनमा पनि बोर्डर सहमति बनाएर सहकार्य गर्नुपर्छ र यसले राजनीतिक स्थिरता दिन्छ भन्ने मेरो बुझाइ हो । 

  • अलि बुझिने गरी भन्दिनु न कि एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा राम्रो हुन्छ भन्न खोज्नुभएको हो ?

–म त हिजोदेखि नै त्यही पक्षमा हो । निर्वाचनको परिणाम लगत्तै पहल सुरु गरेको पनि हो तर कांग्रेस अर्कै धुनमा थियो हामीले मात्र चाहेर भएन । जसले दुर्भाग्य निम्तियो । उपयुक्त समयमा मुख्य दलहरूबिच सहकार्य गरेर जानु मुलुकको हितमा हुन्छ ।

  • नेताहरूले सर्वसम्मत गर भनिरहने, जिल्ला–जिल्लामा निर्वाचन भइरहने । यसको मतलब तपाईंहरुलाई कार्यकर्ताले टेर्न छाडेका हुन् ?

–नीति र नेतृत्वमा विवाद नभएपछि पहिलो रोजाइ सर्वसम्मत नै हुनुपर्छ । यो भनेको पनि लोकतान्त्रिक विधि नै हो । मिलेन भने मित्रवत् प्रतिस्पर्धा हुन्छन्, भइरहेका छन् । यसमा के ठुलो कुरा भयो र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया