बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्ड सञ्चालक समितिका नवनियुक्त सदस्यहरूको स्वागत

आइतबार, ०२ वैशाख २०८१, १९ : ४४
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन बोर्ड कार्यकारी समितिका नवनियुक्त सदस्यहरूलाई आइतबार औपचारिक रूपमा स्वागत गरेको छ । 

गत चैत्र १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन व्यवसायीहरू ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसँगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । नवनियुक्त तीनै जना बोर्ड सदस्य लामो समय देखि पर्यटन व्यवसायमा सक्रिय व्यवसायी रहेका छन् । निजी क्षेत्रबाट मदन आचार्य र मिलन देवकोटा सदस्यका रूपमा रहेका छन् ।  

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड सदस्यहरूले पर्यटन बोर्डलाई चलायमान बनाउन आफूहरू नीतिगत सुधार, पर्यटन प्रवर्द्धनमा जोड दिने बताएका छन् । निजी क्षेत्र, बोर्ड सदस्य तथा बोर्डका कर्मचारीहरूमा हुने सकारात्मक चिन्तन र कार्यलेमात्र पर्यटन बोर्डको गरिमालाई माथि उठाउन सकिने धारणा समेत नवनियुक्त सदस्यहरूले राखेका छन् । 

बोर्ड सदस्य ऋषिराम भण्डारीले पर्यटन प्रवर्द्धनका लागि नीतिगत तथा अन्य समस्याहरू समाधान गर्दै सबैलाई समेटेर अगाडी जान आफूहरुले प्रयास गर्ने बताए । 

यस्तै अर्का सदस्य राजेन्द्र बहादुर लामाले नेपालको पर्यटन बिस्तारै लयमा फर्किँदै गएको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन अब ब्रेक थ्रु हुनेगरि काम गर्नु पर्नेमा जोड दिए ।

सदस्य रामप्रसाद सापकोटाले आफूहरुको एकमात्र उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै त्यसको लागि निजी क्षेत्र र बोर्डका कर्मचारीहरूको सुझावका आधारमा आफूहरू अघि बढ्ने बताए ।

कार्यक्रममा नवनियुक्त बोर्ड सदस्यहरुलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले नयाँ सदस्यहरूको नियुक्तिसँगै बोर्डले पूर्णता पाएको उल्लेख गर्दै नयाँ सदस्यहरूका अनुभवहरूले नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा बोर्डलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।   

सो अवसरमा निर्देशक मणीराज लामिछानेले पर्यटन बोर्डको समग्र अवस्था र भावी कार्ययोजना र चुनौतीका बारेमा धारणा  राखे । यस्तै निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले झेलिरहेका नीतिगत समस्या र समाधानका लागि भइरहेको प्रयास र बोर्डले गर्नु पर्ने थप पहलका बारेमा जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप