मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूतलाई बोलाएर हारगुहार गर्दैमा वैदेशिक लगानी भित्रिँदैन : डा. भट्टराई

आइतबार, ०२ वैशाख २०८१, १७ : २९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धी अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन् । नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढङ्गले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको डा. भट्टराईले बताएका हुन् । 

आइतबार काठमाडौँमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले मन्त्रीहरूले राजदूतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरे । उहाँले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने तर्क गरे । 

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘हामीले वर्षौँदेखि यो वैदेशिक लगानीको कुरा गरिराखेका छौँ । तर खासै प्रगति चाहिँ भइराखेको छैन । दुई दुई पटक लगानी सम्मेलनहरू भए । र अहिले पनि भइराखेको छ । र त्यो उहीँ ढाँचामा भइराखेको म देख्छु । राजदूतहरुलाई बोलाएर हाम्रा मन्त्रीहरूले तपाईंका देशका लगानी कर्ता, व्यवसायी, पुँजीपतिहरूलाई पठाइदिनुपर्‍यो भनेर हारगुहार गर्नुभएको छ । मलाई चाहिँ के लाग्छ भने नेपालमा लगानी नै आएको छैन । त्यसैले किन आएन भन्न स्वाभाविक नै हो । मेरो राजनीतिक अर्थशास्त्रमा थोरै रुचि राख्ने भएकाले नेपालमा किन लगानी आइराखेको छैन भन्ने विषयलाई समग्रतामा नै हेर्नुपर्ने हो कि । सबैले भन्दा पनि किन आइराखेको छैन, कहाँ चुकेका छौ हामी ? यसको अन्तर्यतिर बहस गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले बहुराष्ट्रिय कम्पनीहरूलाई भित्र्याउने नीतिले पनि नेपालमा बाह्य लगानी बढाउने कुरामा समस्या थपिएको बताए । सरकारले यही वैशाखको १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप