सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हलगोरु पाल्ने किसानलाई अनुदान

सोमबार, ०३ वैशाख २०८१, १४ : ३२
सोमबार, ०३ वैशाख २०८१

गलकोट । बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि– २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हलगोरु पाल्ने किसानलाइ दामासाहीले अनुदान दिइनेछ । त्यसका लागि किसानबाट आवेदन सङ्कलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ । 

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए । सापकोटाका अनुसार  नगरपालिकाभित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ ।

“हलगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार/पाँच हजारको दरले अनुदान दिइन्छ”, सापकोटाले भने, “यो कार्यक्रम निरन्तर चल्छ, कम्तीमा एक किसानलाई रु १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ ।” आगामी वर्ष हल गोरु पाल्ने किसानलाई रु १० हजार पुग्नेगरी रु १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ ।

बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनले मिनीट्रिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए । गोरु पाल्दा वातावरणीयरुपमा समेत फाइदा हुने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप